एक सपना पूरा गर्ने एक खुट्किलोको अघिल्तिर मेस्सी

काठमाडौं । विश्व फुटबलका सफलतम खेलाडी लियोनेल मेस्सी पुन: एकपटक अर्जेन्टिनालाई कोपा अमेरिकाको फाइनल पुर्‍याउने स्थानमा आइपुगेका छन् । व्यवसायिक फुटबलमा सर्वाधिक सफल मेस्सीले अर्जेन्टिनाबाट भने केवल ओलम्पिकमा जितेको स्वर्णपदकमै चित्त बुझाउनुपरिरहेको छ ।

विरोधीहरूको आलोचना पनि यहि हुने गरेको छ कि क्लबको सदस्यका रुपमा जे जति उपाधि हात पारेपनि वा व्यक्तिगत रुपमा जतिपटक सर्वोत्कृष्ट बनेपनि राष्ट्रिय टिमलाई उनले ठूला उपाधि दिलाउन नसकेको आलोचना उनी स्वयम् र उनका समर्थकहरुका लागि पनि मिठो खाना खाइरहेका बेला दाँतमा लागेको ढुंगाजस्तै बन्न पुगेको छ ।

हुन पनि व्यक्तिगत रुपमा उनले नजितेको खास के छ र ? तर राष्ट्रको कुरा आउनासाथ उनलाई एक असामान्य खेलाडीबाट सामान्य खेलाडीमा रुपान्तरित गर्ने कोशिस हुन्छ । मेस्सीले अर्जेन्टिनालाई तीनपटक कोपा अमेरिकाको फाइनल र एकपटक विश्वकपको फाइनल पुर्‍याएपनि हरेकपटक टिम उपविजेताकै रुपमा चित्त बुझाउन बाध्य हुनुपरेको छ । सन् २००७ यता तीन पटक फाइनल पुगेको अर्जेन्टिना दुई संस्करणमा पेनाल्टी सुटआउटमा पराजित हुँदै उपाधिविहीन बन्नुपरेको छ । यसको तोड सबैभन्दा धेरै मेस्सीलाई बाहेक अरु कसलाई परेको होला र ?
उनै मेस्सी आफ्नो टिम अर्जेन्टिनालाई कोपा अमेरिकाको फाइनल पुर्‍याउने उद्देश्यका साथ मैदानमा उत्रँदैछन् ।

Copa America 2021: Lionel Messi gets late-night birthday surprise from Argentina teammates in hotel room - Sports News

नेपाली समयअनुसार बुधबार बिहान ६:४५ मा मैदान उत्रँदै गर्दा उनीसँग खेल्ने टिम कोलम्बिया हुनेछ । यस्तोमा कोलम्बियालाई हराएर फेरि एकपटक कोपाको फाइनल पुर्‍याउनु उनको पहिलो ध्येय हुनेछ । यो खेल जिते उपाधिका लागि अर्जेन्टिनाले ब्राजिलसँग खेल्नेछ ।

क्वाटरफाइनलमा इक्वेडरसँग ३-० को प्रभावशाली जित निकाल्दा तीनै गोलमा उनको योगदान रह्यो । दुई गोल असिस्ट गरेका उनले एक आकर्षक फ्रिकिकमार्फत् गोल सम्भव बनाएका थिए । जारी प्रतियोगितामा उत्कृष्ट लयमा रहेका मेस्सीले प्रतियोगितामा ४ गोल र त्यति नै गोलमा असिस्ट गरेका छन् । त्यसैले पनि कोलम्बियासँगको खेलमा अर्जेन्टिनाको मुख्य आशा र भरोसा पनि कप्तान मेसी नै हुनेछन् ।

तथ्य तथ्याङ्क
यी दुई देशले समग्रमा ४१ पटक खेलेका छन् । जसमा अर्जेन्टिनाले २४ खेलमा जित निकाल्दा कोलम्बिया ९ खेलमा मात्र विजयी भएको छ । ८ खेल बराबरीमा सकिएका छन् ।

Copa America 2021 Golden Boot race: Lionel Messi on top after stunning performance against Ecuador

तर यो बलियो इतिहासका बिच पनि अर्जेन्टिना २०१६ यताका तीन खेलमा कोलम्बियासँग जीतविहीन छ । कोपा अमेरिकाकै समूहचरणमा २०१९ मा पछिल्लो पटक कोलम्बियाले अर्जेन्टिनालाई २-० ले पराजित गरेको थियो । पछिल्लो पटक भने कतारमा विश्वकप छनौटका क्रममा गत जूनमा प्रतिस्पर्धा हुँदा यी दुई देशले २-२ गोलको बराबरी खेलेका थिए ।

यस्तोमा खेल जीवनको उत्तरार्द्धमा लाग्दै गरेका मेस्सी कोपा अमेरिकाको उपाधि जिताउने आफ्नो उत्कट चाहना र सपना पूरा गराउने थप एक अवसर सिर्जना गराउन चाहन्छन् । यसका लागि उनी र उनको नेतृत्वको अर्जेन्टिनाले बुधबार बिहान सेमिफाइनलमा कोलम्बियालाई हराउनुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *