कोपा अमेरिका : अपराजित ब्राजिललाई जितविहीन इक्वेडरको चुनौती

काठमाडौं । कोपा अमेरिका फुटबलमा सोमबार बिहान दुई खेल हुँदैछन् । नेपाली समयअनुसार बिहान २:४५ मा हुने समूह बीका दुई खेलमा ब्राजिलले इक्वेडरविरुद्ध प्रतिस्पर्धा गर्दा सोहि समयमा भेनेजुएलाले पेरुको सामना गर्नेछ ।

ब्राजिलस्थित स्टेडिओ ओलम्पिको पेड्रो लुडोभिकोमा हुने खेलमा समूहको शीर्षस्थानमा रहेको अपराजित ब्राजिलले अंक तालिकाको चौथो स्थानमा रहेको इक्वेडरको सामना गर्नेछ। आयोजक ब्राजिल समूहका तीन खेलमा लगातार जित निकाल्दै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । इक्वेडरको भने १ हार र २ बराबरी खेल्दै जितविहीन रहेर २ अंकका साथ चौथो स्थानमा छ।

ब्राजिल इक्वेडरमाथि हरेकजसो खेलमा हावी हुँदै आएको छ । ब्राजिलले इक्वेडरविरुद्ध ३३ खेलमा २७ मा जित निकालेको छ । पछिल्लोपटक गत महिना भएको प्रतिस्पर्धामा ब्राजिलले सहज रुपमा २-० को जित निकालेको थियो ।

त्यस्तै सोमाबार नै पाँचौं स्थानमा रहेको भेनेजुएला र पेरु आमुनेसामने हुनेछन् । भेनेजुएलालाई आफ्नै बलमा अघिल्लोचरण पुग्न जित्नैपर्ने दबाब रहेको छ । भेनेजुएलाले तीन खेलमा २ बराबरी गरेको छ । जितविहीन भेनेजुएला पहिलो जितको खोजिमा हुनेछ ।

ब्राजिलले इक्वेडरलाई पराजित गरेमा बराबरीले पनि भेनेजुएलालाई अघिल्लोचरण पुर्‍याउनेछ । तीन खेलमा १ जित, १ हार र १ बराबरी व्यहोरेको पेरु ४ अंक जोड्दै समूहको तेस्रो स्थानमा छ । पराजित भएपनि ब्राजिलले जित निकालेमा पेरु भने क्वाटरफाइनलमा पुग्नेछ । आफ्नो खेल पनि हारेमा र ब्राजिललाई इक्वेडरले हराएमा भने पेरु प्रतियोगिताबाट बाहिरिनेछ ।

कोपा अमेरिकामा १० टीमलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता खेलाइएको छ । समूहचरणमा दुवै समूहबाट समान ४-४ टीमले क्वाटरफाइनलमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *