कियाको के३ सेल्टोस नेपाली बजारमा, फाइभ स्टार सुरक्षा रेटिङसहित सार्वजनिक

काठमाडौँ । किया नेपालले तेस्रो पुस्ताको ‘अल न्यु किया के३ सेल्टोस’ नेपाली बजारमा सार्वजनिक गरेको छ। काठमाडौँको गैरीधारास्थित सिल्भर ओकमा आयोजित विशेष समारोहबिच नयाँ एसयूभी सार्वजनिक गरिएको हो। कम्पनीका अनुसार नयाँ के३ प्लेटफर्ममा आधारित यो एसयूभी अघिल्लो संस्करणको तुलनामा अझ ठुलो, बलियो र फराकिलो बनाइएको छ।

यसले यात्रुलाई बढी आरामदायी क्याबिन, परिष्कृत ड्राइभिङ अनुभव तथा उत्कृष्ट कार्यक्षमता प्रदान गर्ने विश्वास गरिएको छ। भारतस्थित कियाको अत्याधुनिक उत्पादन केन्द्रमा निर्मित यो मोडल विश्वका १० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ। नयाँ सेल्टोसमा अत्याधुनिक सुरक्षा तथा प्रविधिगत सुविधाहरू समावेश गरिएको छ। यसमा ‘लेभल–२ एडभान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम (एडिएएस)’, २१ वटा मानक सुरक्षा सुविधा, ६ वटा एयर ब्याग, प्यानोरामिक डिस्प्ले र प्यानोरामिक सनरुफ जस्ता विशेषता रहेका छन्।

कम्पनीका अनुसार यी सुविधाले यसलाई आफ्नो वर्गकै सबैभन्दा धेरै सुविधा सम्पन्न एसयूभीमध्ये एक बनाएको छ। सुरक्षाको दृष्टिले पनि नयाँ सेल्टोसले उल्लेखनीय सफलता हासिल गरेको छ। यसले भारतीय कार असेसमेन्ट प्रोग्राम (बीएनसीएपी) अन्तर्गत ८१ मध्ये ७६.७ अङ्क प्राप्त गर्दै ‘फाइभ स्टार’ सुरक्षा रेटिङ हासिल गरेको छ, जुन यस सेगमेन्टकै उत्कृष्ट सुरक्षा स्कोरमध्ये एक मानिएको छ।
एसयूभी सार्वजनिक कार्यक्रममा बोल्दै किया नेपालका प्रवक्ताले नयाँ सेल्टोसले नेपाली ग्राहकलाई उन्नत प्रविधि, प्रिमियम डिजाइन र उच्चस्तरीय सुरक्षा प्रदान गर्ने कियाको प्रतिबद्धतालाई झल्काउने बताए। उनका अनुसार यस मोडलले नेपाली एसयूभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।

कम्पनीले अल न्यु किया के३ सेल्टोसलाई अघिल्लो पुस्ताको सेल्टोससँगै बिक्री गर्ने योजना बनाएको छ। यसबाट ग्राहकले मूल्य र सुविधाका आधारमा आफू अनुकूल विकल्प छनोट गर्न सक्नेछन्।
अल न्यु किया के३ सेल्टोस हाल देशभर रहेका किया नेपालका आधिकारिक डिलरमार्फत उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसको मूल्य एचटीके (ओ) भेरियन्टको ६८ लाख ९० हजार रुपैयाँ, एचटीके (ओ) आईभीटीको ७५ लाख ९० हजार रुपैयाँ, एचटीएक्स (ए) आईभीटीको ८५ लाख ९० हजार रुपैयाँ तथा एक्स–लाइन (ए) ७डीसीटी भेरियन्टको ९५ लाख ९० हजार रुपैयाँ तोकिएको छ।

कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि द्वारा सञ्चालित किया नेपालका अनुसार कम्पनीले तीन दशकभन्दा बढी समयदेखि नेपालमा किया ब्रान्डका सवारीसाधनको आधिकारिक वितरण गर्दै आएको छ। नवप्रवर्तन, विश्वसनीयता, सुरक्षा र कार्यक्षमताका कारण किया नेपाली ग्राहकमाझ लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ।









