मुलुक विदेशीको खेलमैदान बन्ने खतरा बढ्यो: माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मुलुक विदेशीको खेलमैदान बन्ने खतरा बढेको बताएका छन् ।
बिहीवार प्रदीप नेपाल स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रिय राजनीति सकारात्मक दिशामा अगाडि नबढेको र मुलुक संकटपूर्ण अवस्थामा रहेको टिप्पणी गरेका हुन् । नेता नेपालले अहिलेको चुनौतीपूर्ण समयमा आफ्नो पार्टीको काँधमा गम्भीर जिम्मेवारी आएको उल्लेख गर्दै देशको अस्तित्व र सार्वभौमसत्तामाथि नै प्रश्न उठ्न थालेको बताए ।
उनले मुलुकको भौगोलिक अखण्डता, स्वतन्त्रता र असंलग्न परराष्ट्र नीति कायम रहनेमा आशंका व्यक्त गर्दै नेपाल विदेशीहरूको खेलमैदान बन्ने खतरा रहेकोतर्फ सचेत गराए । विश्वका विभिन्न देशमा भएका राजनीतिक द्वन्द्व र शक्ति राष्ट्रहरूको चलखेलका उदाहरण दिँदै उनले इरान र युक्रेन जस्ता मुलुकका घटनाक्रमले चिन्तित बनाएको र कतै नेपाल पनि विदेशीहरूको क्रीडास्थल त बन्ने होइन भन्ने त्रास फैलिएको बताए ।
बुद्धको जन्मभूमि र शान्तिप्रिय देशका रूपमा विश्वमा परिचित नेपालको गौरव र पहिचान कायम रहन्छ कि रहँदैन भन्नेमा नागरिकहरू चिन्तित रहेको उनको भनाइ छ । नेता नेपालले शान्तिपूर्ण र पर्यटकीय गन्तव्यका रूपमा रहेको नेपालमा वैदेशिक हस्तक्षेप बढ्न सक्ने भन्दै आपत्ति प्रकट गरे ।
सहसंयोजक नेपालले भने, ‘नेपालको राजनीतिमा धेरै राजनीतिक दल भए पनि वर्तमान परिस्थितिमा हाम्रो पार्टीको काँधमा विशेष जिम्मेवारी आएको छ । राष्ट्रिय राजनीति अपेक्षाअनुसार सकारात्मक दिशामा अघि बढिरहेको छैन । देशको अस्तित्व, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा स्वतन्त्र र असंलग्न परराष्ट्र नीति सुरक्षित रहन्छ कि रहँदैन भन्ने प्रश्न उठ्न थालेको छ । कतै नेपाल विदेशी शक्तिहरूको प्रतिस्पर्धाको मैदान त बन्दै छैन भन्ने चिन्ता पनि बढेको छ ।’
सरकारको काम, गतिविधि र व्यवहारले आम जनतामा आशंका पैदा गरेको टिप्पणी गर्दै उनले सत्तापक्षका बोली र व्यवहारले नागरिकलाई सशंकित बनाएको दाबी गरे ।








