काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव- ‘तियानतान अवार्ड प्यानोरामा’ समापन

काठमाडौँ । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित भएका र प्रतिस्पर्धा गरेका ६ चिनियाँ फिल्महरूको काठमाडौँ प्रदर्शन बिहीबार सम्पन्न भएको छ ।

बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवर्द्धन कार्यक्रम ‘तियानतान अवार्ड प्यानोरामा’ अन्तर्गतको यस कार्यक्रम ठमेलस्थित छाया सेन्टरमा तीन दिन चलेको थियो ।

यस कार्यक्रमको आयोजना चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजक समितिको सचिवालयले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँगको साझेदारीमा गरेको हो ।

यसका साथै, नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्र, काठमाडौँ विश्वविद्यालयको कन्फ्युशियस इन्स्टिच्युट र त्रिभुवन विश्वविद्यालयको कन्फ्युशियस इन्स्टिच्युटले यस कार्यक्रममा विशेष सहयोग गरेका थिए।

तीन दिनको ९ शोमा देखाइएका ६ चिनियाँ फिल्म करिब १४ सय दर्शकले हेरेको आयोजकको दाबी छ ।

उनीहरूले आफूलाई मन परेको विभिन्न जनराका चिनियाँ फिल्महरू नेपालमा व्यावसायिक प्रदर्शनको अपेक्षा गरेका छन् ।

यस कार्यक्रम पश्चात् चिनियाँ चलचित्रकर्मीले नेपाली बजारलाई गम्भीरताका साथ लिएको महसुस भएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले अनुभव व्यक्त गरे ।

उनले भने, ‘चिनियाँ चलचित्रहरू पनि नेपालमा नियमित तथा व्यावसायिक रूपमा प्रदर्शन हुने वातावरण निर्माण हुने र नेपाली चलचित्रहरू चिनियाँ बजारमा विभिन्न माध्यमबाट प्रदर्शन हुनेमा हामी आशावादी छौँ । दुई देशको बजारमा एक–अर्कालाई प्रवेश गराउने माध्यम यस्तै कार्यक्रमहरू हुन् ।’

कार्यक्रमको पहिला दिन मङ्गलवार फिल्महरू ‘ट्रयाप्ड’, ‘बियोन्ड द स्काइज’ र ‘समर डायरी’ प्रदर्शन भएको थियो ।

दोस्रो बुधवार ‘समर डायरी’, ‘द स्याडोलेस टावर’ र ‘जर्नी टु द वेस्ट’ प्रदर्शन भएको थियो ।

अन्तिम दिन बिहीबार ‘लस्ट इन द स्टार्स’, ‘ र्सद स्याडोलेस टावर’ र ‘जर्नी टु द वेस्ट’ प्रदर्शन भएको थियो ।

उद्घाटन चलचित्र ‘ट्र्याप्ड’ को प्रदर्शन अघि, नेपालका लागि चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन तथा मिनिसटर काउन्सिलर चोउ पानले चीन र नेपालबीचको यस कार्यक्रममा मन्तव्य राखेका थिए ।

आफ्नो मन्तव्यका क्रममा जोउले भाषा र राष्ट्रिय सीमानाहरूभन्दा माथि उठ्ने एक ‘विश्वव्यापी भाषा’ का रूपमा चलचित्र रहेको उल्लेख गर्दै, यसले दुई

देशबीचको सांस्कृतिक आदानप्रदानका लागि सबै भन्दा इमानदार र जीवन्त माध्यमको रूपमा काम गर्ने बताए ।

कार्यक्रमको पहिलो दिन ‘ट्र्याप्ड’ चलचित्रका निर्देशक सागर झाङ स्वयं काठमाडौँ संस्करणमा उपस्थित भई स्थानीय दर्शकहरूसँग गहन छलफलमा सहभागी भए । अन्तरक्रियाका क्रममा एक दर्शकले यस चलचित्रको विशिष्ट सौन्दर्यशार्यस्त्रीय शैली आफूले पहिले हेर्दै आएको अन्य एसियाली सिनेमाभन्दा फरक रहेको विचार राखेका थिए। जवाफमा निर्देशक झाङले चलचित्रको त्यो चिसो र कठोर वातावरण इटालियन वेस्टरन चलचित्रहरूको प्रभावका कारण भएको स्पष्ट पारे।

यस संवादले चिनियाँ र नेपाली चलचित्रकर्मीहरूबीच एक आत्मीय र हृदयस्पर्शी भेटको रूप लियो, जसले चलचित्रको माध्यमबाट भौगोलिक र सांस्कृतिक सिमानाहरूलाई तोड्दै अर्को एउटा अर्थपूर्ण आदानप्रदानको रूपमा इतिहास रच्यो।

झिहाई लिउद्वारा निर्देशित फिल्म ‘बियोन्ड द स्काइज’ले युद्ध को कथा समेटेको छ ।

सन् १९३५ मा चिनियाँ गृह युद्धको एक घटनाबारे बनेको यो फिल्मले ४८ घण्टा भित्र शत्रुको गोलाबारुद डिपो ध्वस्त पार्ने अभियानमा निस्केका एक साहसी युवा कम्युनियुस्ट सिपाहीको कथा प्रस्तुत गर्दछ । उनका साथमा ३५० सहकर्मी सिपाहीहरूको जीवन खतरामा रहेको परिस्थितिले फिल्मलाई रोचक बनाएको छ ।

वु सुआङ सु निर्देशित ‘समर डायरी’ मरुभूमिभूमा बस्ने एक बालक आफ्नी आमा खोज्न सहर निस्किँदा विकसित परिस्थिति र उसको जीवनमा आएको परिवर्तनको कथामा बनेको छ ।

झाङ लु निर्देशित फिल्म ‘द स्याडोलेस टावर’ एक असफलताको सामना गरिरहेका वृत्तचित्र निर्मातालाई केन्द्रीय भूमिकामा छन् । बेइजिङ सहरको छायाँ र उज्यालोबीच जीवनमा असफलताहरू भोगिरहेका एक वृत्त चित्र निर्माताको रहस्यमयी युवयुतीसँगको भेट र निकटताबारेको कथामा फिल्ममा प्रस्तुत छ ।

‘जर्नी टु द वेस्ट’को निर्देशक दाशाङ कोङ हुन् । यस फिल्मका शीर्ष कलाकार एक पत्रिकाका सम्पादक हुन्छन् । पत्रिकाको स्तर खस्किए पनि उनी एलियनको खोजीमा लागिरहेका हुन्छन् । यही अवस्थामा अन्तरिक्षबाट आएको संकेतले उनी एलियनको खोजीमा पुनः सक्रिय रहेको कथामा यो फिल्म बनेको छ ।

हाँस्य खुराकहरूले यो फिल्मले मनोरञ्जन प्रदान गर्छ ।

फिल्म ‘लस्ट इन द स्टार’ सस्पेन्स क्राइम जनराको फिल्म हो । यसको कथा थाइल्यान्डमा एक गर्भवती महिलालाई भीरबाट खसालिएको वास्तविक घटनामा आधारित छ । नवविवाहित श्रीमती हनिमुनको क्रममा रहस्यमय रूपमा हराउँछिन् । सबैले उनका श्रीमान्लाई हत्याराका रूपमा शंका गर्छन् । मृत भनिएकी श्रीमती अचानक सकुशल फिर्ता भएको घटनाले आश्चर्य प्रदान गर्छ ।

यो फिल्ममा सस्पेन्स खुराक प्रशस्त पाइन्छ । चिनियाँ चलचित्रहरूले भौगोलिक सीमापार गर्दै पारिवारिक मूल्य, आस्था र स्वतन्त्रता जस्ता साझा मानवीय
भावनालाई जोड्ने काम गरिरहेका छन् । आगामी दिनमा ‘तियानतान अवार्ड प्यानोरामा’ विश्वका अन्य सहरहरूमा पुग्ने र यसले चीन–नेपाल सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने आशा आयोजकहरूले राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − ten =