जैविक कृषिको प्रवर्द्धन र मलमा अनुदान दिन सरकार सकारात्मक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले जैविक कृषिको प्रवर्द्धन, उत्पादन तथा निर्यातका क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् । बिहीबार सिंहदरबारमा नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँगको छलफलमा उनले यस्तो बताएको नेपाल अर्ग्यानिक संघका अध्यक्ष दीपक बास्कोटाले प्रधानमन्त्री साहको भनाइ उद्धृत गर्दै जानकारी दिएका हुन् ।

उनकाअनुसार प्रधानमन्त्री साहले जैविक कृषिको उत्पादन प्रवर्द्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा व्यवसायीहरूसँग छलफल गरेका हुन् । भेटका क्रममा आफूहरूले जैविक कृषि प्रवर्द्धनका लागि मलमा अनुदान दिनुपर्ने माग राखेको र उक्त माग सम्बोधन गर्न प्रधानमन्त्री एकदमै सकारात्मक रहेको उनले बताए ।

अध्यक्ष बास्कोटाले अर्ग्यानिक चियाको उत्पादन र निर्यातमा देखिएका चुनौती तथा नीतिगत सुधारको आवश्यकता प्रधानमन्त्रीसमक्ष लिखित रूपमा बुझाएको बताए । जवाफमा प्रधानमन्त्री साहले अर्ग्यानिक चियाको अन्तर्राष्ट्रिय बजार पर्याप्त रहेकाले उत्पादन वृद्धि र किसानलाई प्रोत्साहन गर्नेगरी काम गर्ने बताएको उनले जानकारी दिए ।

उनले भने, ‘हामीलाई प्रधानमन्त्रीज्युले अर्ग्यानिक अभियानको बारेमा कुरा गर्ने भनेर नेपाल अर्ग्यानिक एशोसिएशनको तर्फबाट हामीलाई बोलाउनु भयो । एशोसिएशनका सचिव र सदस्यसहित खासगरी चिया कफीको क्षेत्रमा काम गर्ने हामीहरु पाँच जनाले भेट गर्‍यौं । उहाँ यस विषयमा अत्यन्तै सकारात्मक हुनुहुन्छ ।’

त्यस्तै, हिमालयन साङ्ग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनालीले रासायनिक मल सरह जैविक मलमा पनि अनुदान उपलब्ध गराउनुपर्ने माग प्रधानमन्त्री समक्ष राखेको बताए । उनले जैविक प्रमाणीकरण प्रक्रियालाई सहज बनाउन अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्था स्थापना गर्न तथा रोकिएको निर्यात अनुदान पुनः उपलब्ध गराउनुपर्ने माग समेत राखेको बताए । जवाफमा प्रधानमन्त्री साहले अर्ग्यानिक कृषि क्षेत्रमा देखिएका समस्या हल गर्न तत्काल कदम चाल्ने आश्वासन दिएको बताए ।

त्यस्तै, गोर्खा टी स्टेटका अध्यक्ष उदय चापागाईंले आफूले अर्ग्यानिक चियामार्फत नेपाली उत्पादनको अन्तर्राष्ट्रिय प्रतिष्ठा कायम राखिरहेको भएपनि विगतका सरकारबाट आवश्यक सहयोग प्राप्त गर्न नसकेको बताए । उनले सरकारले उत्पादनभन्दा लगानीलाई बढी प्राथमिकता दिने गरेको गुनासो समेत प्रधानमन्त्री साहलाई सुनाएको बताए ।

उनले भने, ‘प्राङ्गारिक चिया बनाएर अहिले हामीले देशको इज्जत राखिरहेका छौँ । आज प्रधानमन्त्रीज्यूसँगको छलफलले सकारात्मक ऊर्जा आएको छ । नेपालको सबै प्राकृतिक तथा जैविक कुरालाई विश्वबजारमा पु¥याउन सहयोग गर्नुभयो भने हामी प्रधानमन्त्रीज्यूसँग धेरै आभारी हुनेछौँ ।’

प्रधानमन्त्रीहरुसँगको छलफलले उद्योगीहरूमा सकारात्मक ऊर्जा थपिएको बताउँदै व्यवसायीहरुले नेपालको प्राकृतिक तथा जैविक उत्पादनलाई विश्व बजारमा पुर्‍याउन सरकारले मद्दत गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − thirteen =