नेपालमा सार्वजनिक भयो नयाँ टिभिएस अपाचे आरटीआर १६० फोर भी

काठमाडौँ । टिभिएस मोटर कम्पनीले नेपालमा नयाँ टिभिएस अपाचे आरटीआर १६० फोर भी मोटरसाइकल सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो मोडल आफ्नो वर्गकै सबैभन्दा शक्तिशाली मोटरसाइकलमध्ये एक हो। यसमा पहिलो पटक प्रोजेक्टर हेडलाइट, ३७ एमएम अपसाइड–डाउन अगाडिको सस्पेन्सन, ५ इन्चको टिएफटी डिजिटल डिस्प्ले, डुअल–च्यानल एबीएस तथा स्पोर्ट, सहरी र वर्षा गरी तीन वटा राइडिङ मोड जस्ता आधुनिक सुविधा समावेश गरिएको छ।
१५९.७ घन सेन्टिमिटर क्षमताको इन्जिन रहेको यो मोटरसाइकलले स्पोर्ट मोडमा १७.५५ पीएस र सहरी तथा वर्षा मोडमा १५.६४ पीएस शक्ति उत्पादन गर्ने कम्पनीले जनाएको छ। यसमा ५ गियर, १२ लिटर क्षमताको इन्धन ट्याङ्की तथा रेसिङबाट प्रेरित प्रविधि प्रयोग गरिएको छ। कम्पनीका अनुसार नयाँ मोडलले उच्च गति, उत्कृष्ट नियन्त्रण, सुरक्षित ब्रेकिङ प्रणाली र रातिको यात्रामा अझ स्पष्ट दृश्यता प्रदान गर्नेछ।
शनिवार काठमाडौँको सतुंगलमा आयोजित सार्वजनिक कार्यक्रममा सञ्चारकर्मी, अटो मोबाइल समीक्षक, सामाजिक सञ्जाल सामग्री निर्माता तथा बाइक पारखीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नयाँ मोटरसाइकलको परीक्षण सवारीका साथै विशेष ट्र्याक राइडको समेत व्यवस्था गरिएको थियो।

कार्यक्रममा बोल्दै टिभिएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख पेम्यान कारगरले नेपाल युवा राइडरहरूको बढ्दो बजार भएकाले नयाँ अपाचे आरटीआर १६० फोर भी सार्वजनिक गरिएको बताए। जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नयाँ मोडलका अत्याधुनिक सुविधा, आकर्षक डिजाइन र रेसिङ प्रदर्शनले नेपाली युवामाझ यसको लोकप्रियता अझ बढ्ने विश्वास व्यक्त गरे।
जगदम्बा मोटर्सका अनुसार नयाँ टिभिएस अपाचे आरटीआर १६० फोर भी म्याट कालो, रेसिङ रातो र मरिन नीलो गरी तीन रङमा उपलब्ध हुनेछ। यसको शोरुम मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको छ। हाल चयन गरिएका डिलरमार्फत बिक्री सुरु गरिएको यो मोटरसाइकल आगामी जुलाईभित्र देशभर उपलब्ध गराइने कम्पनीले जनाएको छ।









