को हुन् उज्वल थापा ?

नेपालमा वैकल्पिक राजनीतिका अगुवा तथा विवेकशील नेपाली दलका संस्थापक उज्वल थापाको निधन भएको छ । कोभिड-१९ संक्रमण भएपछि उपचार गराइरहेका उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको हो ।

उज्वल नेपालमा राजनीति गर्थे तर उनी परम्परागतभन्दा भिन्न खालको राजनीतिमा उनी जोड दिन्थे । आफूजस्तै ‘फरक सोच’ राख्ने युवाहरुलाई समेटी उनले विवेकशील नेपाली दल खोलेर त्यसको नेतृत्व गरेका थिए । छात्रवृत्तिमा अमेरिकामा पढेर आएका उनी उद्यमी पनि थिए । उनी वेबपेज डिजाइनको काम गर्थे । राजनीतिलाई अहिलेको ‘मूल प्रवाह’ को राजनीति भन्दा भिन्न खालको जवाफदेही पारदर्शी र जिम्मेवार राजनीति गर्नुपर्छ भन्ने उनको ध्येय थियो ।

आफ्नो बारेमा उज्वलले आफ्नो ब्लगमा विस्तृतमा लेखेका छन् ।

नमस्ते ! मेरो नाम उज्वल हो । म नेपालको राजनीतिक, सामाजिक र आर्थिक वातावरण सुधार्न नेपालीहरुलाई संगठित गर्दैछु र यसको लागि चाहिने नेतृत्वहरु बनाँउदैछु ।  हाम्रो देशको लागि मेरो दुरदर्शिता यहाँ पढ्नुहोस् । धन्यवाद !

यो रह्यो मरो छोटकरीमा कहानी । सारांशमा भन्नुपर्दा म एस्ट्रो फिजिक्स पढ्न अमेरिका गएको मान्छे, एक वेबसाइट बनाउने डिजाइनर (कलाकार) भएर फर्कें ।

जिन्दगीदेखि वाक्क भएर भिक्षु बन्छु सोचेको थिएँ तर उद्यमी बन्न पुगेँ। अरुसँग टाढा एक्लै बस्न रुचाउने म, अहिले हजारौँलाई एउटै सामूहिक सन्जालमा ल्याउँदैमा व्यस्त छु ।

अहिले नेपालको यो गाह्रो परिस्थितिमा म नेपालीहरुलाई कसरी एक बनाई देशलाई समृद्ध बनाउनको निमित्त राजनीतिबाटै नेपालीहरुलाई निकास दिनुपर्छ भनेर विवेकशील नेपाली नामक नवीन राजनीतिक शक्ति बनाउन कम्मर कसेको छु, सयौँ सक्षम युवा तथा अग्रज साथीहरुसँग मिलेर ।

‘हामीले यो धर्तीमा आएपछि केही गरेरै जानपर्छ । हामी हरेकले आआफ्नै एउटा विशेष कर्तव्य बोकेर आएको हुन्छौँ । यदि त्यसो गरेनौं भने जिन्दगी अधुरै भएर भौंतारिदैँ हिड्छौँ ।’

मलाई मेरा नजिककाले एक म्याभरिक (अपरम्परागत विद्रोही स्वभावको) भनेर पनि चिन्छन् । कसरी भन्नु होला ? एउटा उदाहरण दिउँ –कुरा ११ कक्षाको हो । म त्यतिबेला बूढानीलकण्ठ स्कुलमा पढ्थेँ । वर्षको अन्तिममा अंग्रेजी साहित्य विषयको जाँच दिँदै थिएँ । प्रश्नले भन्न खोजेको उत्तर राम्ररी व्यक्त गर्न सकिनँ । अनि किताब अरुले जस्तो घोकेको पनि थिइनँ । के गरुँ गरुँ भयो । म त्यस बेला केही नभए पनि कार्टुन बनाउनचाहिँ निपुण थिएँ । अनि निधो गरेँ, लेखेर भाव व्यक्त गर्न आएन त आएन, बरु कार्टुन बनाएर नै त्यसको उत्तर दिनसक्छु जस्तो लाग्यो । अनि आफ्नो उत्तरपुस्तिकामा मज्जाले हरेक प्रश्नको उत्तर कार्टुन बनाएर दिन थालें ।

सँगै जाँच दिँदै गरेका साथीहरु ठूल्ठूला आँखाले हेर्न थाले, लौ उज्वले त बौलायो भनेर । मचाहिँ मज्जाले जे होला होला भनेर कार्टुन कोर्दै बसें, पान्ना मागी मागी । कार्टुनका बीच बीचमा केही शब्दहरू पनि हालें यसो बुझाउनको लागि । पक्का थाहा थियो कि जाँच्ने जोकोहीले पनि मलाई अवश्य फेल गरिदिन्छ । तैपनि जोखिम उठाएँ । जे होला होला भनेर । उता वरिपरि जाँच दिइरहेका सबै साथीहरुले त आफ्ना उत्तर लेख्न छाडेर मलाई नै हेरिरहेका थिएँ । भान पर्थ्यो उनीहरुको दिमागमा यही थियो होला, ‘लौ हाम्रो उज्वले त खुस्किएछ ।’

केही महिनापछि बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट यसको रिजल्ट निस्किएर नेपाल पठाए । हामी सबैले आआफ्नो मार्कसिट हेर्‍यौँ । हेर्नु अगाडि केहीले मलाई खिसी गरे, अंग्रेजीमा त गोल खाइहाल्छस् कि कसो उज्वले ।

अनि यसो हेरेँ आफ्नो मार्कसिट। खितिखिति मनदेखि नै हासोँ लाग्यो । आधाभन्दा बढी साथीहरुलाई मैले जितेंछु । सबै मुर्छै परे । ‘अंग्रेजी साहित्यमा कार्टुन बनाएर आधा भन्दा साथीहरुलाई जितेको’ कुरा पत्याउने कि नपत्याउने । किन ? कसरी ? अहिलेसम्म थाहा पाइएन तर आज पनि स्कुलका साथीहरु भेट्यौँ भने त्यहि कुरा निकाल्छन् । पछि यहिँबाट म अमेरिकामा छात्रवृत्तिका साथ पढ्ने मौका पनि पाएँ । जे हुन्छ राम्रै हुँदो रहेछ ।

म भागवत गीतामा भनेझैँ ‘कर्मयोगी’ हुनुमा पूर्ण विश्वास गर्छु । मलाईचाहिँ अलि गाह्रो कर्म दिएको जस्तो लाग्छ भगवानले । मेरो कर्मचाहिँ अरुको दिमाग घोची राख्ने । अंग्रेजीमा प्रोभोक गर्ने भन्छन् क्यार यसलाई ।  ‘अहिले नगरे कहिले, हामीले नगरे कसले’ म सबैलाई यही भन्छु र देखाएर धकेल्छु । म यो विचार राख्दछु-

‘हामीले यो धर्तीमा आएपछि केही गरेरै जानपर्छ । हामी हरेकले आआफ्नै एउटा विशेष कर्तव्य बोकेर आएको हुन्छौँ । यदि त्यसो गरेनौं भने जिन्दगी अधुरै भएर भौंतारिदैँ हिड्छौँ ।’

जिन्दगीमा नपत्याउने खोलाले नै बगाइराख्दो रहेछ । जब म करिब २१ वर्षको थिएँ, अर्को मोड आयो जिन्दगीमा । म अमेरिकामा कलेज पढदै थिएँ तर मलाई यो मटेरलिस्टिक (भौतिकवादी) जीवनदेखि वाक्क भएँ र आफू अब एउटा जेन बुद्धधर्मी भिक्षु बनेर जीवन बिताउँछु भन्ने मनमा दरो सोच आयो । अनि त्यहि सोचलाई आत्मासात् गर्दै म अमेरिकाको स्यान फ्रानसिस्को भन्ने सहर पुगेँ एक्लै । सबै कुरा मिलाएर गएको थिएँ त्यहाँ भएको एउटा भिक्षु संगठनमा दुई चार वर्ष ध्यानमा बस्नको लागि ।

दिउँसो पुगेँ म त्यहाँ तर रातभरसम्म पनि त्यो ठाउँ खोज्छु मरे फेला पार्न सकिनँ । फोन गरें, उनीहरुले देखाएकै ठेगानामा पुगें, मानिसलाई सोधें । अहँ, त्यो ठाउँ भेट्टाउनै सकिनF बा । शायद यो पनि एउटा संकेत रहेछ माथिबाट । रातिको ९ बजेसम्म खोज्दा पनि नभेट्टाएपछि हार खाएर त्यहाँबाट फर्कें । फर्क्या फर्कै भएँ । भिक्षु नबने पनि मैले त्यही दर्शनअनुरुप एक साधा जीवन बिताउने कोशिश गरी नै रहेको छु ।

म एक्सपेरिमेन्ट (अनुसन्धान) गरिरहन्छु । एउटै कुरा जिन्दगीभर गरिरहन सक्दिनँ म । त्यसैले होला चाहे त्यो कफी खेतितिर होस्, वा पर्यटकहरुलाई नेपालमा मद्दत हुने लेखहरू लेखेर होस् वा मानिसलाई उत्प्रेरित गर्ने कार्य गरेर होस् वा सूचना प्रविधिमा लागेर होस् म ठाउँ–ठाउँमा हात हालिरहन्छु ।

म अमेरिकामा एस्ट्रो फिजिक्स (खगोल तथा भौतिक विज्ञान) पढ्न गएको मान्छे, एउटा सिर्जनशील सूचना प्रविधिमा काम गर्ने डिजाइनर बनेर निस्केँ । उद्योगको ‘उ’ पनि नआउने मान्छे, अहिले १० वर्ष भयो सानो उद्योगधन्दा चलाइराखेको छु । त्यहाँ कलेजमा हुँदा काम नपाएर ३-३ महिना साथीहरुकोमा बास लिँदै हिँडियो । न्युयोर्कको बाटैमा पनि सुतियो । कति साथीहरुले त लुकाएरै राखे आफ्नो कलेजभित्र । अमेरिका पाँच वर्षपछि वाक्क लाएर आफ्नै देश फर्कने निधो गरेँ ।

सबैको आफ्नै ठाउँ हुन्छ क्यारे मेरोचाहिँ नेपाल नै रहेछ आखिर । आएपछि पनि आफूले पढेको भन्दा समाज सेवातिर नै आकर्सित भएँ अनि द्वन्द रुपान्तरणको शिक्षक हुन ट्रेनिङ लिएँ । त्यसपछि द्वन्द व्यवस्थापन सिकाँउदै जाँदा नेपालको भिषण गृहयुद्धको मूल ठाउँ रोल्पासम्म पनि पुगेँ, त्यहाँ त्यसबेला द्वन्दरत पक्षहरुबीच संवाद कसरी गर्ने भनेर सिकाउनको लागि । शायद उनीहरुले भन्दा म आफैंले बढी सिकेँ कि नेपालको जटिल परिस्थितिको बारेमा ।

सन् २००३ को पहिलो दिनमै डिजिटल म्याक्स सलुसन्स (डिएमएस) भन्ने सूचना प्रविधिको एउटा सानो घरेलु उद्योग खोलेँ । मेरो विचारमा यस कम्पनीले देशको अर्थतन्त्रलाई खासै ठूलो योगदान पुर्‍याउन सकेको छैन तर नेपालमा सूचना प्रविधिको उद्योग स्थापना गर्न र फस्टाउन ठूलो मद्दत पुर्‍याएको छ । सयौँ नेपाली युवाहरुलाई उनको पहिलो रोजगार दियो, जसले गर्दा पछि उद्यमी बनाउन पनि मद्दत गरेको छ । त्यसमाथि नेपालमा सूचना प्रविधिको उद्योग स्थापना गर्न र फस्टाउन ठुलो मद्दत पुर्‍याएको छ । यसमा चाहिँ मलाई निकै गर्व छ । पछिल्लो समयमा गन्दा यस कम्पनीका भूतपूर्व कामदारहरुले २० वटाभन्दा बढी उस्तै काम गर्ने कम्पनीहरु खोलिसकेका छन् । सबैसँग सुमधुर सम्बन्ध छ र धेरैसँग त सहकार्य समेत गरिरहेका छौँ ।

यसरी यताउता गर्दै अहिले आएर करिब १०,००० उद्यमशील नेपालीहरुको सञ्जाल ‘आन्ट्रोप्रनियोर्स फर नेपाल’ नेपालको लागि उद्योगी पनि खडा गर्न सकियो । यसको पछाडि पनि एउटा सानो रोचक कथा छ ।

२००८ मा एउटा साथीको घरमा सानो जमघट थियो । विभिन्न देशबाट फर्किएका नेपालीहरु भेटियो त्यहाँ । प्रसङ्गमा के निस्कियो भन्दा हामी नेपालमा आफैं केही गर्न खोज्नेहरुको दुःखसुख पोख्ने र सुनिदिने कुनै जमात नै छैन । अनि कसैले ‘तपाईं हामी नै शुरु गरौँ न त यसो दुःखसुख पोख्‍ने समूह एउटा क्याफेमा भेटेर भए पनि’ भन्ने ठट्टा गरे जसलाई ३ जना पटमूर्खले आत्मसात् गरे । उनीहरुले ठट्टा गरेको वा चिया गफ गरेको नबुझेर हो कि क्या हो, हामी ३ साथी केही दिनमै गएर एउटा क्याफेमै भेट्यौँ– अनि तुरुन्तै शुरु भयो, ‘आनट्रोप्रनियोर्स फर नेपाल ।’ जब भाटभटेनी सुपरमार्केटका मीनबहादुर गुरुङ दाइभाउजूलाई निम्त्यायौँ, हामी केवल ७ जना आएका थियौँ । अहिले ४ वर्षमा हाम्रो सन्जालमा ४० भन्दा बढी देशबाट १०,००० उद्यमशील नेपालीहरु आवद्ध छन् । हेरक महिना सयौँको संख्यामा हामी भेट्छौँ अनि एक अर्कालाई मद्दत गर्छौँ प्रत्यक्ष–अप्रत्यक्ष रुपमा ।

विचित्रको हाईरार्की नभएको मन्च बनेको छ यो आन्ट्रोप्रनियोर्स फर नेपाल। यसले सयौँ उद्यमशील नेपालीहरुलाई उद्योग खोल्नतिर प्रेरणा, सीप र माहोल बनाइदिएको छ । यसको सफलता हेर्दा के लाग्छ भने राम्रो मान्छेहरु नेपालमा धेरै छन् तर उनीहरुको सन्जाल बनेको रहेनछ र कोशिश गरियो भने अवश्य पनि राम्रा हरुको सन्जाल छिट्टै र फराकिलो बनाउन सकिँदो रहेछ । नेपालको प्रगति नै राम्रो मान्छेहरुको सन्जाल कति बलियो बनाउन सकिन्छ मै भर परेको छ जस्तो भान लाग्छ ।

म एक्सपेरिमेन्ट (अनुसन्धान) गरिरहन्छु । एउटै कुरा जिन्दगीभर गरिरहन सक्दिनँ म । त्यसैले होला चाहे त्यो कफी खेतितिर होस्, वा पर्यटकहरुलाई नेपालमा मद्दत हुने लेखहरू लेखेर होस् वा मानिसलाई उत्प्रेरित गर्ने कार्य गरेर होस् वा सूचना प्रविधिमा लागेर होस् म ठाउँ–ठाउँमा हात हालिरहन्छु ।

हो, आफूमा धेरै ठूला ठूला कमजोरीहरु छन् । म ठाडो छु, अजकल्टो छु, लिँडेढिपी गर्छु। रिसाहा पनि छु, कति ईष्टमित्रले त असामाजिक पनि भन्छन् । मलाई कसैले यसो गर, उसो गर, यता जा, उता जा, यता हिँड, यता नहिँड भनेको पटक्कै मन पर्दैन । त्यसैले होला यो नेपाल बन्द जवरजस्ती गर्ने प्रथादेखि घृणा लाग्छ मलाई । नेपाल बन्द प्रथाले आफ्नै देशमा निर्धक्कसँग हिँड्न पाउने मेरो जन्मजात अधिकार खोस्न खोजेको भान परेको छ मलाई। त्यसैले अत्ति भो भनेर हामी साथीहरु मिलेर एउटा बन्दविरुद्धको समूह शुरु गर्यौँ २०१० को अन्तिमतिर ।

यसको मुख्य उद्देश्य नै बन्दको बिरुद्ध साधारण नेपालीहरुलाई निडर बनाउने हो र नेपाल “खुल्ला” छ भन्ने आभाष दिलाउने हो। त्यसैले अहिले त कसैले बन्द गर्यो भने हामी आफ्नो सवारीसाधन लिएर वा भेला भएर बन्दको अवज्ञा गर्छौ र पसल पसललाई खुलाउने प्रयास गर्छौं। जबसम्म जबरजस्ती बन्द गर्छन् हामी सडकमा नै आएर अवज्ञा गरिरहन्छौँ । अहिले हामीले आफूलाई ‘नेपाल खुल्ला’ अभियानकर्ता भन्न थाल्या छौँ । कसैले भोलि बन्द हो भनेर सोध्यो भने ‘होइन, भोलि नेपाल खुल्ला हो भन्छौँ।’ यो हल्लै हल्लाको देशलाई सुधार्न एउटा सानो प्रयास हो। त्यही सानो प्रयासले मलाई अरु सामाजिक अभियानकर्ताहरु चिनायो ।

२०११ मा “परिवर्तनको लागि हामी नेपाली एक” वा “नेपाल य़ुनाइट्स” भन्ने नागरिक अभियान स्थापना गर्न धकेल्यो । नेपाल युनाइट्सले समाजका विभिन्न नागरिक पेशावर अगुवाहरु र गैरराजनीतिक युवाहरुलाई एकै ठाउँमा लिएर आयो र देशको राजनीतिलाई हल्लायो । ‘ज्याला पूरा लियौँ, अब संविधान देऊ’ भन्ने नारा बोकी खुब दबाब दिइयो । देश विदेश फैलियो यो आगो । राजनीति गर्नेहरुलाई धेरै दबाब पर्‍यो । तर एउटा कुरा सत्य रहेछ नेपालमा । जुनसुकै अभियान गरे पनि यो कुरा ध्रुव सत्य रहेछ । ‘जो पहिले थाक्छ, उसैले त्यो दौड हार्छ।’ अफसोस! हामी नै पहिले थाक्यौँ । आआफ्नो पेशा गर्दै आएका हामीलाई धेरै समयसम्म काम छोडेर एक हुन गाह्रो हुन्छ यसरी राजनीतिक पेशावरहरुसँग भिड्न । बाहिरबाट पोखरीमा फोहोर सफा गर्न शायद असम्भवै रहेछ भन्ने यसले मलाई छर्लङ्ग देखायो ।

त्यसैले म राजनीतिबाटै नेपाललाई असफल राष्ट्रबाट जोगाउन अघि सर्दैछु। यो मेरो जिन्दगीको अर्को मोड हो । नेपालभित्र र बाहिर सन्जालहरु बनाइरहेको छु र नेपालीहरुलाई घोचिरहेको छु। अब बोल्ने दिन गए, गर्ने दिन आए नेपालमा। त्यही अनुरुप म अगाडि बढ्दैछु आफू ‘नेपाली भन्नलाई होइन, नेपाली बन्नलाई ।’

आउनुहोस् ‘एक्लै हिँडे चाँडो गइएला तर सँगै हिडेँ टाढा पुगिन्छ ।’

नेपालको जय होस् तपाईंको जय होस् !

सम्बन्धित समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *