वैदेशिक यात्राले छुटाएको प्रेमकथा ‘ए साइली’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । गायक तथा सर्जक हिमाल घर्ती मगरको गीत ‘ए साइली’ सार्वजनिक भएको छ ।

गीत वैदेशिक यात्राले छुटाएको प्रेम, अधुरो बाचा, बिछोड र वर्षौँको प्रतीक्षाको कथामा आधारित छ ।

गीतको कथा हिमाली भेगमा बस्ने साइला र साइँलीमार्फत प्रस्तुत गरिएको छ । उनीहरू एकअर्कालाई असाध्यै माया गर्थे । एकदिन साइँलीले छिट्टै फर्किने बाचा गर्दै विदेश प्रस्थान गर्छिन् । समय बित्दै जान्छ, वर्षौँ बित्छ, तर साइली फर्केर आउँदिनन् । साइला भने उनका सम्झनाहरूलाई मनमा साँचेर, उनले गरेको बाचालाई विश्वास गर्दै अझै पनि त्यही बाटो हेरिरहन्छ ।

गीतका शब्दहरूले प्रेममा प्रतीक्षा, पीडा र निराशाको भावलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ । साइँलीकै भरमा र उनकै जालमा फसेकोजस्ता शब्दहरूले गीतलाई मार्मिक बनाएको छ ।

गीतको शब्द, संगीत तथा स्वर हिमाल घर्ती मगरकै रहेको छ । गीत रवि सुनारले संगीत संयोजन गरेका छन् भने मिक्स तथा मास्टरिङ श्यामस्वेत रसाइलीले गरेका हुन् ।

म्युजिक भिडियोमा करण शाही र प्रीति गुरुङको अभिनय छ । गाउँले भेषभूषामा प्रस्तुत भएका उनीहरूले कथाको भावलाई जीवन्त बनाएका छन् । भिडियोमा साइला विगतका सम्झनामा हराउँदै दैनिक कामकाज गरिरहेको दृश्यले कथालाई थप मार्मिक बनाएको छ ।

भिडियोमा हरियाली जंगल, डाँडाकाँडा, हिमाल र ग्रामीण परिवेशका मनमोहक दृश्यहरू समेटिएका छन् ।

भिडियोको छायाङ्कन गणेश सापकोटाले गरेका छन् भने सम्पादन, कलर तथा पोस्टर डिजाइन राकेश दाहालले गरेका हुन् । गीतको परिकल्पना हिमाल घर्ती मगरको रहेको छ भने भिडियो निर्देशन विकास पुन मगरले गरेका छन् ।

हेर्नुहोस् भिडिओ:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + six =