प्रेमध्वजबारे संगितकार राजु सिंह

उहाँ भन्नुहुन्थ्यो-सङ्गीतकारले हरेक गीतमा नयाँ जन्म लिनुपर्छ

बुबाको साथी भएकोले प्रेमध्वज प्रधानसँग मेरो पारिवारिक सम्बन्ध भयो । मेरो बुबा भगत सिंह वरिष्ठ बाध्यबाधक हुनुहुन्थ्यो । विद्यालय बिदा भएको बेला बुबासँग म प्रायः रेडियो नेपालमा गइराख्थें । यसै क्रममा मैले बुबा र उहाँको गीत रेकर्डिङको क्रममा सानैमा उहाँलाई भेट्ने सौभाग्य पाएको हुँ । उहाँले मलाई एकदम माया गर्नुहुन्थ्यो । हाम्रो बसाई पनि नजिकै, हामी पुतलीसडक अनि उहाँ चाहीं बागबजार बस्ने ।

बुबाले श्रद्धापूर्वक लिइराख्ने नाम थियो प्रेमध्वज प्रधान । यसकारण पनि उहाँप्रति मेरो मनमा सानैदेखि अपार आदर र सम्मान थियो । उहाँलाई भेटेपछि त त्यो श्रद्धा र सम्मान अझ उँचो भयो । उहाँले रेडियो नेपालमा गीत गाएको मैले प्रत्यक्ष देख्दा यति मीठो आवाज कहाँबाट निस्केको होला जस्तो लाग्थ्यो ।

मलाई सानैदेखि एकदम मनपर्ने एउटा गीत थियो- तारा मात्र होइन तिमीलाई जुनै दाइजो दि दिउँला…

मलाई यो गीत कसको भन्ने थाहा थिएन । पछि थाहा भयो यो गीत प्रेमध्वज प्रधानको रहेछ । म झनै खुशी भएँ । मैले देखेको भेटेको र चिनको मान्छेले गाएको गीत भन्ने हिसाबले झनै मन पर्न थाल्यो । यस्तो गीत गाउने मान्छेलाई चिनेको छु भन्ने सम्झेर म दङ्ग पर्थेँ ।

म बिद्यालय गएको बेलामा पनि उहाँलाई देखिरहन्थेँ । उहाँ अमेरिकी पुस्तकालय न्यूरोडमा काम गर्नूहुन्थ्यो । त्यतिबेला बेला हामी घुम्न निस्कँदा यताउती गर्दा उहाँलाई देख्थ्यौं । अनि भिडमा पनि म उहाँलाई चिनिहाल्थेँ । तर बोल्ने कुरा हुँदैनथ्याे  । नजिकै भेट्दा हामीहरु उहाँलाई नमस्ते गर्दथ्याैं । कहिलेकाहीँ मानिसहरु ऊ प्रेमध्वज प्रधान जानुभयो भनेर खासखास खुसखुस गरिरहेको पनि सुनिन्थ्यो ।

बुवाले मलाई जहिले पनि सङ्गीतमा लाग्ने भए प्रेमध्वज जी जस्तो भएर चिनिन सक्नुपर्छ भनिरहनुहुन्थ्याे । यसले उहाँको चित्र मेरो मानसपटलमा आदर्शका रुपमा रहिरह्यो जुन आज पर्यन्त छँदैछ, उस्तै अबिचलित रुपमा । मलाई अहिले पनि म एक प्रतिशत मात्र प्रेमध्वज प्रधान जस्तो ब्यक्तित्व बनाउन सकेँ भने मेरो सङ्गीत यात्रा एकदम सफल हुन्छ जस्तो लाग्छ । त्यसैले उहाँ मेरो एउटा आर्दश र अभिभावककै रुपमा रहनुभएको हो ।
एउटा अनुशासित, साधनारत र धरातलमा बसेर सङ्गीत सिर्जना गर्ने, कहिल्यै घमण्ड नगर्ने, अहंकार एक पित्को नभएको मानिस हुनुहुन्थ्यो उहाँ ।

उहाँँ एकदम कम बोल्ने । बिमोचनहरुमा जादाँपनि सानो र मीठो स्वरले थोरै बोल्नुहुन्थ्यो । मैले एकपटक सोधेको पनि थिएँ ‘हजुर किन यति सानो स्वरले बोल्नुहुन्छ?’ उहाँले भन्नुभयो ‘गायक भएकाले हामीले हाम्रो भोकललाई बचाउनुपर्छ, हाम्रो सम्पत्ति भनेकै भोकल हो, यसकारण आफ्नो आवाजलाई बचाउन निद्रा, खाना, आरामलगायत हरेक कुरालाई नियम बनाएर पालना गर्नुपर्छ ।’

अहिले पनि सम्झन्छु यो उहाँको सुत्र कति उपयोगी छ । यस्ता साधारण जस्ता लाग्ने तर महत्वपूर्ण कुरामा अनुशासन अनि साधना भएकै कारण उहाँ नेपाली सांगितिक क्षेत्रको एक अमूल्य नक्षत्रका रुपमा रहन सक्नुभएको हो भन्ने लाग्छ मलाई ।

उहाँसँग मेरो सङ्गीतका बारेमा गम्भिर भलाकुसारी भइरहन्थ्यो । मेरो बुवाको साथी भएकाले पनि अभिभावकको रुपमा पनि म उहाँसँग गीत सङ्गीतका बारेमा छलफल विमर्श गरिरहन्थेँ । उहाँ संगितमा लागि सकेपछि पाउनभन्दा पनि त्याग्न सक्नुपर्छ र त्यो त्याग भनेको साधना हो भन्नुहुन्थ्यो । उहाँले जहिले पनि तिमीले राम्रो गरिरहेको छौ, अझै राम्रो गर्ने कुरामा सँधै ध्यान दिइरहनु भन्नुहुन्थ्यो । उहाँ साधनासँगै अध्ययनशिलता पनि उत्तिकै जरुरी हुन्छ भन्नुहुन्थ्यो ।

उहाँ सङ्गीतकारले हरेक गीतमा एउटा बेग्लै सङ्गीतकार जन्माउन सक्नुपर्छ भन्नुहुन्थ्यो । मैले गीतहरुमा सङ्गीत भर्दा उहाँको यो आशिर्वचन वा मूल मन्त्रलाई सकेसम्म पहिल्याउने कोशिस गरें, गरिरहेकै छु । हरेक गीतमा नयाँ सङ्गीतकार अर्थात गरिसकेको कामभन्दा फरक, अझ राम्रो, अझ गुणस्तरीय बनाउन कसरी सकिएला भन्ने हुटहुटी हुनु वा सङ्गीतकार हरेक गीतमा नयाँ हुनुपर्छ भन्ने कुरा एकदमै महत्वपूर्ण र मागदर्शक कुरा हो ।

उहाँले पहिले नै कामबाटै प्रमाणित गरीसक्नुभएको छ, कि उहाँ किन अरुभन्दा फरक हुनुहुन्थ्यो भनेर । उहाँ शास्त्रीय जगबाट आउनुभएको कलाकार हुनुहुन्थ्यो । उहाँको मुवा पनि शास्त्रीय गायनको कदमै राम्रो गायक । नेपालमा गितार के हो भन्ने थाहा नहुदाको त्यो बेला उहाँ गितार बजाएर गाउनुहुन्थ्यो । त्यो कुरा नेपाली गायक सङ्गीतकारका लागि ठूलो कुरा थियो । उहाँले नेपाली सङ्गीतमा गुणस्तरीयताको खोजीमा मुम्बई, कोलकाताबाट रेकर्ड गराएर एउटा उचाइमा पुर्याउनुभयो ।

हरेक गीतमा नयाँ सङ्गीतकार अर्थात गरिसकेको कामभन्दा फरक, अझ राम्रो, अझ गुणस्तरीय बनाउन कसरी सकिएला भन्ने हुटहुटी हुनु वा सङ्गीतकार हरेक गीतमा नयाँ हुनुपर्छ भन्ने कुरा एकदमै महत्वपूर्ण र मागदर्शक कुरा हो ।

प्रेमध्वज प्रधान जगदेब जीको एउटा राम्रो शिष्यको रुपमा रहनुभयो । उहाँको सङ्गीतमा गीत गाउनु पनि भयो । नेपाली इतिहासमा उहाँले बनाएको अर्को उचाइ भनेको उहाँले भारतका चर्चित चलचित्र निर्माताहरुको माझमा प्रस्तुती दिनुभएको थियो । यो चानचुने उपलब्धि थिएन । तर पनि उहाँमा कुनै घमण्ड, कुनै उँचो श्वर तथा कुनै रिस राग मैले देखिन । उहाँ अन्तराष्ट्रिय स्तरकै सङ्गीतकर्मी हुनुहुन्थ्यो भन्ने मलाई लाग्छ ।

उहाँको सबैलाई समान ब्यवहार मलाई औधी मन पर्ने र उहाँलाई आदर गर्ने अर्को पक्ष हो । त्यत्रो सम्पन्न परिवार, सङ्गीतकार र गायकका रुपमा त्यत्रो उचाइ हासिल गरेपनि उहाँ सँधै साधारण हुनुहुन्थ्यो । उहाँ मात्र होइन उहाँको सम्पूर्ण परिवार नै सादा जीवनको पर्याय हो । आफु अग्रज भएर पनि आफु महासागर भएर पनि उहाँमा रत्तिभर घमण्ड मैले कहिल्यै देखिन । सँधै शान्त र सिम्पल ।

उहाँले अमर गुरुङको गीत पनि गाउनुभयो । नातिकाजी, शिबशंकरदेखि सबै पुस्ताको गायकसँग काम गर्नुभयो । चलचित्रका गीत पनि गाउनुभयो । उहाँ धेरैको आत्मीय हुनुभयो । सबै पुस्ताको प्यारो हुनुभयो । शक्तिबल्लभ जी, सम्भुजित बास्कोटा जी, मनराजा नकर्मी जीलगायत सबैको प्यारो हुनुभयो । मैले १७ बर्ष अघि उहाँको गीतमा काम गर्नै मौका पाएँ । गुलाम अलीको गीत गर्दा मलाई आशिर्वाद पनि दिनुभयो । ‘राजुले गुलाम अलिको गीत गर्ने मौका पायो, यो हामी सबैको लागि गर्वको कुरा हो’ भनेको म कहिल्यै विर्सिन्न । यसले मलाई ठूलो प्रेरणा दिएको थियो ।

स्वर्गीय प्रेमध्वज प्रधान कुनै पनि नेपालीले विदेशी कलाकारसँग काम गर्नु भनेको नेपाली संगितलाई माथि उठाउनु हो भन्नुहुन्थ्यो । उहाँसगँ कुनै इगो घमण्ड वा तँ सानो म ठूलो भन्ने भाव नै मैले कहिँ कतै देखिनँ । उहाँ जति कोमल र मुलायम स्वरका धनि हुनुहुन्थ्यो त्यस्तै ब्यवहारको हुनुहुन्थ्यो, साधारण, शान्त, प्रिय र कोमल । लालगेडी भन्छन् नि आँखामा राखेपनि नबिझाउने खालको हो त्यस्ते हुनुहुन्थ्यो उहाँ ।

हाम्रो पछिल्लो भेट करिब १ महिना अगाडी भएको बिन्दुयबासिनी अर्वाडमा भएको थियो । त्यो बेला उहाँले ब्यक्ति र गीतको अधिकारको कुरा भएको थियो । आफ्ना र अरुपनि सर्जकका सिर्जना बिनाअनुमति कुनै कम्पनी वा ब्यक्तिले चलाइरहेको र कमाइरहेको अर्थात् दुरुपयोग गरेको कुरामा आफुलाई दुख लागेको उहाँले बताउनुभएको थियो ।

‘हामीले यति मेहनत गरेर बनाएको हुन्छौं, हाम्रो सम्पत्ति भनेकै त्यही हो, एकबचन नसोधी आफुखुशी चलाउने, विगार्ने काम भइरहेको छ यो त हाम्रो अपमान भयो, सिर्जनाको अवमूल्यन भयो’ उहाँले भन्नुभएको थियो ‘अनियन्त्रित रुपमा भइरहेका यस्ता गलत काम रोक्नुपर्यो ।’

खासमा यो उहाँको मात्र कुरा थिएन । हामी सबै श्रष्टा सर्जकको प्रतिनिधित्व गर्ने कुरा थियो । आफ्नो अधिकारका लािग लाग्नुपर्छ भनेर एक खालको दबाब पनि थियो हामीलाई ।

१७ बर्ष अगाडी, बिजय शिबाकोटी जीले लेख्नुभएको मैले नै संगित गरेको गीत थियो, मैले उहाँसँग संगित गर्न पाएको त्यो गीत मेरो लागि एउटा गीत मात्र नभएर प्रसाद पनि हो । लकडाउनभन्दा अगाडी उहाँले मसँग कतिपय गीतहरु माग्नु पनि भएको थियो । अनि राजु एउटा गीत गराैैँ तिम्रो सङ्गीतमा पनि भन्नुभएको थियो ।

आज झल्झली सम्झीरहेको छु, उहाँले रेकर्डिङमा गाएका पलहरु, उहाँसँगको भेट र वार्तालाभ, उहाँको ढाडस र हौसला, उहाँको माया र मार्गदर्शन सबै सबै झल्झलि आँखामा भइरहेका छन् । यो बेला एउटा गित सम्झन्छु-जिन्दगीले जता लान्छ हिड्नैपर्ने रहेछ, घुम्तीसँगै आफुलाई मोड्नैपर्नै रहेछ…

यो गीत मेरा लागि प्रसाद हो र मेरो जिन्दगीको उत्कृष्ट गीत मान्छु म यसलाई ।

मलाई उहाँका सबै गीत मन पर्छन तर हाँस्ने रहरहरु आशुमा डुबे भन्ने गीत सर्वाधिक मन पर्छ । यो गीत सुन्दा प्लेब्याक गायन भनेको के हो र एउटा गायकले म्युजिक एरेन्जमेन्टलाई कतिसम्म राम्रो गर्न सक्छ कतिसम्म दक्षताका साथ गाउन सक्छ भन्ने कुरा उहाँले प्रमाणित गर्नुभएको थियो । आज सुन्दा पनि उत्तिकै मनपर्छ मलाई ।

उहाँले हामीलाई छोडेर जानुभएको कुरा पत्याउनै मुश्किल छ । तर नपत्याएर धर छैन । पत्याउन करै लागेको छ कि अब उहाँको भौतिक उपस्थिती हामीबिच छैन । उहाँको त्यो शालिन, भद्र शरीर र मखमली आवाजले भरिएको कोकिल कण्ठ भौतिक रुपमा हामीबिच छैन तर, उहाँले आफ्नो नासोका रुपमा छोडेर अर्थात हामीलाई सुम्पेर गएका गीतसंगित सँधै-सँधै हामीबिच रहने नै छन् । थाहा छैन उहाँ जत्तिकै नेपाली गीत सङ्गीतलाई योगदान गर्ने अर्को प्रेमध्वज प्रधान जन्मेला वा नजन्मेला । खैर, म मलाई प्रिय लाग्ने

तारा मात्र होइन तिमीलाई जुनै दाइजो दि दिर्उँला

माग तिमी तिमीलाई मेरो जिन्दगी नै दि दिउँला…

बोलको यही गीतमार्फत उहाँलाई श्रद्धाञ्जली दिन चाहन्छु ।

  • (सङ्गीतकार राजु सिंहसँग मकालु खबरकर्मी समिक्षा गाहाले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया