एक वर्षमा कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै

सुदूरपश्चिम । कैलालीमा गत आर्थिक वर्ष २०८२/८३ मा एक हजार नौ सय २९ विभिन्न प्रकृतिका अपराधका घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तीमध्ये सबैभन्दा बढी सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै हुने गरेका छन् ।

वार्षिक प्रगति विवरणअनुसार यहाँ सङ्गठित तथा आर्थिक अपराधका आठ सय छ मुद्दा छन् । यस्तै, आत्महत्या अपराधका दुई सय ९८, ज्यानसम्बन्धी अपराधका दुई सय ६५, सामाजिक अपराधका दुई सय ३३, महिला तथा बालबालिकासम्बन्धी अपराधका एक सय ५७, सवारी ज्यानसम्बन्धी ९१ चोरीसम्बन्धी ५५ र अन्य २४ घटना दर्ता भएका छन् ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार जघन्य तथा गम्भीर अपराधतर्फ १७ कर्तव्य ज्यान, छ हातहतियार, १५ वटा मानव बेचबिखन तथा ओसारपसारका घटना दर्ता भएका छन् ।

यस्तै, आर्थिक अपराधअन्तर्गत तीन सय दुई बैंकिङ कसुर, २६ जुवातास, ४८ ठगी, महिला बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी एक सय ५७ मुद्दा छन् । साथै, लागूऔषध तथा सार्वजनिक नैतिकतासम्बन्धी चार सय ११ मुद्दा दर्ता भएका छन् ।

यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी पाँच सय २३ उजुरी परेकामा अधिकांश पीडित २६ देखि ४५ वर्ष उमेर समूहका छन् । घरेलु हिंसाका पाँच सय २३ उजुरीमध्ये चार सय ३८ मिलापत्रबाट टुङ्गिएको र ८५ अदालत पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै, वर्षभर ९७६ हराएका व्यक्तिको उजुरी परेकामा ९४५ जनालाई फेला पारिएको छ । आत्महत्याका २९८ घटनामध्ये १२६ पुरुष, १२० महिला, १६ बालक र ३६ बालिका छन् ।

कार्यान्वयनमा सफलता

जिल्ला प्रहरी कार्यालयले चालु मुद्दाका प्रतिवादी पक्राउ अभियानलाई प्रभावकारी बनाएको जनाएको छ । एक हजार ४३४ मुद्दामा एक हजार ९५० प्रतिवादी पक्राउ गरिएको र तीन सय १८ जना अझै पक्राउ गर्न बाँकी रहेको विवरणमा उल्लेख छ ।

यस्तै, सार्वजनिक चासोका एक सय ५१ फछ्र्योट हुन बाँकी मुद्दामध्ये ५५ फछ्र्योट गरिएका छन् । फैसला कार्यान्वयनतर्फ आठ सय २६ फरार प्रतिवादी पक्राउ गरी २२२ वर्ष तीन महिना चार दिन कैद सजाय कार्यान्वयन गरिएको छ भने रु दुई करोड २१ लाख दुई हजार ४२ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण अभियानअन्तर्गत चार सय ४११ मुद्दा दर्ता गरी ६१९ जनालाई पक्राउ गरिएको छ ।

यस्तै, शान्ति सुरक्षातर्फ वर्षभर १९ हजार ८० पिकेट ड्युटी, चार हजार ३२० चेकिङ, दुई हजार ५२० ग्रामीण गस्ती र १३ हजार ५९७ विशेष गस्ती सञ्चालन गरी कुल ३९ हजार ५२१ पटक प्रहरी परिचालन गरिएको कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । आन्दोलन, मेला, महोत्सव तथा विपद्का घटनामा दुई हजार ६२२ प्रहरी परिचालन गरिएको उनले बताए ।

यसैगरी सामुदायिक कार्यक्रमतर्फ दुई हजार ३४६ समुदाय केन्द्रित र ३०५ विद्यालय केन्द्रित कार्यक्रम सञ्चालनबाट ७८ हजार ४३५ लाभान्वित भएका छन् । साथै सीमान्तकृत, अल्पसङ्ख्यक र पिछडिएका वर्ग लक्षित ३४ कार्यक्रम सञ्चालन गरी एक हजार ५४२ जनालाई सहभागी गराइएको छ ।

राजस्व सङ्कलन

सवारी दुर्घटना तथा ट्राफिक कारबाहीबाट सबैभन्दा धेरै राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ । गत आर्थिक वर्षमा ६०१ सवारी दुर्घटनामा ८२ जनाको मृत्यु र ९७४ जना घाइते भएका थिए । उक्त अवधिमा ट्राफिक कारबाहीअन्तर्गत १४ हजार ९२६ सवारीसाधनमाथि कारबाही गरी रु एक करोड ४७ लाख ७५ हजार ५०० राजस्व सङ्कलन गरिएको छ ।

राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियानका क्रममा रु सात करोड ३२ लाख ९३ हजार ३५६ बराबरका सामान बरामद गरिएको वार्षिक प्रगति विवरणमा उल्लेख छ ।

यस्तै, प्राकृतिक सम्पदा दोहन नियन्त्रणअन्तर्गत ८३ सवारीसाधन नियन्त्रणमा लिई रु १२ लाख १८ हजार ७३२ दण्ड जरिवाना, अवैध वन पैदावार चोरी पैठारी नियन्त्रणतर्फ ४० जनालाई पक्राउ गरी रु ६३ लाख २४ हजार दुई राजस्व सङ्कलन भएको उल्लेख छ । यसैबीच प्रहरीले १४ हजार ५४५ लिटर अवैध मदिरा र सात हजार ६३५ लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरेको जनाएको छ ।

कार्यालय प्रमुख प्रहरी उपरीक्षक चन्दले गत आवको अनुभव र सिकाइका आधारमा आगामी वर्ष अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, लागुऔषध नियन्त्रण र समुदाय–प्रहरी साझेदारीलाई थप प्रभावकारी बनाउने लक्ष्य लिइएको बताए । यसमा सबै सरोकार भएकाहरूको सहयोग रहेमा समाजमा शान्ति सुव्यवस्था कायम गर्न थप सहज हुने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =