खरेल र विन्ध्यवासिनीबीचको विवाद : जुँगाको लडाइँ मात्र कि गम्भीर प्रश्न पनि ?

  • दिक्षा कट्टेल

काठमाडौँ । अनेक कुराले चर्चामा आइरहने नेपाली संगीत बजार पछिल्लो पटक एकजना संगीत व्यवसायी पक्राउ परेका कारण चर्चामा छ, त्यो पनि सर्जकको उजुरीका कारण ।

गायक प्रमोद खरेल र विन्ध्यवासिनी म्युजिक प्रालिबीचको बिबाद बढ्दै जाँदा उजुरी र पक्राउसम्म पुगेके हो । गायक खरेलले उजुरी गरेपछि कम्पनीका सञ्चालक लिना शर्मा पक्राउ परेकी हुन् । खरेलले कम्पनीका सञ्चालकविरुद्ध मानहानी, प्रतिलिपि अधिकार र अन्य व्यापारीक सम्झौता उल्लंघन गरेको लगायत दाबीसहित मुद्दा दायर गरेका छन् ।

सर्जक र म्युजिक कम्पनीबीचको व्यापारिक सम्झौता अन्तर्गतको विवाद समाधान गर्ने भन्दा चर्काउने प्रयत्न गरिएपछि ब्यक्ति पक्राउ पर्ने अवस्था आएको र यो दुखद भएको टिप्पणी भइरहेको छ । विवाद समाधान गर्न इमान्दार प्रयत्न गरिएको भए र तँ ठूलो कि म भन्ने अहम नदेखाएको भए अहिलेको अवस्थ नआउने एक सर्जकले नाम उल्लेख नगर्ने शर्तमा बताए । आपसी समझदारीमा मिलाउन सकिने खालको विवाद भएपनि  एकले अर्काको अस्तित्व स्विकार्ने र एकले अर्कालाई सम्मानजनक व्यवहार गरेको भए आजको अवस्था नआउने उनले बताए ।

प्रतिलिपि अधिकार हननको दृष्टिकोणबाट नियाल्दा यो लडाई ‘मुख्य प्रतिलिपि अधिकार धनी’ या गीतकार संगीतकार र कम्पनीको बीचमा हुनुपथ्र्यो र यहाँ गीतकार संगीतकारलाई पाखा लगाएर ‘प्रस्तोता’ र ‘उत्पादक’ बिच को ठूलो भन्ने खालको प्रतिस्पर्धा चलिरहेको छ । कसले कसलाई थुन्न सक्छ भनेर आफ्नो आफ्नो शक्ति प्रदर्शन गर्न लागिएको जस्तो देखिन्छ ।

यो सम्झौता पाँच वर्षसम्म मान्य रहनेछ भन्ने कुरा सम्झौतापत्रको बुँदा नम्बर ११ मा उल्लेख छ । फेरी किन दुवै पक्ष आफैले गरेको लिखित सम्झौता प्रति इमानदार हुन सकेनन् ?  यहाँ प्रश्न के हो भने सम्झौताको समय सीमा भित्र खरेलले सम्झौता तोडेर कम्पनीलाई ठगे या सम्झौताको पाँच वर्ष बितेपछि पनि सम्झौता नवीकरण नगरेर अथवा सम्झौता बमोजिमको कारोबार पारदर्शी काम नगरेर विन्ध्यवासिनी म्युजिकले खरेल माथि अन्याय गर्यो ?

म्युजिक कम्पनी सञ्चालक शर्माका श्रीमान सुवास रेग्मीका अभिव्यक्ति हेर्दा खरेलले बिना अनुमति उक्त गीति सङ्ग्रहको ट्रयाक अनधिकृत रूपमा व्यावसायिक प्रयोग गरि देश विदेशका स्टेजमा प्रस्तुत गरेर आय आर्जन गरेको तर अन्य पक्षलाई रोयल्टी नबुझाएको जिकिर छ । उनले एक करोड रुपैइा क्षतिपूर्ति माग गर्दै खरेलविरुद्ध मुद्दा दायर गरेका चर्चा पनि सुनिएका थिए । तर, सम्झौता पत्रमा गायकले उक्त ट्रयाक प्रयोग गरी गरेको आय आर्जन समेतमा अन्य पक्षको हक लाग्ने छ भन्ने उल्लेख भएको देखिँदैन ।

मुख खोल्दै सर्जकहरु
शुरुदेखि नै फेसबुकमा कुराहरू बढाईचढाई गरेर पोस्ट गर्ने, अति नै गोप्य मानिने इमेलहरू समेत छरपस्ट पार्ने र मानमर्दन गर्ने कार्य म्युजिक कम्पनीका सञ्चालक रेग्मीले गरेको आरोप खरेलले लगाउँदै आएका छन् । यसबारेमा अरु कलाकारहरुपनि सन्तुष्ट छैनन् । आपसि सहमतिमा टुँग्याउनुपर्ने कुरा थप चर्काउनु दुवै पक्षका लागि अर्थात संगित  क्षेत्रकै लागि हानिकारक भएको उनीहरुको भनाइ छ । यी सबै आपसी छलफल र संवादबाट हल निस्कने विषय भएपनि दुई पक्षबिच जुँगाको लडाईँ जस्तो प्रतिष्ठाको विषय बनाइएको उनीहरु बताउँछन् । कागजमा प्रस्टसँग लेखिएका र आफैँले सहमति जनाएर हस्ताक्षर गरेका कुरालाई व्यवहारमा उतार्नु मात्र थियो । विवेकशील मानिएका कलाकार र सङ्गीतकर्मीहरूले त्यति समेत किन गर्न सकेनन् ? अहिलेको मूल प्रश्न यत्ति हो ।

लिना शर्मा पक्राउ परेपछि केही कलाकारले यसबारेमा मुख खोलेका छन् । गायक राजेश पायल राईले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरिसकेका छन् । जुन हस्ताक्षरको आधारमा शर्मालाई प्रहरीले पक्राउ गर्यो त्यो हस्ताक्षर उनलाई पक्राउ गर्न सङ्कलन गरिएकै थिएन भन्ने उनको भनाइ छ ।

फेसबुकमा जथाभाबी लेखेर गोपनीयता भङ्ग गरेको र गालीगलौज गरेको कारण सुवास रेग्मीलाई पक्राउ गर्न सङ्कलन गरिएको हस्ताक्षर लिना शर्मा पक्राउ गराउन कसरी प्रयोग भयो भनेर आफु अचम्ममा परेको राजेशको भनाइ छ ।
–शर्मा र म्युजिक कम्पनी बिरुद्ध मेरो हस्ताक्षर थिएन – राजेश पायल राई
–‘प्रमोदले झुक्याएर हस्ताक्षर गराए’ राज सिग्देल
अर्का गायक राज सिग्देलले खाली पानामा हस्ताक्षर गराएको बताएका छन् । त्यसैगरि, अग्रज गीतकार राजेन्द्र थापाले पनि लिना पक्राउ पर्नु सङ्गीत क्षेत्रकै बदनामी भएको भन्दै दुःख मनाउसहित फेसबुकमा लामो स्ट्याटस पोस्ट गरेका छन् ।

संगीत क्षेत्रसंग सम्बन्धित र अग्रजहरू यो मुद्दा आपसी छलफल र सहमतिमा टुङ्गिनुपर्छ आपसमा यसरी लड्न हुँदैन भन्ने मनसाय व्यक्त गरिरहेका छन् ।

लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्री पंगेनीले यो विषय समाधान गर्ने प्रयासहरु अहिले पनि भइरहेको बताउँछन् । मकालु खबरसँग कुराकानी गर्दै उनले भने। ‘हिजो मात्रै पनि प्रमोद खरेलसँग मेरो कुराकानी भएको थियो । मेरो पहल जहिल्यै पनि मिलाउने तर्फ नै केन्द्रित छ र रहने छ ।’ करारको मुद्धा फौजदारीतर्फ गएर उजुरी परेको कारण शर्मालाई समातिएको उनले बताए । मुद्धा दर्ता नभैसकेको अवस्थामा अझै पनि उजुरी फिर्ता गराएर मेलमिलाप गराउने भन्नेमा प्रयत्न भइरहेको उनको भनाइ छ । एउटै क्षेत्रमा रहेर मेलमिलापको बाटो छोडेर मुद्धा मामिला गर्नु राम्रो नभएको उनको टिप्पणी छ ।

विवादको चुरो
लामो समययता प्रमोद खरेल र विन्ध्यवासिनी म्युजिक बिच विवाद हुँदै आएको थियो । कम्पनी सञ्चालक रेग्मीले सामाजिक सन्जाल मार्फत पटकपटक मानहानी हुने र गोपनियताको उल्लँघन हुनेगरि सामाजिक सञ्जालमा लेख्दै आएका थिए । यसैबिच गायक खरेलले विना अनुमति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टेजमा गाइरहेको आरोपसहित एक करोड क्षतिपूर्ति पनि दाबी गरी कम्पनी रजिस्टारको कार्यालयमा उजुरी दिए । उजुरी पश्चात प्रस्तोता समाज नेपालले विज्ञप्ति निकालेर ‘प्रणय’ एल्बमको सबै अधिकार दोस्रो पक्ष (गायक प्रमोद) सँग रहेकाले कम्पनीले उजुरी गरेर गायक खरेलको अधिकार हनन् भएको भन्दै आपत्ति जनायो । तरपनि रेग्मीले सामाजिक सन्जालमा पोस्ट गर्न रोकिएनन् । यस्को प्रतिउत्तरमा खरेलले समेत सामाजिक सन्जाल मै जवाफ दिए । बिवाद बढ्दै गएपछी हाल कम्पनीकी अध्यक्ष लिना शर्मा पक्राउ परेकी छन् । रेग्मी फरार भएको प्रहरीले बताएको छ ।

करार र प्रतिलिपि अधिकारसँग जोडिएको मुद्दा भएको कारण नेपाली सङ्गीतको क्षेत्रमा यसले दीर्घकालीन महत्व राख्दछ । यो विवाद कसरि निरुपण हुने हो त्यसले भविष्यमा समेत यस्ता मुद्दा किनारा लगाउन नजिर स्थापित भने गर्नेछ ।

प्रतिक्रिया