सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई तमासा देखाउन छाडेर जनताका समस्याप्रति संवेदनशील र जिम्मेवार हुन आग्रह गरेका छन् ।
प्रदीप नेपाल स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले मुलुकमा बढ्दै गएको आत्महत्याको प्रवृत्ति र नागरिकले भोगिरहेका पीडाप्रति सरकार गम्भीर हुनुपर्ने बताएका हुन् ।
उनले सरकारले सञ्चार गृह र राजनीतिक दलका नेताहरूको घर अगाडि गाडी तेर्स्याएर शक्ति प्रदर्शन गर्ने जस्ता अपरिपक्व कार्य गर्न नहुने टिप्पणी गरे । सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै नेता नेपालले नयाँ सरकारलाई काम गर्न र सिक्नका लागि १०० दिनको समय दिइएको तर बिहानीले दिनको सङ्केत गर्छ भने झैँ सरकारको सुरुवाती लक्षणहरू उत्साहजनक नदेखिएको स्पष्ट पारे ।
आफूहरू अहिले सरकार ढाल्ने खेलमा नरहेको प्रस्ट पार्दै उनले प्रतिपक्षका रूपमा सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । यद्यपि, उनले राष्ट्रिय हित विपरीतका कार्य नगर्न सरकारलाई सचेत गराए ।
सहसंयोजक नेपालले भने, ‘आज जनताका पीडा हामीले हरेक दिन सुनिरहेका छौँ । आत्महत्यासम्म पुग्ने निराशाजनक घटनाहरूले हामी सबैलाई गहिरो पीडा दिइरहेका छन् । यस्तो अवस्थामा सरकार संवेदनशील बन्नुपर्छ । तमासा देखाउने काम नगरी जिम्मेवारीपूर्वक शासन सञ्चालन गर्नुपर्छ ।’
सुकुम्वासी, आर्थिक रूपमा विपन्न परिवार, महिला तथा दलित समुदायले भोग्नुपरिरहेको सास्तीप्रति चिन्ता व्यक्त गर्दै नेता नेपालले राज्यका तर्फबाट कसैले पनि पीडा सहनु नपर्ने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराए ।








