सर्प समाउने डाक्टर

देख्नै पर्दैन, सर्प सम्झँदा मात्र पनि धेरैको आङ सिरिङ्ग गर्छ । हेर्दा मात्र होइन‚ कतिपय सर्प त विषका कारण पनि डरलाग्दा हुन्छन् । उसो त पारिस्थितिक प्रणालीका लागि सर्पमात्र नभएर हरेक जीवको महत्व छ र उनीहरू सबैको अस्तित्व अनिवार्य छ ।

अहिलेसम्म पत्ता लागेअनुसार नेपालमा ८९ प्रजातीका सर्प पाइन्छन् । तीमध्ये २० प्रजातीका सर्प विषालु छन् । अधिकांश मानिसका लागि सर्प डरलाग्दा हुने गर्छन् भने कसैका लागि मायालाग्दा । त्यस्तै सर्पलाई नजिकबाट नियाल्ने र यसबारे अनुसन्धान गर्न रुचाउने युवा हुन् लमजुङमा जन्मिएर चितवनमा हुर्किएका आमोद घिमिरे । चितवन नेपालको धेरै सर्प पाइनेमध्येको एक जिल्ला हो ।

घिमिरे पेशाले मेडिकल डाक्टर हुन् । यसबाहेक उनी सर्प संरक्षणकर्ता पनि हुन् । सर्प समाउने र त्यसलाई बासस्थानसम्म पुर्‍याएर छाडिदिने आमोदको पहिलेदेखि नै अनौठोको सोख थियो । अब यो सोख पनि ‘पेशा’ नै भइसकेको छ भन्दा खासै फरक नपर्ला ।

मान्छे सर्पको आहारा होइन‚ त्यसैले सर्प मानिसलाई नै हमला गर्ने नियतले कहिल्यै मानिसको छेउमा आउँदैन । जब मानिसको गतिविधिले सर्प डराउन थाल्छ त्यसपछि उसले आफ्नो ज्यान बचाउन मान्छेलाई टोक्छ ।

आमोद कार्यरत कालीगण्डकी अस्पतालमा उनले सर्पदंशका बिरामीको उपचार पनि गर्दै आएका छन् । विभिन्न ठाउँबाट आएका सर्पदंशका बिरामी जाँच्ने र सर्प संरक्षणमा निरन्तर काम गर्ने भएकाले उनले सर्प, यसको विशेषता र महत्वबारे धेरै ज्ञान बटुलिसकेका छन् । आफ्नो अनुभवलाई आधार मानेर आमोद भन्छन्, ‘पृथ्वी सबैको साझा घर हो । पारिस्थितिक प्रणाली चलाइराख्न सबै प्राणीको उत्तिकै महत्व रहन्छ । त्यसैले हामीलाई सर्प पनि आवश्यक पर्छ । सर्पलाई मार्नु हुँदैन ।’

सर्पले कृषि क्षेत्रमा ठुलो भूमिका खेल्ने उनी बताउँछन् । यसले बालीमा लाग्ने हानिकारक मुसा तथा तथा किरालाई आहारा बनाउछ । ‘ठुलो परिमाणमा खेती गरिने जमिनमा झन् धेरै सर्प आवश्यक पर्छ । किनभने बालीनाशक किरालाई नियन्त्रण गर्ने एक महत्वपूर्ण प्राकृतिक विधि हो सर्प । त्यसैले सर्पलाई पूजा गर्ने चलन भएको होला शायद‚’ आमोद भन्छन् ।

सर्पदंशबाट ज्यान जानुमा सर्पबारेको जानकारी नहुनु मुख्य कारण
नेपालको तराइ क्षेत्रमा सर्पको टोकाइबाट बर्सेनि २ सयभन्दा बढीको ज्यान जाने गरेको छ । हरेक वर्ष करिब २० हजार सर्पदंशका घटना हुने गरेको तथ्यांक छ । सर्पसम्बन्धी अल्पज्ञान भएर मान्छेले ज्यान गुमाएको बताउछन् सर्प संरक्षणकर्ता डाक्टर आमोद । १४ वर्षदेखि सर्पसम्बन्धी अध्ययन, सर्प संरक्षणमा काम गरिरहेको आमोदको अनुभवले यही बताउँछ ।

घरमा सर्पको आहार पाउने वातावरण बनाउनु हुँदैन । त्यसका लागि घरमा सधैं सरसफाई गर्नुपर्छ । घर सफा भयो भने सर्प लुक्न पाउँदैन । त्यसको आहारा पनि लुक्न पाउँदैन ।

बर्सेनि सर्पको टोकाइबाट ज्यान गुमाउनेहरुलाई पन्छाएर हेर्न नमिल्नेमा आमोद सहमत छन् । उनी भन्छन्, ‘उहाँहरुमा थोरै पनि सर्पसम्बन्धी ज्ञान भएको भए त्यसरी मृत्यु हुँदैनथ्यो ।’ त्यसो भए सर्पसम्बन्धी के कुरा सबैले जान्नैपर्ने हुन्छ त ? आमोद भन्छन, ‘सर्प एकदम लजालु स्वभावको प्राणी हो । यो जति डरलाग्दो देखिन्छ र मानिसहरू सर्पसँग जति डराउँछन् त्योभन्दा धेरै गुणा सर्प मान्छेसँग डराउँछ । सकेसम्म सर्प मान्छेको छेउमा आउन मन पराउँदैन । मान्छे सर्पको आहारा होइन‚ त्यसैले सर्प मानिसलाई नै हमला गर्ने नियतले कहिल्यै मानिसको छेउमा आउँदैन । जब मानिसको गतिविधिले सर्प डराउन थाल्छ त्यसपछि उसले आफ्नो ज्यान बचाउन मान्छेलाई टोक्छ ।’

No description available.

सर्प सकेसम्म मान्छेको घरसम्म नआउने भएपनि अहिले सर्पको बासस्थान सबै भौतिक संरचनाले ढाक्दै गएकाले ऊ घरतिर पनि आउन थालेको उनको भनाइ छ । आफ्नो बासस्थानमा भौतिक संरचना बनेपनि त्यसको छेउछाउमा सर्प आहारा खोज्न डुल्ने र एकपटक घरभित्र आहारा भेट्यो भने फेरि पनि आहार खोज्न आइराख्ने उनी बताउँछन् । ‘त्यसैले घरमा सर्पको आहार पाउने वातावरण बनाउनु हुँदैन । त्यसका लागि घरमा सधैं सरसफाई गर्नुपर्छ । घर सफा भयो भने सर्प लुक्न पाउँदैन । त्यसको आहारा पनि लुक्न पाउँदैन ।’ आमोदले सर्पबाट बच्ने एउटा उपाय सुनाए ।

यदि सर्प घरभित्र, चर्पीमा अथवा गोठमा पस्यो भने त्यसलाई कसरी सुरक्षित तरिकाले बाहिर निकाल्ने भन्ने पनि जान्न जरुरी हुन्छ ।

सकेसम्म सर्पलाई यत्तिकै छोडिदिनुपर्छ । त्यसो गर्नाले केही समयपछि सर्प आफैँ त्यहाँबाट निस्किन्छ । तर धेरै समयसम्म बसिरह्यो भने त्यसलाई उद्धार गनुपर्छ । कतिपय मान्छे सर्प उद्धार गर्ने कुनै ज्ञान नभई सर्प समाउन तम्सिने किसिमका हुन्छन् । त्यसो गर्नाले सर्पले टोक्ने आमोद बताउँछन् ।

‘खासमा सर्पलाई मानिसले छुनु नै हुँदैन । अहिले त सर्प उद्धारको तालिम लिएका धेरै व्यक्तीहरू छन् । प्रविधि पनि सजिलो बन्दै गएकाले सबैको पहुँचमा छ । त्यसैले सर्पको फोटो खिचेर रेस्क्यु गर्नेलाई पठाउन सकिन्छ । सहयोगको अपिल गरेपछि सम्भव भएसम्म उद्धारकर्ता आएर सर्पलाई समाउँछन् र बासस्थानसम्म छाडिदिन्छन् । आउन सम्भव नभए कसरी त्यसलाई सुरक्षित तरिकाले बासस्थानमा पठाउने, त्यो कति विषालु छ भन्ने सुझाव दिन्छन् । यही नै सर्प धपाउने सजिलो तरिका हो ।’

आफूलाई ज्ञान नहुँदा पनि सर्प छुँदा चारपटक आमोदलाई पनि सर्पले टोकेको छ । आमोद सम्झन्छन्, ‘त्यति बेला कुनै जानकारी नै थिएन । धन्न समयमै उपचार गराएकाले ज्यानचाहिँ गएन ।’

आमोदको अनुभवमा अस्पतालमा उपचार गराउन गएकामध्ये एकजनाले पनि चुप लागेर घरमै बसिरहेको अवस्थामा सर्पले टोकेर गएको भन्ने नबताएको उनले बताए । उनी भन्छन्, ‘जसले सर्पको बासस्थानमा हात हालेका छन्, अनि सर्पलाई जथाभावी छोएका छन्, सर्प कुल्चेका छन् वा उसलाई बाधा पुगेको छ‚ हो त्यस्तो अवस्थामा मात्र सर्पले टोक्ने गर्छ भन्ने यसले पनि पुष्टि हुन्छ ।’

सर्पको टोकाइबाट कसरी बच्ने त ?
गर्मी र वर्षायाममा सर्पको बिगबिगी हुने गर्छ । सर्प चिसो रगत हुने प्राणी हो । यसले मौसममा आएको सानो परिवर्तन पनि छिट्टै थाहा पाउँछ र आफ्नो शरीरको तापक्रम सन्तुलनमा राख्न हिँडडुल गर्दै बासस्थानबाट निस्कन्छ । प्रायः झाडी र फोहोर घुस्यानमा बस्ने भएकाले बाहिर खेतबारी, जङ्गलमा जाँदा जुत्ता र पन्जा लगाएर हिँड्नुपर्छ । शितल र सुरक्षित ठानेर सर्प जुत्तामा लुक्ने गरेको पनि पाइन्छ । त्यसैले जुत्ता लगाउनुअघि राम्रोसँग हेरेर मात्र लगाउनुपर्छ । तराइका घर खुल्ला हुने र झन् तराइमा बढी विषालु सर्प पाइने भएकाले सुत्दा सधैँ झुल लगाएर सुत्नुपर्छ । सर्प राति आहारा खोज्न बाहिर निस्कन्छ । त्यसैले राति टर्च वा कुनै उज्यालो बत्ती नलिई बाहिर निस्कनु हुँदैन ।

त्यस्तै सर्पलाई जिस्क्याउनु हुँदैन । घर सधैँ सफा राख्नुपर्छ‚ जसले गर्दा सर्प आउन नसकोस् । यस्ता सामान्य र आधारभूत कुरा ख्याल गर्दा मात्र पनि सर्पले टोक्ने घटना धेरै कम हुने उनको भनाइ छ ।

त्यसो त यति उपाय अपनाउनासाथ सर्पले कहिल्यै कसैलाई टोक्दै टोक्दैन भन्ने शतप्रतिशत ग्यारेन्टी भने हुँदैन । सर्पले टोकिहालेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गइहाल्नुपर्छ । सर्पले टोकेपछि बिरामीलाई अस्पताल पुर्‍याउनुभन्दा सर्प मार्नतिर ध्यान दिएर उपचारमा ढिलाइ हुँदा बिरामीको मृत्यु भएको घटना धेरै हुने गरेको उनले जानकारी दिए । सर्पले टोकेपछि हलचल गर्दा छिटो विष फैलने कुरा थाहा नहुँदा र घरेलु उपचार, टोकेको ठाउँभन्दा केही माथि पट्टी बाँध्दा विष नफैलिने भन्ने भ्रमले पनि धेरैको ज्यान गएको पाइएको छ । सर्पको टोकाइसम्बन्धी ९० प्रतिशत भ्रमलाई दिमागबाट हटाउन जरुरी रहेको डा. आमोदको भनाइ छ ।

आमोद भन्छन्, ‘मैले सन् २०१६ मा अध्ययनको क्रममा अष्ट्रेलियामा जाँदा सर्पदंश, यसबाट बच्ने उपाय र सर्प संरक्षणसम्बन्धी तालिम लिएँ । त्यहाँ सर्प समात्ने र संरक्षण गर्ने ४० वर्षको अनुभव भएका प्रशिक्षक थिए‚’ उनले भनेअनुसार एकदम अनुभवी संरक्षणकर्ता समेत सर्पदंशबाट मरेका घटना पनि छन् । सर्प समात्ने औजार पनि सही हुनुपर्छ र त्यसलाई सही तरिकाले प्रयोग गर्न जान्नुपर्छ । नत्र दुर्घटना हुन्छ । त्यसैले सुरक्षित हुनु, सतर्क हुनु जरुरी छ । सरकारले सर्पदंशविरुद्धको औषधि निःशुल्क उपलब्ध गराउँछ । त्यसैले उपचारमा ढिलाइ गर्नुहुँदैन ।’

प्रतिक्रिया

2 thoughts on “सर्प समाउने डाक्टर

  1. Salute to Dr Amod Ghimire who has not only been involved in treating snake bite patients as a medical doctor but also spreading awareness about the precautions to be taken to be safe from poisonous snakes. Special thanks to Manisha Paudel jee who actually presented all the facts related to snakes by making a good story about a Doctor who is fond of catching and preserving snakes. Best wishes to Dr Ghimire on his mission.

Leave a Reply

Your email address will not be published. Required fields are marked *