उपाधिका लागि ११ वर्षपछिको- सुपर क्लासिको

नेयमार भन्छन्— देशको पक्षमा नहुनेहरु ‘गो टू हेल’

काठमाडौं । दक्षिण अमेरिकी फुटबलको चर्चित प्रतियोगिता कोपा अमेरिकाको फाइनलमा चिरप्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिना खेल्दैछन् । आइतबार बिहान ५:४५ मा शुरु हुने फाइनलमा यी दुई देश ११ वर्षपछि एक अर्कासँग प्रतिस्पर्धा गर्न लागेका हुन् ।

‘सुपर क्लासिको’ ले परिचित यो भिडन्त बहुप्रतिक्षित मानिएको छ । विश्वभर सर्वाधिक फ्यान फलोइङ भएका यी दुई देशबीचको प्रतिस्पर्धालाई धेरैले विश्व फुटबलका दुई स्टार लियोनेल मेसी र नेयमारबीचको प्रतिस्पर्धाका रुपमा समेत लिएका छन् । फुटबलका दुई मिल्ने साथी फुटबलका कट्टर प्रतिस्पर्धी मानिने ब्राजिल र अर्जेन्टिनाबाट खेल्दैछन् । यो खेल उनीहरुका विश्वभरका समर्थकका लागि समेत प्रतिष्ठाको विषय पनि बनेको छ ।

ब्राजिलको विश्वप्रसिद्ध माराकाना मैदानमा आइतबार बिहानै शुरु हुने फाइनल खेलले २०२१ को च्याम्पियन तय त गर्ने छ नै सँगै यी दुई मध्ये ‘को तगडा ?’ भन्ने कुराको छिनोफानो पनि गर्नेछ ।

सन् २००० यता ब्राजिलसँग खराब इतिहास बनाएको अर्जेन्टिनाले २ पटक भएको फाइनलमा दुवै पटक पराजित भएको छ । सन् २००४ मा पहिलो पटक ट्राइबेकरमा पराजित भएको अर्जेन्टिना २००७ मा ३–० ले पराजित भएको थियो । त्यसैले यो फाइनल अर्जेन्टिनाका लागि बदलाको अवसर पनि हो ।

मेस्सीलाई समर्थन गर्ने ब्राजिलियनसँग नेयमार आक्रोशित
अर्जेन्टिनी स्टार लियोनेल मेस्सीका फ्यान विश्वभरी नै छन् । ब्राजिल जस्तो फुटबलको उर्वर भूमिमा उनका समर्थक नहुने कुरै भएन । तर एकपछि अर्को गर्दै ब्राजिलियन समर्थकले मेस्सीले पहिलो उपाधि जितेको हेर्न चाहेको भन्दै सामाजिक सञ्जालमा लेख्न थालेपछि ब्राजिलका कप्तान नेयमार आक्रोसित भएका छन् ।

उनले ब्राजिलको कोही पनि नागरिक देशको बारेमा विपक्षी हुन नसक्ने बताएका छन् । उनले सबैभन्दा पहिलो स्थानमा देश हुने कुरामा सधैं विश्वस्त रहेको उनले बताए । नेयमारले भने— ‘ब्राजिलियन हुनुमा गर्व गर्छु । जहिलेपनि ब्राजिलको राष्ट्रिय टीममा पर्ने सपना थियो । समर्थकले देशको पक्षमा हुटिङ्ग गरेको सुन्न मन पर्थ्यो । र, जहिले पनि ब्राजिल जुन प्रतिस्पर्धामा भाग लिन्छ ब्राजिलियनहरु देशकै पक्षमा हुनुपर्छ । ब्राजिलको कुनैपनि नागरिक योभन्दा फरक हुन्छ भन्ने म सोच्न सक्दिनँ । म उनीहरुको स्वतन्त्रतालाई सम्मान गर्छु । तर ब्राजिलको विपक्षमा हुनेहरु ‘गो टु हेल ।’

तथ्य तथ्याङ्क
कोपा अमेरिकामा ब्राजिल र अर्जेन्टिना ३४ औं पटक खेल्न लागेका हुन् । जसमध्ये अर्जेन्टिनाले १५ र ब्राजिलले १० खेल जितेका छन् । ८ खेल बराबरी भएका छन् । ब्राजिलको घरेलु मैदानमा यी दुईबीच आठौं भेट हुन लागेको छ । अहिलेसम्मका सबै खेलमा ब्राजिल विजयी भएको छ ।

अर्जेन्टिना पछिल्ला छवटा महत्वपूर्ण फाइनल खेल (कोपा अमेरिका २००४, २००७, २०१५, २०१६, कन्फिडरेसन कप २००५, विश्वकप २०१४) मा पराजित भएको छ । जसमध्ये तीन खेल त ब्राजिलसँगै (कोपा २००४ र २००७ तथा कन्फिडरेसन कप २००५) पराजित भएको छ ।

ब्राजिल कोपा अमेरिकामा ६ खेलमा अर्जेन्टिनासँग पराजित भएको छैन । जसमा ३ खेलमा जित निकाल्दा ३ खेल बराबरी खेलेको छ । उसले पछिल्लो पटक १९९३ मा ३–२ ले अर्जेन्टिनासँग हार व्यहोरेको थियो । सबैखाले मुख्य प्रतिस्पर्धामा ब्राजिल ७ खेलमा अर्जेन्टिनासँग हारेको छैन । उसले ५ जित निकालेको छ भने २ बराबरी खेलेको छ ।

अर्जेन्टिनाले ब्राजिलमा खेलेका पछिल्ला १९ मध्ये केवल १ खेलमा मात्र जित निकालेको छ । जहाँ १४ हार व्यहोरेको छ भने ४ खेल बराबरी गरेको छ । ब्राजिल र अर्जेन्टिना माराकाना मैदानमा १३ औ पटक एक अर्कासँग खेल्न लागेका छन् । अहिलेसम्म ब्राजिलले ७ जित निकाल्दा अर्जेन्टिनाले २ जित मात्र हात पारेको छ । ३ खेल बराबरी भएका छन् ।

पछिल्लो पटक माराकानामा यी दुई देशले १९९८ मा खेलेका थिए । मैत्रिपूर्ण त्यो खेलमा अर्जेन्टिना १–० ले विजयी भएको थियो । ब्राजिल घरेलु मैदानमा खेलेका ४६ मध्ये केवल २ खेल मा मात्रै ब्राजिल पराजित भएको छ । ब्राजिल घरेलु मैदानमा भएको कोपा अमेरिकाका पछिल्ला २६ खेलमा अपराजित छ । जसमा १७ खेलमा जित र ९ खेल बराबरी भएको छ ।

अर्जेन्टिनाका प्रिशिक्षक लियोनेल स्कालोनि र ब्राजिलका प्रशिक्षक टीटेबीच चौथो भेट हुन लागेको हो । जसमा ब्राजिल २ पटक विजयी (२०१८मा १–० ले तथा २०१९ मा २–०ले) हुँदा अर्जेन्टिना एक पटक (२०१९मा१–०ले) विजयी भएको छ ।

लियोनेल मेसी र नेयमारले यसअघि एक अर्कासँग पाँच पटक प्रतिस्पर्धा गरेका छन् । जसमा मेस्सी तीनपटक विजयी हुँदा नेयमार २ पटक विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *