बागमती प्रदेशसभा बैठक आज, विश्वासको मत लिने कार्यसूची

काठमाडौँ । बागमती प्रदेशको प्रदेश सभा बैठक बस्दै छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक दिउँसो १ बजे बोलाइएको हो ।

प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले १ बजेका लागि बोलाइएको बैठकमा विश्वासका मत लिने कार्यसूची रहेको बताए ।  सत्तारुढ नेकपा एमालेले भने बैठकमा उपस्थित नहुने बताएको छ । एमालेले बैठक सार्न बुधबार नै प्रदेशसभा सचिवालयमा लिखित रूपमा पत्रसमेत दर्ता गराइसकेको छ । एमालेले बैठकमा सहभागी हुन नसक्ने बताएपछि आज मत विभाजन हुने निश्चित भने छैन ।

एमालेले ११ गतेसम्मका लागि बैठक सार्न आग्रह गर्दै सभामुखलाई पत्रसमेत पठाएको हो । यसअघि कात्तिक ४ गतेका लागि बैठक बोलाइएको थियो । ६ गते हुने वडा अधिवेशन र ९ गते हुने स्थानीय अधिवेशनका कारण एमाले बैठकमा आउन नसक्ने भन्दै ११ गतेसम्मका लागि सार्न भनिएको छ ।

२४ असोजमै सभामुख श्रेष्ठले बोलाएको सर्वदलीय बैठकमा दलहरूबीच दसैँपछि विश्वासको मत लिने सहमति बनेकाले शाक्य नेतृत्वको सरकारको आयु बढेको थियो । बागमतीमा सरकार बनाउन ५५ मत आवश्यक पर्छ । सत्तारुढ एमालेसँग ४३ मत मात्रै छ । माओवादी, कांग्रेस र एकीकृत समाजवादीको जोड्दा ५८ मत पुग्छ । प्रदेश सभामा माओवादीसँग २३, कांग्रेससँग २२ र एकीकृत समाजवादीसँग १३ मत छ ।

७ दलको प्रतिनिधित्व रहेको प्रदेश सभामा विवेकशील साझा पार्टीसँग ३, राप्रपासँग २, नेपाल मजदुर किसान पार्टीसँग २ र एक स्वतन्त्र सांसद छन् । यदि एमालेलाई यी दलहरूले साथ नै दिए भने पनि सरकार जोगिनेवाला देखिँदैन ।

सम्बन्धित समाचार
‘अल्पमत सरकार’ को आयु लम्ब्याउँदै अष्टलक्ष्मी
बागमतीको मुख्यमन्त्रीमा कांग्रेसले पनि दाबी गर्ने
दुई राजेन्द्रलाई मुख्यमन्त्री बन्ने बाटो खुल्ला !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *