उज्वललाई राष्ट्रपतिदेखि शीर्ष नेताको श्रद्धाञ्जली, कसले के भने ?

काठमाडौँ । विवेकशील नेपाली दलका संस्थापक तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको निधनमा सामाजिक सञ्जालमा असीमित सम्मान व्यक्त भएको छ । अल्पायुमै भएको उनको निधनमा राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न पार्टीका नेताहरू र सर्वसाधारणले दुःख व्यक्त गरेका हुन् ।
थापाले वैकल्पिक राजनीतिमा गरेका योगदानबारे सामाजिक सञ्जालहरूमा चर्चासमेत भइरहेका छन् । नेता, नागरिक अगुवा, उद्योगपति, खेलाडी, कलाकारदेखि आम सर्वसाधारणले फेसबुक, ट्वीटरलगायतबाट थापालाई श्रद्धाञ्जली र परिवारजनमा समवेदना दिइरहेका छन् ।
थापाको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएकी छन् भने परिवारजनमा समवेदना भनेकी छन् । राष्ट्रपति भण्डारीले गरेको ट्वीटमा युवा राजनीतिकर्मी थापाको निधनमा दुःख व्यक्त गरिएको उल्लेख छ ।
युवा राजनीतिकर्मी‚ विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनको खबरले मलाई दु:खी बनाएको छ । दिवंगत थापाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु।
— Bidya Devi Bhandari (@BidyaDBhandari) June 1, 2021
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले थापाको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् भने परिवारजनमा समवेदना भनेका छन् ।
विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनको खवरबाट स्तब्ध भएको छु। दिवंगत थापाप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
— K P Sharma Oli (@kpsharmaoli) June 1, 2021
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थापाको निधनको खवरले निकै दुःखी भएको उल्लेख गर्दै उनको आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका छन्, ‘विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको कोरोना भाइरस संक्रमणबाट निधन भएको खबरले दुःख लागेको छ । मृतक थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु ।’
जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले उज्ज्वल थापाको असामयिक निधनले देशलाई अपूरणीय क्षति पुगेको बताएका छन् । ‘नेपालमा वैकल्पिक राजनीतिक अभियानका अगुवा तथा असल मानव उज्ज्वल थापाको असामयिक निधनले देशलाई अपूरणीय क्षति भएको छ,’ उनले भनेका छन्, ‘उहाँको निधन पश्चात पनि वैकल्पिक राजनीतिको औचित्य अरू बढेर जानेछ।वहॉप्रति हार्दिक श्रद्धान्जली तथा आफन्तजनमा गहीरो समवेदना !’
एमाले नेता माधव कुमार नेपालले ‘राजनीतिलाई साँचो अर्थमा र फरक आयाम सहित जनता एवम् राष्ट्रको सेवामा हिडाउन चाहने अभियन्ता श्री उज्वल थापाप्रति भावपूर्ण श्रद्धान्जली, परिवारजनमा समवेदना !’ भन्दै श्रद्धाञ्जली दिएका छन् ।
राप्रपा अध्यक्ष कमल थापाले ‘नेपाली राजनीतिको एक उज्वल नक्षत्र तथा आशाको धरोहर उज्वल थापा महायात्रामा प्रस्थान गर्नु भयो । वैकुण्ठ वास होस् । भनेर समवेदना दिएका छन् ।
यसैगरी नेताहरु रामचन्द्र पौडेल, विश्वप्रकाश शर्मा, गगन थापा, योगेश भट्टराई, रवीन्द्र मिश्र, मिलन पाण्डे, विष्णु रिमाल, गोकर्ण विष्टलगायतले थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् । उद्योगपति विनोद चौधरी, क्रिकेटर पारस खड्का, गायक प्रमोद खरेललगायत पनि दुःख व्यक्त गरेका छन् ।








