मुसुक्क मेस्सी

मुसुक्क हास्ने, हत्तपत्त नरिसाउने, शान्त स्वभाव, लफडामा कहिल्यै नफस्ने, साथीहरू भनेपछि हुरुक्कै हुने, खेल खेल्दा अत्यन्तै अनुशासनमा रहने र आलोचकलाई खेलकै मैदानबाट जवाफ दिनु उनको विशेषता हो । वर्तमान पुस्ताको सर्वकालीन महान् खेलाडी लियोनल मेस्सीले क्लबका तर्फबाट खेलिएको धेरै खेल जितेर पनि देशका लागि पटकपटक असफल परिस्थितिको सामना गर्दै कुनै उपाधि दिलाउन सकेनन् । देशको सन्दर्भमा योसहित पाँचौं पटक (चार पटक कोपा अमेरिका २००७,२०१५,२०१६,२०२१ र फिफा विश्वकप २०१४) सम्म सानो मेहनत र परिश्रमले फाइनलको यात्रा तय भएको थिएन ।

यसपालिको कोपामा अर्जेन्टिनाले १२ गोल गर्‍यो । जसमध्ये मेस्सीले ४ गोल गरे, ५ गोलका लागि अवसर सिर्जना गरे, अर्थात् असिस्ट गरे । यहिँबाट पुष्टि हुन्छ‚ उनी अर्जेन्टिनाका लागि कति आवश्यक छन् भनेर । परिस्थिति र समयले घुमाउछ भनेको शायद यहि हो । फाइनलका दुईवटा टिममध्ये एकलाई नतिजा हात पर्नु खेलको नियमै हो । आफूले सकेको गर्दागर्दै मेस्सी एक्लैको जोडबलले मात्र चल्न सक्ने स्थिति नै रहेन । टीमको वान म्यान आर्मी भएर ५ पटक सिनियर प्रतियोगिताको फाइनल शायदै कुनै समकालीन सक्रिय खेलाडीले दोहोर्‍याएको छैन‚ मेस्सी बाहेक । यसबीचमा अन्तर्राष्ट्रिय उपाधि नजितेको पनि होइन, यू-२० विश्वकप (गोल्डेन बल र गोल्डेन बुटसहित) साथै बेइजिङ ओलम्पिक स्वर्ण पदक‚ यी पनि विश्वस्तरीय अन्तर्राष्ट्रिय उपाधि नै हुन् ।

विरोधीइतर पक्षलाई यही मसला बन्यो‚ सधैं विरोध गर्ने बाटो बनिरह्यो । मेस्सीले देशलाई केही दिन सकेन‚ देशका लागि केही गरेन भन्नेहरू पनि प्रशस्तै भेटिन्छन् । पटकपटक फाइनल पुर्‍याउनु‚ फाइनलमा गोल्डेन बललगायत जित्नु चाहिँ उसको मेहनत नभएर के हो त ? देशका लागि खेल्दैन भन्नेहरुले अध्ययन कम गरेका हुन् या मजाक गरौँ भनेर भनेका हुन् थाहा छैन । जारी कोपा अमेरिकामा खुट्टामा रगत बगिरहँदा पनि देशका लागि मैदान छाडेन त्यो मेस्सी नै हो । र टीममा ऊबिना केही चल्न सक्दैन भन्ने कुरा पुष्टि पनि हुन्छ । चोट लागेर रगत बग्दा उसको भूमिका निर्वाह गर्ने अर्को खेलाडी नभएकै कारण ऊ मैदानमा घाइते भएर पनि दौडिरह्यो र बगाइरह्यो रगतसँगै पसिना । यो कुरा उसलाई बुझ्ने‚ उसलाई प्रेम गर्ने उसका समर्थकलाई मात्रै होइन‚ सबैलाई थाहा छ र पनि विरोधको नाममा विरोध गरिरहन्छन् ।

जो महान हुन्छ‚ उसैको विरोध हुने गर्छ । यो नौलो होइन । मेस्सी बराबर योगदान सबै खेलाडीले गरेका हुन्थे भने अर्जेन्टिनासँग आज ५/६ उपाधि हुन्थे‚ एक्लैले जति गर्न खोजे पनि सोचेजस्तो हुनसक्दैन । मेस्सीको दोहोरो नागरिकता छ । अर्जेन्टिना र स्पेनको । उनले चाहेको भए, जन्मभूमिलाई बाईबाई गरेर स्पेनबाटै खेल्न सक्थे । सन् २००४ मा उनलाई स्पेनको यू-२१ टिमबाट खेल्ने अफर आएको थियो । तर उनले मानेनन् । उनले अर्जेन्टिना नै रोजे । आफ्नो खेल्ने तरिकालाई पनि अर्जेन्टिनी शैलीमै निखारिरहे ।

उनले भन्थे, ‘म स्पेनमा हुर्कें र यहाँ धेरै सिकें । तर म आफ्नो बाल्यकालको खेल्ने शैलीलाई कहिल्यै परिवर्तन गर्ने छैन ।’ स्पेनबाट राष्ट्रिय टीममा खेल्न गरिएको आग्रह अस्वीकार गर्ने‚ देश‚ राष्ट्रियता र मातृभूमिलाई सधैं उच्च राख्ने मेस्सीजस्ता महान खेलाडीबाट दुनियाँले पाठ सिक्दै आएको छ र सिक्नुपर्छ । हरेक खेल कठिन हुन्छन्‚ तर असम्भव हुँदैनन् । खेल हो‚ एउटाले हार्ने‚ अर्कोले जित्ने नियम नै हो । सकभर उपाधि जितोस्‚ नजिते पनि फुटबलका बादशाहको स्थान सधैं नम्बर १ नै रहनेछ । म र मजस्तै करोडौंका हृदय जित्न सक्षम लियोनल मेस्सीलाई जारी कोपा अमेरिका-२०२१ को विजेता भएकोमा धेरै धेरै बधाई छ । अब एउटा सपना/इच्छा छ, मेस्सीले विश्वकप जितेर ट्रफी चुमेको हेर्ने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *