सडकमा मात्र होइन, प्रतिष्ठामा पनि ‘किङ’: नेपालमा टोयोटा ल्यान्ड क्रुजरको दबदबा

काठमाडौँ। नेपालको प्रिमियम अटो मोबाइल बजारमा टोयोटा ल्यान्ड क्रुजरप्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ। उच्च मूल्यका बाबजुद सर्वोत्कृष्ट सुरक्षा, विश्वसनीयता, उत्कृष्ट अफरोड क्षमता र सामाजिक प्रतिष्ठाको प्रतीकका रूपमा स्थापित भएकाले यो गाडी नेपाली धनाढ्य, उद्योगी–व्यवसायी तथा राजनीतिक नेतृत्वको पहिलो रोजाइ बन्न सफल भएको हो।
नेपालको चुनौतीपूर्ण भौगोलिक बनावट, सडकको अवस्था र प्रिमियम गाडीका ग्राहकको बदलिँदो आवश्यकताका कारण टोयोटाका विलासी मोडलहरू नेपाली बजारमा निकै लोकप्रिय छन्। विशेष गरी उच्च आय भएका ग्राहकहरू मूल्यभन्दा पनि सुरक्षा, आराम, र दीर्घकालीन टिकाउपनलाई ध्यान दिँदै ल्यान्ड क्रुजर २५० र ३०० सिरिजतर्फ आकर्षित भइरहेका छन्।
६ दशक लामो विरासत र बलियो नेटवर्क
नेपालमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (वैद्य अर्गनाइजेसन) ले ६ दशकभन्दा लामो समयदेखि ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ। कम्पनीका सेल्स म्यानेजर सन्तोष कार्कीका अनुसार, टोयोटाको देशव्यापी बलियो सर्भिस नेटवर्क र स्पेयर पार्ट्सको सहज उपलब्धताले गर्दा नै ग्राहकहरूमा यस ब्रान्डप्रति उच्च विश्वास कायम रहेको हो।

नेपाली बजारमा उपलब्ध मोडल र मूल्य
वैद्य अर्गनाइजेसनले सन् २०२४ मा ल्यान्ड क्रुजर २५० सिरिज नेपाली बजारमा सार्वजनिक गरेको थियो। हाल यसका दुई वटा भेरिअन्ट नेपाली बजारमा उपलब्ध छन्:
- ल्यान्ड क्रुजर २५० (टप भेरिअन्ट): रु. ३ करोड ७९ लाख
- ल्यान्ड क्रुजर २५० (अलराउन्डर भेरिअन्ट): रु. ३ करोड २२ लाख
- ल्यान्ड क्रुजर ३०० सिरिज: रु. ५ करोड ३९ लाख
“टोयोटा विश्वभर नै आफ्नो उच्च गुणस्तर, टिकाउपन र विश्वसनीयताका लागि चिनिन्छ। ठुलो लगानी गर्ने ग्राहकहरूले आफ्नो लगानीको सुरक्षा खोज्दा पहिलो रोजाइमा टोयोटा नै भेट्टाउँछन्,” ब्रान्ड रणनीतिकारहरू बताउँछन्।
उच्च ‘रिसेल भ्यालु’ र सामाजिक प्रतिष्ठा
नेपाली बजारमा प्रिमियम र लक्जरी सेग्मेन्टका गाडी खरिद गर्ने ग्राहकहरू आज पनि आफ्नो परम्परागत र भरपर्दो ब्रान्डमै अडिग देखिन्छन्। टोयोटा ल्यान्ड क्रुजर विश्वभर नै उच्च ‘रिसेल भ्यालु’ (पुनर्बिक्री मूल्य) का लागि परिचित छ। नेपालमा यसका वर्षौँ पुराना मोडलहरू पनि अझै आकर्षक मूल्यमा किनबेच हुने गरेका छन्।
कम्पनीका सिनियर म्यानेजर महेन्द्र श्रेष्ठका अनुसार, विगतका वर्षहरूको तुलनामा पछिल्लो समय प्रिमियम गाडीहरूको बिक्री ह्वात्तै बढेको छ। चालु वर्ष ल्यान्ड क्रुजर २५० र ३०० सिरिजको बिक्री निकै उत्साहजनक रहेको उनले बताए।

रेन्ज एन्जाइटीमुक्त यात्रा र सडकमा दमदार उपस्थिति
“कहिलेकाहीँ मूल्यभन्दा पनि आफ्नै सुरक्षा र आराम महत्त्वपूर्ण हुन्छ,” सिनियर म्यानेजर श्रेष्ठ भन्छन्, “इलेक्ट्रिक गाडी (ईभी) जस्तो टोयोटाका पेट्रोल-डिजेल गाडी चलाउँदा चार्ज कति बेला सकिएला वा कहाँ चार्ज गर्ने भन्ने मानसिक तनाव (एन्जाइटी) हुँदैन। जहाँ गए पनि सुरक्षित फर्किएर आइन्छ भन्ने ढुक्कपन यसमा हुन्छ।”
ल्यान्ड क्रुजर २५० र ३०० सिरिजले दुर्गम तथा कठिन सडकहरूमा पनि सहज र विलासी यात्राको अनुभव प्रदान गर्दछन्। यसमा रहेको उत्कृष्ट सस्पेन्सन, इलेकट्रोनिक पावर स्टेरिङ, र ८ देखि ९ वटासम्म एयर ब्याग सहितको अत्याधुनिक सुरक्षा प्रणालीले यसलाई प्रिमियम एसयूभी वर्गमा सर्वोत्कृष्ट बनाएको छ।
ब्रान्ड रणनीतिकार प्रशान्त खत्रीका अनुसार, “नेपाली समाजमा पैसा कमाए पछि ‘टोयोटा’ नै किन्नुपर्छ भन्ने एउटा स्थापित मान्यता छ। यसको लुक्स र ‘रोड प्रेजेन्स’ एकदमै शक्तिशाली छ। बजारमा अन्य ब्रान्डका ७ करोडसम्म पर्ने गाडीहरू आए पनि ती सामान्य कार जस्ता देखिन्छन्, तर ल्यान्ड क्रुजर गुड्दा सडकमा यसको छुट्टै शान देखिन्छ।” हाल यस गाडीका प्रमुख ग्राहकहरूमा उद्योगी, राजनीतिक नेतृत्वसँगै युवा पुस्ताको सङ्ख्या पनि उल्लेख्य छ।

कोभिडको असरपछि बजारमा पुनरागमन
विगतमा विनाशकारी भूकम्पले यसको बिक्रीमा खासै असर नगरे पनि कोभिड–१९ महामारीका बेला आर्थिक गतिविधि सुस्त हुँदा बिक्री केही प्रभावित भएको थियो। तर, महामारीपछि आर्थिक गतिविधि चलायमान भएसँगै यसको माग पुनः तीव्र गतिमा बढेको छ। यद्यपि, सेयर बजारको उतारचढावले प्रिमियम गाडीको मागमा केही हदसम्म प्रभाव पार्ने कम्पनीको भनाइ छ।
ईभी भर्सेस ल्यान्ड क्रुजर: ग्राहक वर्ग नै फरक
सहरी क्षेत्र र दैनिक छोटो दूरीको प्रयोजनका लागि ईभी (विद्युतीय सवारीसाधन) लोकप्रिय बन्दै गए पनि लामो दूरी, कठिन अफरोड यात्रा र देशैभर ढुक्कसँग यात्रा गर्न चाहने ग्राहकहरूको पहिलो रोजाइ आज पनि टोयोटाका डिजेल गाडी नै हुन्। केही समयअघि सरकारले एक्कासि युरो–६ मापदण्ड लागू गर्दा स्टकको केही अभाव भएको र पुराना युरो–३ मोडल रुचाउने ग्राहकका कारण बिक्रीमा सामान्य उतारचढाव आए पनि ल्यान्ड क्रुजरको बजार आकर्षण भने अविचलित रहेको छ।








