एमाले ऐना-२

एमाले स्थापनाको आधार : मनमोहनको छवि र मदनको प्रखरता

काठमाडौँ । मनमोहन अधिकारी नेतृत्वको नेकपा मार्क्सवादी र सीपी मैनालीको नेतृत्वमा वि.सं. २०३५ मा स्थापित नेकपा मालेको सैद्धान्तिक आधार र कार्यदिशा फरक थियो । यी फरक पृष्ठभूमिका पार्टीबीच वि.सं. २०४८ पुस २२ गते पार्टी एकता भएर नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेलिनवादी) अर्थात नेकपा (एमाले) बन्यो । कालान्तरमा त्यही पार्टी देशको शक्तिशाली कम्युनिस्ट पार्टी हुन पुग्यो ।

एकताअघि यी दुई पार्टीमध्ये नेकपा मार्क्सवादीको नेतृत्वमा मनमोहन अधिकारी र नेकपा मालेको नेतृत्वमा मदन भण्डारी थिए । दुवै जना पार्टी महासचिव थिए । मनमोहनसँग कम्युनिस्ट आन्दोलनको लामो विरासत थियो । उनी वि.सं. २००७ अघि नै कम्युनिस्ट पार्टीमा आवद्ध थिए र इमान्दार कम्युनिस्ट नेताको छवि बनाएका थिए । उता मालेका तत्कालीन महासचिव मदन भण्डारीको जुझारू नेतृत्व र भाषण कलाले ख्याति कमाएको थियो । उनको प्रखर भाषण शैलीले त स्रोतालाई जुरुक जुरुक बनाउँथ्यो ।

नेकपा मार्क्सवादीमा पुराना कम्युनिस्ट नेताहरू संलग्न थिए । तर, यो पार्टीको संगठन बलियो थिएन । खाली इतिहासको लिगेसीलाई मात्र बचाएर पार्टीको अस्तित्व कायम गरिएको थियो । तर, नेकपा मालेमा भने जुझारु कार्यकर्ताको ठूलो पंक्ति थियो । सशक्त संगठन थियो ।

नेकपा मार्क्सवादी : संगठनबिनाको पार्टी
मनमोहन अधिकारी महासचिव रहेको नेकपा मार्क्सवादी नरमपन्थी थियो । यो पार्टीलाई बुझ्न थोरै इतिहासतिर फर्कनुपर्ने हुन्छ ।

मनमोहन अधिकारीलाई वि.सं. २००९ मा भएको राष्ट्रिय सम्मेलनमा नै संस्थापक महासचिव पुष्पलालले ‘संशोधनवादी’को आरोप लगाएका थिए । वि.सं. २०१३ मा पार्टीमाथिको प्रतिबन्ध खुलाउन राजालाई वैधानिक नायकत्व मानी समाजवादको शान्तिपूर्ण प्रचार गर्ने विज्ञप्ति निकालेपछि मनमोहन विवादमा परेका थिए । लगत्तै बसेको केन्द्रीय कमिटी बैठकले त्यो विज्ञप्तिलाई अस्वीकार गरेको थियो ।

वि.सं. २००९ मा उनी पुष्पलाललाई अपदस्थ गरी महासचिव निर्वाचित गरिएका थिए । यद्यपि, पार्टीभित्र केशरजंग रायमाझीविरुद्धको संघर्षमा उनले पुष्पलाललाई नै साथ दिएका थिए । वि.सं. २०१९ मा पुष्पलाल समूहले तेस्रो महाधिवेशन गर्दा जेलमा रहेका मनमोहनले जेलबाटै तेस्रो महाधिवेशनलाई मान्यता दिएका थिए ।

मनमोहन विं सं. २०२५ मा जेलबाट छुटे । त्यसको केही वर्ष निस्क्रिय बसे । त्यसपछि भरतमोहन अधिकारीको नेतृत्वमा रहेको पूर्वकोशी प्रान्तीय कमिटीको सम्पर्कमा पुगे । त्यस बेला पार्टीको संगठनात्मक ढाँचालाई सात प्रान्तमा विभाजन गरिएको थियो । पूर्वकोशीमा भोजपुर, इलाम, धनकुटा, मोरङ र झापा थिए । पार्टीमा पुष्पलाल र तुलसीलालबीच विवाद बढ्दै गएपछि पूर्वकोशी प्रान्तीय कमिटीले स्वतन्त्र ढंगले काम गर्न थालेको थियो ।

वि.सं. २०२७ मा मोहनविक्रम सिंह जेलबाट छुटेपछि मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ, जयगोविन्द साह आदिले पार्टी पुनःगठनका लागि नयाँ पहल थाले । त्यसका लागि उनीहरूले केन्द्रीय न्यूक्लियस गठन गरे । त्यसको सेक्रेटरी मनमोहन अधिकारी थिए ।

न्यूक्लियसमा माओ विचारधारा मान्नेको संख्या धेरै थियो । सेक्रेटरी मनमोहन भए पनि पार्टी निर्णयमा मोहनविक्रम सिंह हावी थिए । उनीसँग असहमत नेताहरु शम्भुराम श्रेष्ठ र मनमोहन बिस्तारै बैठकमै जान छाडे । मोहनविक्रम लगायत नेताले नेकपा चौम गठन गरेपछि केन्द्रीय न्यूक्लियसको अस्तित्व सकियो । मनमोहन अधिकारी पुनः पार्टीविहीन भए । वि.सं. २०३५ मा पुष्पलालको निधनपश्चात मनमोहन अधिकारी पुनः सक्रिय हुन थाले ।

पुष्पलाल समूहका कतिपय नेता मनमोहनलाई नेता बनाएर पार्टी पुनःगठन गर्न चाहन्थे । तर, सहाना प्रधान र बलराम उपाध्यायले त्यसलाई अस्वीकार गरे । लगत्तै दरभङ्गामा भएको प्लेनमले बलराम उपाध्यायलाई प्रवक्ता बनाएर संगठन चलाउन थाल्यो । उक्त पार्टीको केन्द्रीय समितिमा सहाना प्रधान, गोविन्द ज्ञवाली, तिलक पराजुली, एकराज पाण्डे, भीम सेढाईं, बोधराज काफ्ले, दुखीलाल चौधरी, भदेश्वर साह र हरिहर यादव थिए ।

उता मनमोहनले नेकपा मनमोहन समूह गठन गरे । २०३६ भदौ २५ मा गठन भएको उक्त पार्टीको अध्यक्ष मनमोहन र महासचिव हिक्मतसिंह भण्डारी थिए । हिक्मतसिंह भण्डारी अन्तिम समयसम्म पुष्पलालसँग निकट भएका पुराना कम्युनिस्ट नेता थिए । उक्त पार्टीको केन्द्रीय समिति २१ सदस्यीय थियो ।

उक्त पार्टीमा शम्भुराम श्रेष्ठ, भरतमोहन अधिकारी, सिद्धिलाल सिंह, कमल कोइरालालगायत थिए । तर, केही समयपछि नै यो पार्टीभित्र बेमेलको अवस्था आयो । हिक्मतसिंह भण्डारीले पार्टी परित्याग गरे । यसरी मनमोहन र सहाना दुवैको कम्युनिस्ट पार्टी कमजोर बने ।

वि.सं. २०४३ मा मनमोहन र सहाना प्रधानका छुट्टाछुट्टै कम्युनिस्ट पार्टीबीच एकताको सम्मेलन भयो । त्यही सम्मेलनबाट नेकपा मार्क्सवादीको जन्मियो । पार्टी महासचिवमा मनमोहन र सचिवमा सहाना छानिए । सम्मेलनले अमेरिकालाई साम्राज्यवादी प्रथम अन्तरराष्ट्रिय शत्रु र पञ्चायतलाई राष्ट्रिय शत्रु ठहर गरेको थियो । रुस र चीनबीचको सम्बन्धको सरलीकरणलाई भने स्वागत गरेको थियो । सम्मेलनले ३७ सदस्यीय केन्द्रीय समिति र नौ सदस्यीय पोलिटब्यूरो बनाएको थियो ।

नेकपा मार्क्सवादी नेताको हैसियतमा सहाना प्रधानले २०४६ सालको जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलिन् । उनी जनआन्दोलनपछि बनेको कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा मन्त्रीसमेत बनिन् ।

नेकपा मालेको क्रान्तिकारी धारमा मदन भण्डारीको ब्रेक
वि.सं. २०३५ मा गठन भएको नेकपा माले ‘झापाली क्रान्तिकारीहरू’को विरासत थाम्ने पार्टी थियो । २०२८ सालमा भएको ‘झापा विद्रोह’मा नौ जनाको हत्या गरिएको थियो भने १३ जनाको हत्या प्रयास भएको थियो । त्यसमा सीपी मैनाली, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, केपी ओली लगायत संलग्न थिए । उनीहरू भारतीय नेता चारु मजुमदारबाट प्रभावित थिए । उनीहरू ‘कम्युनिस्ट क्रान्तिकारीको हात वर्गशत्रुको रगतले रङ्गिनुपर्ने’ मत राख्थे । तर, सरकारले गरेको दमनका कारण ‘झापाली क्रान्तिकारीहरू’ छिन्नभिन्न भए । अधिकांश जेल परे ।

एमाले ऐना – १
इतिहासमा एमाले : जन्मियो कसरी‚ को को पुगे नेतृत्वमा?

त्यसताका कम्युनिस्ट पार्टीहरू छिन्नभिन्न थिए । साना समूहलाई एकीकृत गरी २०३२ सालमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेसन कमिटी (माले) गठन भयो । यसलाई को–अर्डिनेसन केन्द्र अर्थात् कोके भनेर चिनिन्थ्यो । वि.सं. २०३५ मा कोकेको राष्ट्रिय सम्मेलनबाट नेकपा मालेको स्थापना भयो । सम्मेलनले १० सदस्यीय केन्द्रीय समिति बनायो । जसमा सीपी मैनाली, रत्नकुमार वान्तवा, मदन भण्डारी, माधव नेपाल, ईश्वर पोखरेल, मकुन्द न्यौपाने, अमृत बोहोरा, जीवराज आश्रीत, प्रदीप नेपाल र मोदनाथ प्रश्रित थिए । झलनाथ खनाल जेलमा थिए । उनलाई जेलबाट छुटेपछि केन्द्रीय कमिटीमा ल्याइएको थियो । महासचिव सीपी मैनाली भए । चार सदस्यीय पोलिटब्यूरोमा सीपीसहित माधव नेपाल, जीवराज र मोदनाथ प्रश्रित थिए ।

नेकपा माले ‘गणतन्त्रवादी क्रान्तिकारी’ पार्टी थियो । तर, यो पार्टीलाई बहुदलीय प्रतिस्पर्धामा उतार्ने ‘संशोधनवादी धार’मा ल्याउने मदन भण्डारी थिए । उनले पार्टीमा चुनावी प्रतिस्पर्धाको लाइन पारित गराएपछि नै मनमोहन अधिकारीको पार्टी नेकपा मार्क्सवादीसँग एकता गरी एमाले बनाउन सम्भव भएको थियो । मनमोहन वि.सं. २००७ पछि नै ‘राजाको वैधानिक नायकत्व’ मान्ने लाइनमा थिए ।

मदन भण्डारीले नेकपा मालेलाई पञ्चायतको अन्त्य नहुँदै संशोधनवादी लाइनमा लगेका थिए ।

२०४६ सालमा सिरहाको विष्णुपुरकट्टीमा भएको चौथो महाधिवेशनमा पार्टीले गर्ने क्रान्तिको विशिष्ट कार्यक्रममा बहुदलीय जनवादी शासन प्रणाली हुने स्वीकार गरिएको थियो । त्यसको प्रस्तावक मदन भण्डारी थिए । तर, त्यतिबेला यस लाइनलाई ‘जनताको बहुदलीय जनवाद’ नाम दिइएको थिएन ।

उनको लाइनविरुद्ध झलनाथ खनाल, सीपी मैनालीलगायत नेता थिए । तर, खनाल र मैनालीकै आपसमा मेल थिएन । त्यही मौकामा मदन भण्डारी पार्टीमा हावी हुन पुगे । उनी नै महासचिवमा निर्वाचित भए । भण्डारी संगठनमा पकड राख्थे । आन्तरिक बैठकमा धाराप्रवाह बोल्ने हुनाले पार्टीमा पकड जमाइसकेका थिए ।

यसरी भयो माले र मार्क्सवादी एकता
वि.सं. २०४६ मा जनआन्दोलन सफल भएपछि संविधान निर्माणको काम अघि बढ्यो । संविधान बनिसकेपछि निर्वाचनमा होमिनुपर्ने भयो । त्यसबेलासम्म आफ्नो भाषणकलाले मदन भण्डारीले निकै चर्चा कमाइसकेका थिए । उनले पार्टीलाई क्रान्तिकारी धारबाट संसदीय चरित्रमा पनि ल्याइसकेका थिए ।

तर, निर्वाचनमा जाँदा जनतालाई देखाउन ‘विश्वासिलो अनुहार’ नेकपा मालेसँग थिएन । सबै नेता युवा भएकाले उनीहरु पार्टीमा अभिभावकको भूमिका खेल्न सक्ने नेताको खोजीमा थिए । यता नेकपा मार्क्सवादीमा भने अधिकांश पाका नेता थिए । संगठन गर्ने युवा जोशका नेता कोही थिएन । जसकारण चुनावमा खट्ने नेताकै अभाव थियो । पार्टी संगठन पनि मजबुत थिएन । तर, नेकपा मार्क्सवादीको अन्तरराष्ट्रिय सम्बन्ध राम्रो थियो । भारतीय कम्युनिस्ट पार्टीका नेताहरूसँग मार्क्सवादीका नेताहरू निकट थिए । मालेका नेताहरूको अन्तरराष्ट्रिय सम्बन्ध छँदै थिएन भन्दा पनि हुन्छ । यिनै कारणले दुई पार्टीबीच एकताको वातावरण बनेको थियो ।

वि.सं. २०४६ को संयुक्त जनआन्दोलनका बेला यी दुई पार्टीबीच गाढा सम्बन्ध बनेको थियो । यी पार्टीबीच एकताको पहिलो प्रस्ताव राख्ने व्यक्ति चाहिँ भरतमोहन अधिकारी थिए । संविधान निर्माणका क्रममा सुझाव संकलन गर्न भोजपुर पुगेका बेला उनलाई कार्यकर्ताले वाममोर्चालाई निरन्तरता दिन सुझाव दिए । त्यही सुझाव उनले काठमाडौँ फर्किएर माले नेताहरू मदन भण्डारी र माधव नेपाललाई सुनाएका थिए ।

२०४७ साल कात्तिक २४ गते माले र कात्तिक २७ गते नौ र सात बुँदे एकता प्रस्ताव अघि सारे । मालेबाट माधव नेपाल, जीवराज आश्रित र राधाकृष्ण मैनाली तथा मार्क्सवादीबाट भरतमोहन, केशरमणि पोखरेल र सहाना प्रधान रहेको वार्ता समिति गठन भयो । मालेले नारायणमान विजुक्छे रोहित नेतृत्वको नेमकिपा र लुलसीलाल अमात्य नेतृत्वको नेकपा (अमात्य समूह) सँग पनि वार्ता थाल्यो । यद्यपि, बिजुक्छे र अमात्य चाँडै नै एकता प्रक्रियाबाट अलग्गिए ।

दस्तावेज र संगठनको स्वरुप निर्धारण भएपछि दुवै पार्टीले एकतालाई औपचारिकता दिए ।

मार्क्सवादीको पोखरामा भएको राष्ट्रिय सम्मेलन र मालेको काठमाडौँमै बसेको केन्द्रीय समितिले एकता प्रस्ताव पास गरे । माक्र्सवादीका सिद्धिलाल सिंहको घरमा बसेको संयुक्त बैठकले २०४७ पुस २२ गते नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी र लेनिनवादी) पार्टीको घोषणा गर्‍यो ।

दुवै पार्टीबाट १४/१४ जना गरी २८ सदस्यीय केन्द्रीय समिति हुने भयो । पाँच-पाँच जना गरी १० जनाको पोलिटब्यूरो हुने भयो । मालेका २१ जना केन्द्रीय सदस्यमा १४ जनाले मात्र ठाउँ पाउने भए । यसले मालेभित्र सकस पैदा ग¥यो । मार्क्सवादीभित्र यस्तो समस्या थिएन ।

