‘महाराजधिराज’को गोप्य भिडियो लिक गर्ने स्पटब्वायविरुद्ध मुद्दा, ५१ लाख क्षतिपूर्ति माग

काठमाडौँ । चलचित्र ‘महाराजधिराज’का निर्माताले आफ्नै टिमका स्पटब्वाय विरुद्ध मुद्दा दायर गरेका छन् ।
छायाङ्कनको गोप्य भिडियो मोबाइलमा तानेर टिकटकमा हालेपछि कथावस्तु र गोपनीयता भङ्ग भएको भन्दै स्पटब्वाय विरुद्ध मुद्दा दायर गरिएको हो ।
फिल्मका तर्फबाट नेत्रबहादुर विष्टले अधिकारीविरुद्ध किटानी जाहेरी दिएका हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले नुवाकोटका सुदीप भनेर चिनिने २७ वर्षीय प्राविधिक मनोज अधिकारीविरुद्ध अभियोग पत्र दायर गरेको हो । चेतावनी पाएको १० मिनेटभित्रै अधिकारीले टिकटकबाट उक्त भिडियो हटाइसकेका छन् ।
प्रतिवादीबाट ५१ लाख रुपैयाँ क्षतिपूर्ति पनि माग गरिएको छ । उक्त कार्यबाट ६ दिनको छायाङ्कन खेर गएको निर्माताले दाबी गरेका छन् ।
निर्माताका अनुसार चलचित्रको ६ दिनको कूल ५१ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
निर्माताका अनुसार चलचित्रको उक्त दृश्य पुनः सुट गर्नुपर्ने हुन्छ जसका लागि थप ५१ लाख रुपैयाँ नै खर्च हुन्छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोले यो घटनामा अनुसन्धान गरिरहेको छ ।
यदि कसुर प्रमाणित भएमा उक्त स्पटब्वायलाई १ लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।








