कृषि मन्त्री चौधरी र जापानी राजदूत मायदाबीच भेटवार्ता

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच नेपालको कृषि क्षेत्रको विकास, आधुनिकीकरण र दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

त्यस अवसरमा मन्त्री चौधरीले सन् १९५४ देखिको महत्त्वपूर्ण र विश्वासिलो विकास साझेदारको रूपमा जापानले पुर्‍याएको सहयोगको प्रशंसा गर्दै नेपालको बागवानी विकास, बीउविजन सुधार परियोजनामा जापान सरकार र जाइकाले गरेको योगदानप्रति आभार व्यक्त गरिन् ।

उनले व्यवस्थित क्षेत्रीय कृषि बजार निर्माण र उच्च प्रविधिको दुग्ध प्रशोधन प्लान्ट स्थापनाका लागि सहयोगको अपेक्षा गर्दै बीउविजन, जैविक विषादी र मिश्रित मल उत्पादनमा जापानी लगानी र प्रविधि भित्र्याउन पहलको अनुरोध गरिन् ।

मन्त्री चौधरीले जापानमा रहेका तीन लाखभन्दा बढी नेपाली नागरिकले दुई देशको सम्बन्धलाई जनस्तरमै प्रगाढ बनाएको उल्लेख गर्दै राजदूत मायदाको कार्यकालमा नेपाल-जापान आर्थिक सहकार्य, व्यापार र लगानीले थप नयाँ उचाइ लिने विश्वास व्यक्त गरिन् ।

उनीहरुबीच कृषि अनुसन्धान, कृषि अध्ययनरत विद्यार्थीहरूका लागि ‘लर्न एण्ड अर्न’ कार्यक्रम, धान खेतीमा यान्त्रीकीकरणलगायत आधुनिक कृषि प्रणालीमा सहकार्य गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =