डा. गिरी चिकित्सा शिक्षा आयोगको बैठकमा ‘उपाध्यक्ष’को हैसियतमा सहभागि: एमालेले जनायो आपत्ति

काठमाडौँ । नेकपा (एमाले) का सांसद गुरु बरालले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्त नभई प्राध्यापक डा. कृष्ण गिरीलाई आयोगको बैठकमा उपाध्यक्षको हैसियतमा बैठकमा सहभागी गराएको भन्दै आपत्ति जनाएका छन् ।

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बरालले यस्तो आपत्ति जनाएका हुन् ।

उनले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पद हाल रिक्त रहेको र आयोगको ऐनअनुसार लोकसेवा आयोगका अध्यक्षसहितको सिफारिस समितिको सिफारिसमा आयोगको उपाध्यक्ष मन्त्रिपरिषद्ले नियुक्त गर्ने व्यवस्था रहेको उल्लेख गरे ।

उनले आयोगको उपाध्यक्ष पदका लागि उपाध्यक्ष पदका लागि १० जनाले आवेदन दिएको भन्दै र थप प्रक्रिया बाँकी नै रहेको भएपनि मंगलवार बसेको आयोगको बैठकमा उपाध्यक्षको हैसियतमा सहभागी भएको दाबी गरे ।

सांसद बरालले उक्त बैठकबाट छात्रवृत्तिसम्बन्धी कार्यविधि पारित गरिएको उल्लेख गर्दै नियुक्ति प्रक्रिया टुंगो नलाग्दै प्रतिस्पर्धी व्यक्तिलाई आयोगको निर्णय प्रक्रियामा सहभागी गराइनु कानूनसम्मत नभएको भन्दै सरकारको आलोचना गरे ।

उनले भने ‘राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा अहिले उपाध्यक्ष पद खाली छ । आयोगको ऐन २०७५ ले लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा नेपाल सरकारको मुख्यसचिव र नेपाल सरकारले तोकेको महिला चिकित्सा क्षेत्रको विज्ञ ३ जनाको नाम सिफारिस गर्ने अधिकार दिएको छ । अहिले उपाध्यक्ष पदको लागि १० जनाले आवेदन दिनुभएको छ । त्यसको ७औँ दर्ता नम्बरमा रहेको प्राध्यापक डा। कृष्ण गिरी हिजो प्रधानमन्त्रीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकमा उपाध्यक्षको हैसियतले सहभागी हुनुभयो । बैठकबाट छात्रवृत्तिसम्बन्धी कार्यविधि पारित गर्नुभएको छ यसले गम्भीर प्रश्न उठाएको छ । जो मान्छे अहिले उपाध्यक्षमा प्रतिस्पर्धी छ त्यही मान्छे आयोगको बैठकमा सहभागी भएको छ । अहिले नियुक्त नभईकन कृष्ण गिरीले आयोगको उपाध्यक्षको पद सम्हालिसक्नुभएको छ । त्यसो हो भने अरू ९ जना प्रतिस्पर्धीको हैसियत के भयो रु सरकारले यस्तो प्रपञ्च किन रच्यो रु यो कानूनसम्मत र विधिसम्मत देखिँदैन ।’

उनले अन्य नौ जना प्रतिस्पर्धीमाथि समेत यस घटनाले अन्याय भएको जिकिर सरकारले यस विषयमा स्पष्ट पार्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + twenty =