टीभीएस ले नेपालमा सार्वजनिक गर्यो १५८ किमि रेन्ज भएको नयाँ विद्युतीय स्कुटर ‘अर्बिटर’

काठमाडौं । टीभीएस मोटर कम्पनी ले नेपालमा आफ्नो नयाँ विद्युतीय स्कुटर टीभीएस अर्बिटर सार्वजनिक गरेको छ। कम्पनीले दैनिक सहरी यात्रालाई लक्षित गर्दै ल्याएको यो स्कुटर १५८ किलोमिटर (आईडीसी) रेन्ज, ३४ लिटरको भण्डारण क्षमता, गतिको स्थिर नियन्त्रण (क्रुज कन्ट्रोल), उकालोमा रोक्ने सहायक प्रणाली (हिल होल्ड असिस्ट) तथा स्मार्ट कनेक्टेड प्रविधिसहित नेपाली बजारमा प्रवेश गरेको हो।
टीभीएस भेनु समूहअन्तर्गतको टीभीएस मोटर कम्पनीले जगदम्बा मोटर्स प्रालिमार्फत स्कुटर सार्वजनिक गर्दै यसले नेपालमा विद्युतीय सवारीसाधनको प्रयोगलाई थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ।
कम्पनीका अनुसार ३.१ किलोवाट–घण्टा (केडब्लुएच) क्षमताको ब्याट्री जडित टीभीएस अर्बिटरले एक पटकको पूर्ण चार्जमा १५८ किलोमिटर (आईडीसी) रेन्ज प्रदान गर्छ। उन्नत वायुगतिकीय (एरोडाइनामिक) डिजाइनका कारण ऊर्जा दक्षता र स्थिरता दुवैमा सुधार भएको कम्पनीको दाबी छ। उद्योगमै पहिलो पटक प्रयोग गरिएको १४ इन्चको अगाडिको पाङ्ग्रा ले उत्कृष्ट सडक समात्ने क्षमता, सहज सञ्चालन र आरामदायी यात्रा सुनिश्चित गर्ने बताइएको छ।
स्कुटरमा ३४ लिटर क्षमताको सिटमुनिको भण्डारण स्थान दिइएको छ, जहाँ दुईवटा हेल्मेट अट्ने कम्पनीले जनाएको छ। साथै ८४५ मिलिमिटर लामो समथर सिट, २९० मिलिमिटरको सीधा फुटबोर्ड र फराकिलो ह्यान्डलबारले चालक तथा पछाडि बस्ने यात्रुलाई थप आरामदायी यात्रा अनुभव दिने उल्लेख गरिएको छ।
टीभीएस अर्बिटरमा रङ्गीन एलसीडी डिजिटल डिस्प्ले, मोबाइल एपमार्फत जडान हुने सुविधा, आगमन हुने फोन कल देखाउने सुविधा, मोडअनुसार दिशा देखाउने नेभिगेसन, इन्टरनेटमार्फत स्वचालित सफ्टवेयर अद्यावधिक (ओटीए अपडेट), मोबाइलबाटै ब्याट्रीको अवस्था र ओडोमिटर जाँच, इको र पावर गरी दुईवटा सञ्चालन मोड, पुनः ऊर्जा सङ्कलन गर्ने ब्रेकिङ प्रणाली (रिजेनेरेटिभ ब्रेकिङ), गतिको स्थिर नियन्त्रण, उकालोमा रोक्ने सहायक प्रणाली तथा पार्किङ सहायक प्रणाली जस्ता सुविधा समावेश गरिएको छ।
सुरक्षाका लागि स्कुटरमा दुर्घटना सूचना, स्कुटर ढलेको सूचना, चोरी तथा तानेर लैजाँदा सूचना, भौगोलिक सीमा निर्धारण (जियोफेन्सिङ), समय सीमा निर्धारण (टाइम फेन्सिङ), प्रत्यक्ष स्थान निगरानी, सवारीसम्म पुग्ने मार्ग निर्देशन, तथा आपतकालीन सूचना प्रणाली जस्ता कनेक्टेड सुरक्षा सुविधा उपलब्ध छन्। साथै १६९ मिलिमिटर ग्राउन्ड क्लियरेन्स (भुइँबाट उचाइ), एलईडी हेडलाइट, एकीकृत दिशा सूचक बत्ती, पूर्ण चौडाइको पछाडिको बत्ती र युएसबी चार्जिङ पोर्ट पनि समावेश गरिएको छ।
टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष पेयमान कार्गर ले नेपालमा अर्बिटरको आगमनले स्वच्छ, स्मार्ट र दिगो यातायात समाधान विस्तार गर्ने कम्पनीको रणनीतिलाई थप बलियो बनाएको बताए। उनले बदलिँदो ग्राहक आवश्यकतालाई ध्यानमा राख्दै नवप्रवर्तन, उन्नत प्रविधि र दैनिक उपयोगिताको संयोजनमार्फत कम्पनीले विद्युतीय सवारीको दायरा विस्तार गरिरहेको उल्लेख गरे।
त्यस्तै, कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय उपाध्यक्ष मधु प्रकाश सिंह ले नेपाली बजारको आवश्यकता र सडक अवस्थालाई ध्यानमा राखेर अर्बिटरको परीक्षण तथा विकास गरिएको बताए। उनका अनुसार आकर्षक डिजाइन, उन्नत प्रविधि, उत्कृष्ट आराम र विश्वसनीय कार्यसम्पादनले यो स्कुटरले नेपाली उपभोक्ताको अपेक्षा पूरा गर्नेछ।
शङ्कर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवाल ले टीभीएस आइक्युबको सफलतापछि अर्बिटरले पनि नेपालको विद्युतीय दुईपाङ्ग्रे बजारमा कम्पनीको उपस्थितिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले देशव्यापी बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई उत्कृष्ट स्वामित्व अनुभव उपलब्ध गराइने बताए।
टीभीएस अर्बिटर नेपालमा नियोन सनबर्स्ट, कस्मिक टाइटेनियम र मार्सियन कपर गरी तीन रङमा उपलब्ध हुनेछ। यसको परिचयात्मक मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।








