दुई राजेन्द्रलाई मुख्यमन्त्री बन्ने बाटो खुल्ला !

काठमाडौँ । दलहरूबीचको सहमति नतोडिएको खण्डमा नेकपा (एकीकृत समाजवादी) ले दुई प्रदेशको नेतृत्व गर्ने भएको छ । सत्तारुढ गठबन्धनमा बिहीबार (आज) यससम्बन्धी सहमति भएको हो । केन्द्रमा मन्त्रालयको भागबन्डा मिलाउन सकस भएपनि एकीकृत समाजवादीलाई एक मन्त्रालय घटाएर प्रदेश नं. १ र बागमती प्रदेशको नेतृत्व दिने सहमति भएको हो ।

सत्तारुढ गठबन्धनको यो सहमति कार्यान्वयन हुँदा एकीकृत समाजवादीका उपाध्यक्षपछिका नेता राजेन्द्र पाण्डे र सचिव राजेन्द्र राई क्रमशः बागमती प्रदेश र प्रदेश नं. १ का मुख्यमन्त्री बन्नेछन् ।

अहिले प्रदेश नं. १ र बागमती प्रदेश दुवैमा नेकपा (एमाले) को सरकार छ । तर दुवै सरकार अल्पमतमा छन् । नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार विश्वासको मत लिन नसके दुवै मुख्यमन्त्रीले पदबाट राजीनामा दिनुपर्नेछ ।

संविधानतः सत्तारुढ दल विभाजन भएपछि सरकारको नेतृत्व गरिरहेका नेताले सदनबाट आफूसँग बहुमत भएको भनेर सिद्ध गर्नुपर्ने हुन्छ । प्रदेश नं. १ का मुख्यमन्त्री भीम आचार्य र बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सोही संवैधानिक व्यवस्थाबमोजिम विश्वासको मत लिँदा बहुमत पाउने अवस्था छैन । किनकि दुवै प्रदेशमा केन्दीय गठबन्धनअनुसार दलहरू मोर्चाबन्दी भएका छन् । दुवै प्रदेशमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा मोर्चाबन्दीमा छन् ।

यसो हुँदा आचार्य र शाक्यले आफूसँग बहुमत रहेको कुरा पुष्टि गर्न सक्ने छैनन् । यसपछि उनीहरू नेतृत्वको सरकार स्वतः विघटन हुनेछ । यसपछि दुई राजेन्द्रलाई मुख्यमन्त्री बन्ने र सरकार बनाउने बाटो खुल्नेछ ।

प्रदेश नं. १ का १२ र बागमती प्रदेशका १३ सांसदले एकीकृत समाजवादी रोजेका छन् । दुवै प्रदेशका सत्तारुढ गठबन्धनमा सामेल दलका नेताहरूले अल्पमतमा परेपछि सरकारमा रहिरहन नहुने तर्क गर्दै आएका छन् । अहिलेसम्म यी दुवै प्रदेशमा नेपाली कांग्रेसले पनि सरकारको नेतृत्व दाबी गर्दै आएको थियो । अब यो विषय टुंगिएसँगै नयाँ सरकार गठनको तयारीले तीव्रता पाउने एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।

बागमती प्रदेशका मूख्यमन्त्री शाक्यले २४ गते विश्वासको मत लिने तयारीका साथ संसद् अधिवेशन बोलाएकी छन् भने आचार्यले दशैंपछि मात्र विश्वासको मत लिने बताउँदै आएका छन् । उनले अन्य दलहरूसँग गठबन्धन गर्नेसमेत बताएका छन् । तर केन्द्रीय गठबन्धनविपरीत गठबन्धन हुने सम्भावना नभएको सत्तारुढ दलले बताइसकेका छन् ।

000

प्रदेश नं. १ मा मुख्यमन्त्री बन्न लागेका राजेन्द्र राई अब आफ्नो नेतृत्वमा सरकार बनाउनतर्फ संवैधानिक रूपमा अगाडि बढ्ने बताउँछन् । प्रदेश नं. १ एकीकृत समाजवादीका संसदीय दलका नेतासमेत रहेका नेता राईले चाँडै आफ्नो नेतृत्वमा सरकार बन्ने मकालुखबरलाई बताए । राईले भने, ‘यो सरकार अल्पमतमा परिसकेकाे छ र पनि सरकारमै बसिरहेको छ । अब संवैधानिक रूपमा कसरी अगाडि जाने भन्नेबारेमा छलफल गर्दै अगाडि जाने हो ।’

यस्तै बागमतीमा पनि अब चाँडै आफूहरूको नेतृत्वमा सरकार बन्ने एकीकृत समाजवादी बागमती प्रदेशका संसदीय दलका नेता राजेन्द्र पाण्डे बताउँछन् । पाण्डेलाई उद्धृत गर्दै नेता वसन्तप्रसाद मानन्धरले भने, ‘अब चाँडै सरकार बनाउनुपर्छ । यो सरकार अल्पमतमा परिसकेको छ । यसले विश्वासको मत लिने सम्भावना नै छैन । यो सरकार अब हट्छ ।’

एकीकृत समाजवादीले पहिल्यैदेखि प्रदेशको नेतृत्वको दाबी गरेको र आजको सहमति सकारात्मक भएको नेता मानन्धरको भनाइ छ । ‘पार्टी अध्यक्षज्यूसँग पनि उहाँ (पाण्डे) ले छलफल तथा वार्ता गरिरहनुभएको छ । अब संवैधानिक रूपमा अगाडि बढ्छौँ,’ मानन्धरले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *