बागमतीको मुख्यमन्त्रीमा कांग्रेसले पनि दाबी गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले पनि बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने भएको छ । आइतबार (आज) बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीमा दाबी गर्ने निर्णय गरेका सांसद छिरिङ दोर्जे लामाले जानकारी दिए । सांसद लामाकाअनुसार बैठकमा सांसदहरूले कांग्रेसले पनि मुख्यमन्त्रीमा दाबी गर्नुपर्ने बताएका थिए । यसपछि बैठकले दाबी प्रस्तुत गर्ने निर्णय गरेको हो ।

यसअघि केन्द्रीय सत्तारुढ गठबन्धनमा रहेका दलहरूबीच बागमती प्रदेशको मुख्यमन्त्री नेकपा (एकीकृत समजावादी) लाई दिने सहमति बनेको थियो । यद्यपि पुनः कांग्रेसले पनि मुख्यमन्त्रीमा दाबी गर्ने भएको हो ।

यस विषयमा प्रदेशमा विपक्षी गठबन्धनमा रहेका दलहरूबीच छलफल गर्ने नेताहरूले बताएका छन् । एक नेताले भने— ‘बागमतीमा कांग्रेस प्रमुख प्रतिपक्ष दल पनि हो । यसो हुँदा मुख्यमन्त्रीको दाबी गर्नु स्वाभाविक पनि हो ।’

यदि केन्द्रीय सत्तारुढ गठबन्धनमा बागमतीमा कांग्रेले मुख्यमन्त्री पाउने सहमति बने मुख्यमन्त्री संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बन्नेछन् । नेता बानियाँले केन्द्रीय गठबन्धनमा त्यो सहमति नबन्दै मकालुखबरसँग कुराकानी गर्दै भनेका थिए— ‘कांग्रेसले नै पाउनुपर्छ बागमती प्रदेशको मुख्यमन्त्री । कांग्रेस यहाँको प्रमुख प्रतिपक्षी दल पनि हो ।’

बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज प्रदेश सभामा विश्वासको मत लिँदैछिन् । शाक्यले विश्वासको मत नपाउने समीकरण स्पष्ट भइसकेकोले विपक्षी दलहरू भावी सरकारको नेतृत्वका लागि अग्रसर भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *