विवादबीच ‘लुसिफर राइजिङ’ पुनः मञ्चन, निर्देशक सहलेश बाहिर

काठमाडौँ । विवादका कारण बीचमै रोकिएको नाटक ‘लुसिफर राइजिङ: ए जेन–जेड प्ले’ पुनः मञ्चन हुने भएको छ ।

नाटक निर्माण संस्था मझुवा बगर जनकला मञ्च र एक थिएटर नेपालबीच नयाँ सहमति भएपछि नाटक पुनः प्रदर्शन गर्ने सहमति जुटेको हो ।

एक थिएटर नेपालले सोमबार जारी गरेको प्रेस नोटअनुसार नाटक मञ्चन रोकिएको विषयमा लामो समयदेखि उठिरहेका प्रश्न र विवादबीच सम्बन्धित पक्षहरूसँग छलफल गरी समाधान खोजिएको जनाएको छ । संस्थाले नाटक रोकिनुमा लेखक तथा निर्देशकले दाबी गरेजस्तो कुनै दबाब वा धम्कीको प्रमाण फेला नपरेको स्पष्ट पारेको छ ।

प्रेस नोटमा नाटकका लेखक तथा निर्देशक सहलेशले नाटक मञ्चन रोक्न दबाब र धम्की आएको भन्दै जानकारी गराएपछि एक थिएटर नेपालले उक्त सूचनाका आधारमा अनिश्चितकालका लागि मञ्चन रोकेको उल्लेख छ । त्यसपछि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नाटकमाथि प्रतिबन्ध लगाइएको तथा सेन्सर गरिएको भन्ने चर्चा भएको थियो ।

तर, संस्थाले अन्तिम समयसम्म लेखक–निर्देशकसँग सम्पर्क र छलफल गर्दा नाटक रोक्न दबाब वा धम्की आएको प्रमाण प्रस्तुत गर्न नसकिएको जनाएको छ । यसले नाटकको मञ्चन एकतर्फी रूपमा रोकिएको निष्कर्षमा आफूहरू पुगेको एक थिएटर नेपालको भनाइ छ ।

विवाद समाधानका लागि भएको छलफलपछि नाटक निर्माता मझुवा बगरले लेखक तथा निर्देशक सहलेशलाई नाटकबाट बर्खास्त गरेको छ । साथै, निर्माण पक्ष, कलाकार तथा अन्य सम्बन्धित पक्षबीच सहमति जुटेपछि नाटकलाई निर्माण संस्थाले पारित गरेको स्क्रिप्टअनुसार (इम्प्रोभाइज नगरी) पुनः प्रदर्शन गर्ने सहमति भएको प्रेस नोटमा उल्लेख छ ।

एक थिएटर नेपालले नाटक मञ्चनका लागि पुनः नाटकघर उपलब्ध गराउने सम्बन्धमा निर्माण पक्षसँग नयाँ सम्झौता भएको जानकारी दिएको छ । साथै, आगामी दिनमा नाटकघरसँग सम्बन्धित व्यवस्थापनबाहेक अन्य कुनै विषयमा आफू जिम्मेवार नरहने पनि स्पष्ट पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =