गुरु राष्ट्र नेपाल

हामी कतिपय नेपाली अनभिज्ञ छौँ कि कुनै बेला हाम्रो भूमि एउटा अपार ज्ञानको भण्डार थियो भनेर । ईतिहासमा विभिन्न ख्याति कमाएका गुरु (बा-आमा) हरूले सिकाएका विवेकशील संस्कार नै यस भूमिको सुरक्षा- कवच बनेको थियो । यहिँ कुटी बनाएर बसेका महाभारत, वेद र पुराणका रचना गरेका व्यास ऋषिदेखि रामायण लेखेका वाल्मिकी ऋषिमुनीका देनहरूले अहिले एक अरबभन्दा बढी हिन्दु धर्ममा आस्था राख्नेहरूलाई दिनहुँ प्रेरणा दिइरहेका छन् । यही नेपालबाट ज्ञान बाँड्दै हिँडेका शिद्धार्थ गौतम बुद्धदेखि गुरु रिन्पोचे पद्मसम्भव अहिले आधा अरबभन्दा बढी बौद्ध धर्मावलम्बीका लागि जीवनको मार्गदर्शन नै भएको छ । यही भूमिमा मिथिलाका राजा जनकले सुसंस्कृत राज्य सञ्चालन र राज आचरणको नमूना बनाएका कयौँ गाथाहरू छन् ।

त्यही मिथिलाकी छोरी सीताकी उदाहरणीय आचरण सदियौँदेखि अहिलेसम्म करोडौँलाई प्रेरणा दिएकी छन् । यहिँ महागुरू फाल्गुनन्दले किराँत संस्कृतिलाई मात्र होइन‚ मानवजातीका लागि नै करुणादायी उपदेशहरू छोडी गएका छन् । शिखहरुका धर्मगुरु ननाक पनि नेपालमा आई शिक्षादिक्षा दिएका कथाहरू पनि छन् । ब्रिटिस साम्राज्य ढोकामा ढक्ढकाइरहेको बेला गुरु गोरखनाथका मार्गदर्शनमा रहेको गोरखा राज्यका पृथ्वी नारायण शाहले आधुनिक नेपालको स्वरुप दिन सके । यसरी तराईदेखि हिमालसम्म आध्यत्मका धनी गुरुआमा र गरुबाहरुले सत्य, अहिंसा, मानवता र सभ्यताका ज्ञानहरु बाँडेका थिए । त्यसैले हामीले पौराणिक नेपाललाई एक गुरु भूमि वा क्षेत्र भनिरहँदा अन्याय नहोला ।

हाम्रा विगतका सुसंस्कारका डिएनएहरू अहिले कता हरायो होला ? हजारौँ वर्षदेखि चिनिएका सनातन ज्ञानभूमि, गुरुभूमि अब फेरि बनाउन सकिन्छ त ? अवश्य सकिन्छ किनकि यसको विकल्प नै हामीसँग छैन । अहिलेको नेपाललाई फेरि एउटा गुरुभूमि वा ज्ञानभूमिमा रुपान्तरित गरिएन भने नेपालको अस्तित्व नै संकटमा पर्ने देखिन्छ ।

यसैगरी हामीले अर्को महत्वपूर्ण तथ्य पनि भुल्यौँ कि हामी कुनै बेला विश्वका २ केन्द्रबिन्दुहरूबीच पर्थ्यौं भनेर । विश्वको विगतको २ हजार वर्षको अर्थतन्त्र नियाल्यौँ भने अर्थशास्त्रीहरुका अनुसार २ हजार वर्ष अघिदेखि करिब ३ सय वर्षअघि सम्मको अवधि हेर्दा भारत र चीनले संसारकै आधाभन्दा बढी अर्थतन्त्र ओगटेका रहेछन्‌ । यानिकी बुद्धको पालापछि देखि १८ औँ शताब्दीसम्म विश्वकै प्रबल क्षेत्र भारत र चीन नै रहेछ र अहिलेको नेपालको भूगोल तीनै सभ्यताका बीचैमा थियो । तर यहि सभ्यताको शक्तिशाली भूमि अहिले विश्वकै गरीबी, अज्ञानी, भ्रष्ट, विवेकहीन र दिशाहीन बन्न पुग्यो ।

हाम्रा विगतका सुसंस्कारका डिएनएहरू अहिले कता हरायो होला ? हजारौँ वर्षदेखि चिनिएका सनातन ज्ञानभूमि, गुरुभूमि अब फेरि बनाउन सकिन्छ त ? अवश्य सकिन्छ किनकि यसको विकल्प नै हामीसँग छैन । अहिलेको नेपाललाई फेरि एउटा गुरुभूमि वा ज्ञानभूमिमा रुपान्तरित गरिएन भने नेपालको अस्तित्व नै संकटमा पर्ने देखिन्छ ।

यथार्थ यस्तो छ, अबको एक दर्जन वर्षमा चीन विश्वको सबैभन्दा शक्तिशाली र ठुला अर्थतन्त्र बन्दैछ अनि भारत दोस्रो वा तेस्रो हुनेछ (अमेरिका सँगसँगै)। यिनै बिचमा रहेको नेपाल एक ‘गोरु राष्ट्र’ सरह अझैपनि अरुहरुकै कृपा-दानमा डोहरिइरहनुपर्ने, अरुकै खेलमा नाची रहनुपर्ने हो भने धेरै दिन स्वतन्त्र वा सार्वभौम रहन नसक्ने देखिन्छ । यस्तो ‘गोरु राष्ट्र’को विकल्प भनेकै छिमेकले ‘गुरु’ जस्तो आदर गर्न सक्ने र श्रद्धाले हेर्न सक्ने ‘गुरुराष्ट्र’ बन्न सकेमात्र शायद हाम्रो सार्वभौमिकता र स्वाभिमान जोगिन सक्थ्यो कि ? अर्थात् हाम्रो राष्ट्रलाई छिमेकले हेर्ने नजर नै ‘गुरु’ को जस्तो हुनुपर्‍यो ।

प्रश्न उठ्छ- गुरु कसरी बनिन्छ ? उनको व्यवहार, पृष्ठभूमि र उनले बनाएको वातावरणले । त्यस्तै, गुरु राष्ट्रप्रतिको श्रद्धा पनि त्यहाँका प्रेरणादायी, बासिन्दा, तिनले बोकेका सुसंस्कृत व्यवहार र ईतिहासबाट आउँछ । गुरु राष्ट्रमा राम्रो मात्रामा नागरिकहरुमा सही र गलत छुट्याउन सक्ने खुबी हुन्छ‚ जसलाई विवेकशील नागरिक भन्न सकिएला । र यी हरेकमा चाहिने नैतिक रुपान्तरणलाई ‘गुरु संस्कार’ भन्न सकिएला‚ जसका केहि आधारभूत मूल्यमान्यताबारे पनि छोटकरीमा यहाँ चर्चा गर्न चाहेँ ।

१ ) निष्ठा : बोली र व्यवहारमा तादम्यता जब आउँछ तब मात्र उसलाई निष्ठावान भन्न मिल्छ र ऊ भरोसा गर्न लायक हुन्छ । गुरूहरूका निष्ठावान सादगी जीवनशैलीले सदैव समाज, देश र संसारलाई नै सामूहिक हितको मार्गतर्फ धकेल्छ ।

२) विनम्रता : ‘मैमात्र सक्छु, मैले मात्र जानेको छु’ यस्तो अहमताको भावनाले ग्रस्त नेतृत्वशैलीलाई तह लगाउन यहाँ विनम्र गुरुहरू अपरिहार्य छ । विनम्रताले ‘को ठीकभन्दा पनि के ठीक’ भन्नेतर्फ समाजलाई निर्देशित गर्दछ‚ जसबाट देशवासीहरुमा जीत-जीतको सम्बन्ध बनाउन सघाउ पुग्छ ।

३) समानुभूति : विविधताले भरिएको नेपालमा एक-अर्काप्रति समानुभूति बोक्न सक्ने गुरु नागरिकहरुले नै यहाँका सयौँ भाषाभाषी र संस्कृतिलाई एकजुट राखी राख्नसक्छ । फरक सोच, विचार र व्यथालाई ‘समान’ अनुभूति गर्न सक्ने सहभागितामुलक र सहिष्णु मानवताको संस्कार नागरिकहरुमा विकास गरेमात्र हामी गुरु राष्ट्रमा परिणत हुन सक्छौँ ।

४) साहस : नेपाली समाजमा व्याप्त अन्याय र अत्याचारलाई औँलो ढड्याउने नैतिक साहस ‘गुरु’ नागरिकहरूभित्र हुनुपर्छ । बुद्धिको साहसिक उपयोगपछि मात्र कोहि विवेकशील गुरु बन्नसक्छ ।

५) उत्कृष्टता : विविधताकै उत्कृष्टतालाई कदर गर्न सक्ने व्यक्ति र समाजले नै श्रृजनशील, नवीन प्रयोगद्वारा देशको स्वतन्त्रता, समाजको समवृद्धि (समतामुलक वृद्ध र समृद्धि) र नागरिकको स्वाभिमान जोगाउन सक्छ । उत्कृष्ट नेतृत्व सदैव नागरिक हितप्रति जवाफदेही रहन्छन् ।

६) पारदर्शीता : विचार र प्रणाली दुवैमा अपार पारदर्शिता राख्ने र खोज्ने नागरिकहरुको विकास गर्न सके मात्र अहिले व्याप्त लुटतन्त्र र भ्रष्टाचारलाई जरैदेखि उखेल्न सकिन्छ । यस्ता गुरु नागरिकहरू आफ्ना कामकार्य, प्रणाली, आर्थिक गतिविधि र निर्णयहरुमा निरन्तर पारदर्शी रहन्छन् र अरुबाट पनि सोही अपेक्षा राख्छन् ।

पहिलो भू-रणनीति, ‘नेपाल विश्वको केन्द्रबिन्दुमा छ’ भन्ने यथार्थ देश र विदेशमा राम्ररी चिनाउने । विगतको नेपाल भूमिको गरिमामय इतिहास सम्झाउने, वर्तमानका विविध मौलिक पहिचानहरुलाई बलियो तुल्याउने र भविष्यमा हामी कसरी ‘गुरु राष्ट्र’ बन्ने भन्नेबारे आध्यात्मिक र भौतिक गुरुयोजनाहरू पहिल्याई अघि बढाउने।

गुरु राष्ट्रमा व्यक्तिका हरेक कोणबाट समवृद्धि हुँदै जाने वातावरण बनाउन समाजले आत्मनिर्भरताभन्दा पनि अन्तरनिर्भरता (ईन्टर-डिपेन्डेन्स) को वातावरण बनाउन पहल गर्छ । नागरिकहरुका नवीनता र श्रृजनशीलतालाई अँगाल्न समाजले एक गतिशील ‘उद्यमशील’ चरित्रलाई अँगाल्नु जरुरी छ । समवृद्धि भइरहेको अवस्थामा गुरु आचरणहरू फस्टाउँछन्, फैलन्छन् । गुरु राष्ट्रमा सरकारको चरित्र एक शासकजस्तो होइन‚ ‘सेवक’ जस्तो हुन्छ‚ जसले एकातिर नागरिकका स्वतन्त्रतालाई रक्षा गर्छ भने अर्कोतर्फ उनीहरू सबैको समवृद्धि हुने वातावरण बनाउन पहल गर्छ । यसरी नागरिकका स्वतन्त्रता, समवृद्धि र स्वाभिमानलाई बढावा दिँदै बनेको सशक्त राष्ट्रलाई छिमेकहरुले आदर र सत्कार दुवै गर्न बाध्य हुन्छन् । नेपाललाई गुरु राष्ट्र बनाउन हामी नागरिक, समाज र सरकारमा आउनुपर्ने रुपान्तरणको त कुरा गर्‍यौं । अब केहि ठोस रणनीतिका पनि कुरा गरौँ‚ जसले गर्दा हाम्रा उत्तर-दक्षिणमा रहेका छिमेकले हामीलाई हेर्ने दृष्टिकोण नै बदलिन सकोस् । अहिलेको अवस्थामा यस  ‘उत्तर-दक्षिण’ नीतिअनुरुप कम्तिमा ५ छिमेक व्यवस्थापन भू-रणनीतिहरुमा हामीले ध्यान दिनु जरुरी छ। (यस बारेमा बिस्तृतमा पढ्न यहाँ जानुहोला)


पहिलो भू-रणनीति, ‘नेपाल विश्वको केन्द्रबिन्दुमा छ’ भन्ने यथार्थ देश र विदेशमा राम्ररी चिनाउने । विगतको नेपाल भूमिको गरिमामय इतिहास सम्झाउने, वर्तमानका विविध मौलिक पहिचानहरुलाई बलियो तुल्याउने र भविष्यमा हामी कसरी ‘गुरु राष्ट्र’ बन्ने भन्नेबारे आध्यात्मिक र भौतिक गुरुयोजनाहरू पहिल्याई अघि बढाउने।

दोस्रो, छिमेकहरुबीच ‘सहअस्तित्वको’ भावना दह्रो बनाउने । चीन-भारत-नेपालमा विद्यमान हिन्दु-बौद्धलगायत विभिन्न सनातन संस्कृतिहरुका निकटतालाई उजागर गर्दै एक वृहत् बहु-सांस्कृतिक गठबन्धन विकास गर्दै जाने । हरेक भारतीय र चिनियाँ नागरिकलाई जीवनमा एकपल्ट नेपाल आउन मनलाग्ने मनोभावनाको माहोल सिर्जना गर्ने । नेपाललाई ‘गुरुहरुको देश’ भनी चिनाउने ।

तेस्रो ‘अन्तरनिर्भरता’ को पहल गर्ने । नेपाल, भारत र चीन एक आपसमा अन्तर-निर्भर हुनेगरीका आर्थिक-सांस्कृतिक सम्बन्ध बढाउँदै जाने रणनीति लिने । अन्तरनिर्भर अर्थ नीति र शिक्षा नीति र उद्यम नीतिमा विशेष जोड दिने । आर्थिकमात्र होइन हिन्दु-बौद्धलगायतका सांस्कृतिक अन्तरनिर्भरतालाई जोड दिने‚ ताकि समृद्धिका साथसाथ मानवताको गाँठो पनि बसोस् छिमेकीहरुबीच ।

चौथो, ‘समनिकटता’को नीतिमा जोड दिने । आफ्ना दुई छिमेकी बीच एउटा बलियो कनेक्टर बन्ने । छिमेकीबीच हुन सक्ने द्वन्द्व र यसमा विश्व नै मुछिने खतरालाई निवारण गर्न नेपाललाई एक ‘संवाद भूमि’को रुपमा विकसित गर्ने । शान्ति, संवाद, दिगो विकास, हरियो अर्थतन्त्रका विषयहरूका केन्द्रबिन्दु बन्ने खालका शिक्षा प्रणाली र कर्मचारीतन्त्र विकास गर्नमा केन्द्रित हुने ।

पाँचौं, ‘समानूभूति’का अवधारणाबाट छिमेकलाई सुरक्षा गर्ने नीति अवलम्बन गर्ने । समानुभूतिलाई केन्द्रबिन्दुमा राखी हाम्रा छिमेकमा बस्ने ३ अरब जनतालाई परिआउने २१ औँ शताब्दीका जटिल मानवीय र पर्यावरणीय समस्याहरुलाई समाधान गर्ने हेतुले ‘बुद्ध भूमि’को रुपमा नेपालले गुरुको पहल गरिराख्ने ।

सिधा कुरा यो हो कि हामी छिमेकका गुरु बन्ने कि गोरु ? दुवै छिमेकले हामीलाई सम्मान र श्रद्धाले हेर्न सकेमात्र यो मुलकको स्वाभिमान जोगाउन सक्छौँ‚ नत्र कुनै न कुनै रुपमा उनैका ‘गोरु’ बन्नुपर्ने जोखिममा छौँ। अहिले हामीले पाएका कतिपय शिक्षा, हाम्रा दैनिक आचरण र हाम्रा सामाजिक (कु)संस्कारहरुले हामीलाई गुरुभन्दा पनि गोरु बन्नतर्फ धकेलिरहेको आभाष भइरहेछ ।

यस आचरणमा आमूल रुपान्तरण गरी नयाँ पुस्तालाई सही के र गलत के छुट्याउन सक्ने शिक्षा-दिक्षामा लगानी गर्नु राज्यको पहिलो प्राथमिकता हुनुपर्छ । गुरु राष्ट्र बनाउने यस यात्रा भनेकै नवीनता, मानवता र व्यवहारिकतालाई अँगाल्ने विवेकशील नीति, शिक्षा र विकासका आयामहरू हुन् । जब हामी नेपाली आफ्नो विनम्रता र साहसले चिनिन्छौँ, हाम्रो समानुभूति र उत्कृष्टताले चम्किन्छौँ र आ-आफ्ना निष्ठावान आचरणलाई पारदर्शी रुपमा घर-परिवार, संघ-संस्था, उद्योग-व्यवसायदेखि विद्यालय-आश्रमका सहभागितामा संस्थागत हुन्छौं तब अवश्य नेपाल हाम्रो अस्तित्व जोगाउने गुरु राष्ट्र बन्छ ।

‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’
‘संकल्प के लिनु, गुरु राष्ट्र बन्नु एक’

(थापाको यो ब्लग ह्वाईनेपाल डट कमबाट साभार गरिएको हो ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *