कोपा फाइनलपछि ब्राजिल र अर्जेन्टिना भिड्दै

काठमाडौँ । कोपा अमेरिका फाइनलपछि अर्जेन्टिना र ब्राजिलबिच पहिलोपटक प्रतिस्पर्धा हुन लागेको छ । कतार विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिल र अर्जेन्टिनाबीच आज राति खेल हुन लागेको हो । खेल नेपाली समयअनुसार मध्यराति १२:४५ बजे शुरु हुनेछ ।

छनोटमा ब्राजिल शतप्रतिशत जित निकाल्दै ७ खेलबाट २१ अंक हात पार्न सफल हुँदा अर्जेन्टिना दोस्रो नम्बरमा छ ।

अपराजित नै रहेको अर्जेन्टिनाको ७ खेलमा तीन बराबरीका साथमा १५ अंक छ । अंक तालिकाका शीर्ष चार टीमले कतार विश्वकपमा स्थान बनाउनेछन् भने पाँचौ स्थानमा रहने अर्को एक टीमले इन्टरकन्टिनेन्टल छनोटको अवसर पाउनेछ ।

अर्जेन्टिना पछिल्लो २२ खेलमा अपराजित छ । पछिल्लो पटक २०१९ को कोपा अमेरिका सेमिफाइनलमा ब्राजिलसँग २-० ले पराजित भएयता अर्जेन्टिनाले हारको सामना गर्नुपरेको छैन । अर्जेन्टिनाले ब्राजिललाई गत जुलाईमा भएको कोपा अमेरिकामा १-० ले पराजित गर्दै उपाधि जितेको थियो ।

आजको खेल ब्राजिललाई त्यसको बदला लिने अवसरका रूपमा समेत रहेको छ । जारी विश्वकप छनोटमा ब्राजिलको उत्कृष्ट फर्म र अपराजित अर्जेन्टिनाबीचको खेल बहुप्रतिक्षित हुने आकलन गरिएको छ । खेल ब्राजिलको साओपाउलोमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *