बालुवाटार बैठक:

प्रदेश नं. १ र बागमतीको मुख्यमन्त्री एकीकृत समाजवादीले पाउने

काठमाडौँ । प्रदेश नं. १ र बागमती प्रदेशको नेतृत्व माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पाउने भएको छ । सत्तारुढ गठबन्धनमा मन्त्रिपरिषद् विस्तारको भागबन्डा पेचिलो बनिरहेको बेला यस्तो सहमति भएको हो ।

यो सहमति बिहीबार अपराह्न प्रधान मन्त्री सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले गरेको हो । ‘पहिल्यैदेखि नै हामीलाई नै दिने कुरा थियो । यसमा सहमति भयो,’ एकीकृत समाजवादीका एक नेताले मकालुखबरसँग भनेका छन् ।

उनकाअनुसार केन्द्रमा ४ मन्त्रालयसहित १ राज्यमन्त्री एकीकृत समाजवादीले लिनेछ भने प्रदेश नं. १ र बागमती प्रदेशमा मुख्यमन्त्री लिने भएको छ । बालुवाटार बैठकबाट बाहिरिएर स्थायी कमिटी बैठकमा भाग लिन गएका अध्यक्ष नेपालले दुई प्रदेशको मुख्यमन्त्री पाउने सहमति भएको बताएको ती नेताले बताए । यसअघि बागमतीमा कांग्रेसले मुख्यमन्त्री दाबी गरेको थियो ।

एकीकृत समाजवादीबाट प्रदेश नं. १ मा राजेन्द्र राई र बागमती प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्रीको दाबेदार छन् । संघीय सरकारको मन्त्रालय भागबन्डामा हेपिएको भन्दै एकीकृत समाजवादीले दुई प्रदेशका मुख्यमन्त्रीको भागबन्डा पनि प्याकेजमै मिलाइएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *