निजी क्षेत्रमैत्री विद्युत् ऐनका लागि पहल गर्छु: इप्पान अध्यक्ष डाँगी

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित अध्यक्ष मोहन डाँगीले निजी क्षेत्रमैत्री विद्युत् ऐनका लागि पहल गर्ने बताएका छन् ।

बुधवार संस्थाको कार्यालयमा कार्यभार सम्हाल्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनले निजी क्षेत्रका समस्या समाधान र नीतिगत सुधारका लागि सक्रिय पहल गर्ने बताए । उनले आफ्नो कार्यकालमा गरिएका प्रतिवद्धताहरूलाई कार्यसमितिबाट पारित गराई व्यवस्थित रूपमा कार्यान्वयन गर्ने बताए ।

अध्यक्ष डाँगीले ऊर्जा क्षेत्रमा विद्यमान समस्याहरूलाई राष्ट्रिय स्तरमा मन्त्रालयसँगको सहकार्य र छलफलबाट समाधान गरिने उल्लेख गरे । विशेष गरी पछिल्लो समय चर्चामा रहेको १३०० मेगावाटका आयोजनाहरू खारेज हुनसक्ने विषयमा मन्त्रालयसँग आवश्यक संवाद गरी निजी क्षेत्रको हितमा काम गर्ने उनको भनाइ थियो ।

विगतका अध्यक्षहरू शैलेन्द्र गुरागाईँ, कृष्ण आचार्य र निवर्तमान अध्यक्ष गणेश कार्कीसँग निकट रहेर काम गरेको अनुभवका आधारमा आफूलाई आयोजनाका सर्वेक्षण, निर्माण र उत्पादनका तीनवटै चरणमा भोग्नुपर्ने समस्याबारे पूर्ण जानकारी रहेको उनले बताए । इप्पानमा करिब २५ प्रतिशत सदस्यहरू सौर्य ऊर्जा (सोलार) सँग सम्बन्धित रहेको उल्लेख गर्दै उनले सोलार ऊर्जाका समस्या समाधानमा पनि उत्तिकै प्राथमिकता दिने स्पष्ट पारे ।

मुलुकमा हाल २०४९ सालको विद्युत् ऐन कार्यान्वयनमा रहेको र लामो समयदेखि नयाँ ऐन ल्याउने प्रयास भएपनि सफल हुन नसकेको भन्दै उनले यसपटक दुई तिहाइ नजिकको सरकार भएकाले नयाँ ऐन ल्याउन लबिङ्ग गर्ने बताए । उक्त ऐनलाई निजी क्षेत्रमैत्री बनाउन आफ्नो तर्फबाट विशेष प्रयत्न रहने उनको भनाइ छ ।

उनले भने ‘हामीले हाम्रो कार्यकालमा के–के गर्ने भन्ने विषयमा प्रतिबद्धता जाहेर गरेका छौँ । ती प्रतिवद्धताहरूलाई व्यवस्थित रूपमा सुचीबद्ध गरी कार्यसमितिबाट पारित गराउनेछौँ र सोही अनुसार अगाडि बढ्नेछौँ । अहिले समस्याहरू धेरै छन् । ती समस्याहरूलाई व्यापक रूपमा राष्ट्रिय स्तरमा सम्बोधन गर्न मन्त्रालयसँग पनि निरन्तर छलफल भइरहेको छ । सहकार्य र संवादमार्फत समाधान खोज्ने हाम्रो प्रयास रहनेछ ।

यसैबीच करिब १,३०० मेगावाट क्षमताका आयोजनाहरू खारेज गर्ने विषय पनि उठिरहेको छ । यी लगायत समग्र विषयमा म तीन जना अध्यक्षहरूसँग नजिक भएर काम गरिसकेको व्यक्ति हुँ । शैलेन्द्र गुरुङज्यूको कार्यकालदेखि म इपानमा सक्रिय हुन थालेको हुँ । त्यसपछि कृष्ण आचार्यज्यू तथा निवर्तमान अध्यक्ष गणेश कार्कीज्यूसँग पनि नजिक रहेर काम गर्ने अवसर पाएँ । त्यसैले समस्याहरू कहाँ छन्, के–के छन् र तिनको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा मलाई पर्याप्त जानकारी छ ।

अर्को कुरा, हाम्रा आयोजनाहरू मुख्यतः तीन चरणमा हुन्छन्–सर्वेक्षण, निर्माण र उत्पादन । यी प्रत्येक चरणमा फरक–फरक प्रकारका समस्याहरू छन् । साथै, हाल इपानका सदस्यहरूमध्ये उल्लेखनीय संख्या सौर्य ऊर्जासँग सम्बन्धित हुनुहुन्छ । यकिन तथ्याङ्क अहिले मसँग छैन, तर करिब २५ प्रतिशत सदस्यहरू सोलार क्षेत्रका हुनुहुन्छ ।

सोलार क्षेत्रका समस्यादेखि अन्य सबै समस्यासम्मका विषयमा म पहिलेदेखि नै सक्रिय रूपमा लागिरहेको हुँदा सबै पक्षबारे जानकार छु । त्यसैले सबै समस्याको समाधान गर्ने दिशामा काम गर्नेछौँ । विशेषगरी, २०४९ सालमा आएको विद्युत् ऐनकै आधारमा हामीले अहिलेसम्म काम गरिरहेका छौँ । नयाँ विद्युत् ऐन पटक–पटक आउने चर्चा भए पनि अन्तिम चरणमा पुगेर पनि पारित हुन सकेको छैन । गत कार्यकालमा पनि लगभग पारित हुने अवस्थामा पुगेको थियो, तर रोकियो ।

अहिले दुईतिहाइ नजिकको सरकार भएकाले ऐन–कानुन निर्माणको प्रक्रिया अघि बढ्ने अपेक्षा छ । त्यसकारण हामी निजी क्षेत्रमैत्री विद्युत् ऐन निर्माणका लागि आवश्यक लबिङ गर्नेछौँ र यसलाई निजी क्षेत्रको हितअनुकूल बनाउन हरसम्भव प्रयास गर्नेछौँ । यहाँहरूको साथ र सहयोगको अपेक्षा गर्दछु । विशेषगरी निवर्तमान अध्यक्षज्यूको कार्यकालमा इपानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यापक ब्राण्डिङ भएको छ । त्यो प्रतिष्ठा र साखलाई जोगाउँदै अझ सुदृढ बनाउने दिशामा हामी अघि बढ्नेछौँ ।’

संस्थालाई सामूहिक नेतृत्वको भावना अनुरूप कार्यविभाजन गरी अगाडि बढाउने बताउँदै उनले सञ्चार क्षेत्रको साथ र सहयोगका लागि पत्रकारहरूप्रति आभार समेत व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eighteen =