मालेको केन्द्रीय समितिमा रहिसकेका प्रदीप नेपाल, त्रिलोचन ढकाल र युवराज ज्ञवाली तथा वैकल्पिक केन्द्रीय सदस्य युवराज कार्की, केदार न्यौपाने, गोपाल शाक्य र केशव बडाल केन्द्रीय सदस्यबाट बाहिरिएका थिए । एमालेको पहिलो केन्द्रीय समितिमा मार्क्सवादीबाट मनमोहन अधिकारी, सहाना प्रधान, भरतमोहन अधिकारी, बलराम उपाध्याय, सिद्धिलाल सिंह, केशरमणि पोखरेल, तिलक पराजुली, हिरण्यलाल श्रेष्ठ, कमल कोइराला, प्रभुनारायण चौधरी, माधव ज्ञवाली, एकराज पाण्डे, बोधराज काफ्ले र भीम सेढाईं थिए । त्यसैगरी मालेबाट मदन भण्डारी, सीपी, झलनाथ, माधव, जीवराज, अमृत बोहोरा, राधाकृष्ण मैनाली, केपी ओली, ईश्वर पोखरेल, मोदनाथ प्रश्रित, वामदेव गौतम, मुकुन्द न्यौपाने, अशोक राई र मोहनचन्द अधिकारी थिए ।

१० सदस्यीय पोलिटब्यूरोमा मार्क्सवादीबाट मनमोहन, सहाना, भरतमोहन, बलराम र सिद्धिलाल थिए । मालेबाट मदन, सीपी, झलनाथ, जीवराज र माधव थिए । पार्टी अध्यक्ष मनमोहन अधिकारी भए भने मदन भण्डारी महासचिव भए । कार्यकारी अधिकार महासचिवमा रहने गरी संगठनको ढाँचा बनाइएको थियो ।

प्रतिक्रिया

One thought on “एमाले स्थापनाको आधार : मनमोहनको छवि र मदनको प्रखरता

  1. “मदन भण्डारीले नेकपा मालेलाई पञ्चायतको अन्त्य नहुँदै संशोधनवादी लाइनमा लगेका थिए ।” यो वाक्यले उग्रवादी कम्युनिष्ट चिन्तनको इसारा दिन्छ । २०३६ सालमा राजनीतिक स्वन्त्रता कि वर्गसङ्घर्ष? भन्ने प्रश्नमा सीपी मैनालीले राजनीतिक स्वतन्त्रताको वकालत गरिसकेका थिए । बहुदलमा भोट हाल्ने कि जनमतसङग्रह बहिष्कार गर्ने भन्ने विषयमा मालेको नेतृत्व विभाजित थियो । त्यो विभाजन त्यही पार्टीको नीतिगत अस्पष्टता र दोधारको परिणति थियो । सीपीकै राजनीतिक लाइन अन्ततोगत्वा पछि आएर जनवादको बहुदलीय जनवादतिर आइपुगेको हो । मदन भण्डारी संशोधनवादी धारमा गएको होइन बरु उनले सशस्त्र रूपमा छापामार युद्ध लड्ने उग्रवादी कम्युनिस्ट चिन्तनलाई मोडेर कम्युनिस्ट पनि चुनावबाट जनप्रिय हुन सक्छन् भन्ने कुरा स्थापित गरेका हुन् । उपयोगको नीतिअनुसारको २०४३ सालको राष्ट्रिय पञ्चायतको निर्वाचनमा पनि पार्टीका उम्मेद्वार आधिकारिक र सामान्य भन्ने दुई खाले थिए । मलाई सम्झना छ आधिकारिक उम्मेद्वार भएकाले नोबल केमी राई (घैला) लाई जसरी पनि इलाममा जिताउनुपर्छ भनिएको थियो भने अर्का मालेकै उम्मेद्वार भनिएका भक्त केसीको प्रचारप्रसारलाई पार्टीको नेतृत्वले कुनै जोडै दिएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *