कोपामा कीर्तिमान थप्दै मेस्सी

काठमाडौं । फुटबलमा उपाधि र कीर्तिमानका पर्यायजस्तै बनेका अर्जेन्टिना र बार्सिलोनाका स्टार लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

देशलाई ठूलो उपाधि दिलाउन नसकेको आलोचना खेप्दै आएका मेस्सीले आलोचकहरूलाई मूखभरिको जवाफ दिने अर्को एक अवसर पाएका छन् । यसका लागि उनले आइतबार बिहान हुने खेलमा विश्व फुटबलको महारथी ब्राजिललाई उसकै भूमिमा हराउनुपर्नेछ । यो खेलको नतिजा के हुन्छ भन्ने थाहा पाउन त फाइनल खेलको अन्तिम ह्विसिल बचुन्जेल कुर्नैपर्छ । तर प्रतियोगिता चल्दै गर्दै उनले केही कीर्तिमान भने आफ्नो नाममा लेखाइसकेका छन् ।

 

सर्वाधिक धेरै खेल खेल्ने अर्जेन्टिनी स्टार बनेका मेस्सीले जारी प्रतियोगितामा अर्जेन्टिनाले गरेका ११ गोलमध्ये ९ वटा गोलमा कप्तान मेसी प्रत्यक्ष संलग्न छन् । अर्जेन्टिनालाई प्रतियोगिताको फाइनल पुर्‍याउँदासम्म चार गोल गरेका उनले पाँच गोलमा अवसर सिर्जना (असिस्ट) गरेका छन् । कोपाका ६ खेलमा पाँच असिस्ट कुनै पनि खेलाडीले गरेको सबैभन्दा धेरै हो ।

मेस्सीले अर्जेन्टिनाका पूर्वकप्तान जाभियर मास्चेरानोले बनाएको सर्वाधिक खेल खेलेको कीर्तिमान भंग गरेका छन् । मास्चेरानोले अर्जेन्टिनाको जर्सीमा १ सय ४७ खेल खेलेका थिए । कोपामा बोलिभियासँगको खेलसँगै मेसीले १ सय ४८ खेल संख्या पुर्‍याएर त्यो कीर्तिमान तोडेका मेस्सीले अब फाइनल खेलेसँगै १५१ क्याप जित्नेछन् ।

त्यस्तै उनी ६ वटा कोपा अमेरिका खेल्ने खेलाडी पनि बनेका छन् । सन् २००७ देखि २०२१ सम्म लगातार टीममा रहेका मेस्सीले मास्चेरानोकै नाममा रहेको कोपाको ५ प्रतियोगिता खेल्ने कीर्तिमान आफ्नो नाममा लेखाउन सफल रहे ।

ब्राजिलसँग फाइनलमा मैदान उत्रँदा मेस्सीले कोपामा ३४ खेल पुरा गर्नेछन् । जुन चिलीका सर्जियो लिभिङस्टोनको किर्तिमानको बराबरी हो ।

मेस्सीले कोपाका ६ वटा संस्करणमा १३ गोल गरेका छन् । जुन ब्राजिलका जिजिन्हो र अर्जेन्टिनाकै नोर्बेर्टो मेन्डेज पछिको धेरै हो । उनीहरुले १७-१७ गोल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *