चार कलाकारलाई भक्तराज आचार्य संगीत प्रतिष्ठानको सम्मान

काठमाडौँ । ‘भक्तराज राष्ट्रिय संगीत सम्मान २०८२’ बाट चार कलाकार सम्मानित भएका छन् ।
आइतबार भक्तराज आचार्य संगीत प्रतिष्ठानले एक कार्यक्रममा बीच गायिका मीरा राणा, संगीतकार सीके रसाइली, दीपक थापा र पवन मैनालीलाई सम्मान गरेको हो ।
गायिका मीरा राणा र संगीतकार सीके रसाइलीलाई नगद १ लाख १ रुपैयाँ र ताम्रपत्रसहित सम्मान गरिएको छ । उनीहरू दुवै ‘भक्तराज राष्ट्रिय संगीत सम्मान २०८२’बाट सम्मानित भएका हुन् ।
त्यस्तै, कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान २०८२’ बाट दीपक थापा र पवन मैनाली सम्मानित भए ।
उनीहरूलाई जनही नगद ५० हजार १ रुपैयाँ प्रदान गरिएको हो ।
कार्यक्रममा भक्तराजसँगै सम्मानित कलाकारका गीतमाथि सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।
भजनशिरोमणि भक्तराज आचार्यले करिब २५ वर्षको सांगीतिक यात्रामा ४ सयभन्दा बढी गीत, भजन र बालगीतमा स्वर दिएका थिए । एक दुर्घटनापछि जिब्रो काट्नुपरे पनि उनले नेपाली संगीतमा अमिट योगदान पुर्याए । २०८० सालमा उनको निधन भएको थियो । भक्तराज जीवित रहँदै स्थापना गरिएको भक्तराज आचार्य संगीत प्रतिष्ठानले उनको नाममा सम्मान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
हाल उनका छोराहरू सत्यराज र स्वरूपराज आचार्यले यसलाई निरन्तरता दिइरहेका छन् । साथै, उनकी पत्नीको नाममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ पनि स्थापना गरिएको छ ।








