१४ न्यायाधीशलाई ओली र जबराको एउटै जवाफ

काठमाडौँ । दुई/तीन दिनयता सर्वोच्च अदालतमा सामान्यभन्दा फरक खाले परिस्थिति देखा परिरहेको छ। प्रधान न्यायाधीश चालेन्द्रसमशेर जबरामाथि विभिन्न आरोपहरू लागेसँगै सर्वोच्चमा सामान्यभन्दा फरक परिस्थिति बनेको हो ।

प्रधान न्यायाधीश जबरामाथि मन्त्रिपरिषद्‌मा भाग खोजेको, निष्कलङ्कित न्यायालय बनाउने विषयमा ध्यान नदिएको, पेसीमा लगातार सुनुवाइ नगरेकोलगायतका आरोपहरू छन् । यसपछि सर्वोच्चकै न्यायाधीशहरू प्रधान न्यायाधीशको विपक्षी कित्तामा उभिएका छन् । उनीहरूको एकसूत्रीय माग ‘प्रधान न्यायाधीशको राजीनामा’ छ ।

उनीहरूले सोमबारबाट तोकिएको पेसीसमेत सुनुवाइ गरेका छैनन् । उनीहरू ‘बेन्च बङ्क’ गरेर बेग्लै छलफलमा जुटिरहेका छन् । उनीहरूले प्रधान न्यायधीश जबराको कारणले सर्वोच्चप्रति जनविश्वास घटेको, कलङ्कित न्यायालय बनाएको र राजनीतिक तथा संवैधानिक भागबन्डा खोजेको कारण प्रधान न्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेका छन् ।

यसपछि सोमबार नै बसेको उनीहरूको बैठकले ‘प्रधान न्यायाधीशलाई भेटेर मार्गप्रशस्त गर्न आग्रह गर्ने’ निष्कर्ष निकालेको थियो । यही निष्कर्षअनुरूप उनीहरूले मंगलबार प्रधान न्यायाधीश जबरालाई भेटेका थिए । भेटमा न्यायाधीशरूले ‘मार्गप्रशस्त गर्दा राम्रो हुन्छ’ भनेर भनेका थिए । जवाफमा प्रधान न्यायधीश जबराले ‘सबैले राजीनामा दिने हो भने म पनि तयार छु’ भनेर भनेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पनि सर्वोच्च राजनीतिबारे मुख खोलेको छ । पूर्वप्रधान मन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधान न्यायाधीश जबराले भनेकै कुरा दोहोर्‍याएका छन् ।

उनले प्रश्न उठेका सबै न्यायाधीशहरूले राजीनामा गर्नुपर्ने बताएका थिए । सर्वोच्चको राजनीतिमा एमाले नपस्ने उल्लेख गर्दै ओलीले भनेका छन्, ‘किन प्रधान न्यायाधीशले मात्रै राजीनामा गर्ने ? प्रश्न उठेका सबै न्यायाधीशहरूले राजीनामा गर्दा उपयुक्त हुन्न र ? परमादेश गर्ने सबै न्यायाधीशहरूले राजीनामा गर्दा भइहाल्छ नि । परमादेश त पाँचैजनाले दिएको होलान् ।’

न्यायाधीशहरूले सर्वोच्चलाई तमासाको थलो बनाएको आरोप लगाए । ओलीले भने, ‘श्रीमान्‌ज्यूहरूले सर्वोच्चलाई तमासाको थलो बनाउँदै हुनुहुन्छ ।’

प्रधान न्यायाधीश जबरालाई नेपाल बार एसोशिएसनले समेत राजीनामा गर्न आग्रह गरेको छ । अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘हाम्रो एजेण्डा भनेको प्रधान न्यायाधीशको राजीनामा होइन । तर, न्यायालयलाई बिगार्ने छुट कसैलाई छैन । यदि कुनै व्यक्तिले न्यायालय सुधार्ने प्रवृत्ति देखाउँदैन र झनै बिगार्ने दिशामा जान्छ भने ऊ जरुर बाहिरिनुपर्छ ।’

यस्तै पूर्वप्रधान न्यायाधीश फोरमले समेत प्रधान न्यायाधीशको राजीनामा मागेको छ । न्यायालय बढी कलङ्कित भएको उल्लेख गर्दै फोरमले भनेको छ, ‘राजीनामा गर्दै राम्रो हुन्छ । यसबारे सोचियोस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *