सुरक्षा प्राथमिकतामा होन्डा, पुराना मोडलका कारमा निःशुल्क एयरब्याग इन्फ्लेटर परिवर्तन

काठमाडौँ। नेपालका लागि होन्डा कारको आधिकारिक वितरक साकार ट्रेडिङ कम्पनी प्रालिले ग्राहकको सुरक्षालाई प्राथमिकतामा राख्दै केही पुराना होन्डा कारका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकोल अभियान सञ्चालन गरेको छ।
कम्पनीका अनुसार सन् २००१ देखि २०१४ सम्म उत्पादन भएका केही होन्डा कारमा प्रयोग गरिएको एसआरएस एयरब्याग इन्फ्लेटर (SRS Airbag Inflator) मा सम्भावित प्राविधिक समस्या देखिन सक्ने भएकाले जोखिम न्यूनीकरणका लागि यो अभियान सञ्चालन गरिएको हो।
रिकोल अभियानबाट सिटी (City), सिभिक (Civic), सीआर–भी (CR-V), ज्याज (Jazz), इन्साइट (Insight), स्ट्रिम (Stream) र एकर्ड (Accord) मोडलका केही सवारीसाधन प्रभावित हुन सक्ने कम्पनीले जनाएको छ। सम्बन्धित मोडलका सवारीधनीले आफ्नो गाडी रिकोल अभियानमा परेको छ वा छैन भन्ने जानकारी होन्डाको आधिकारिक वेबसाइटमार्फत पनि जाँच गर्न सक्ने व्यवस्था गरिएको छ।
अभियानअन्तर्गत प्रभावित सवारीसाधनको एयरब्याग प्रणालीको परीक्षण तथा आवश्यक परे एयरब्याग इन्फ्लेटर परिवर्तन पूर्ण रूपमा निःशुल्क गरिने कम्पनीले जनाएको छ। यसका लागि ग्राहकले कुनै पनि प्रकारको शुल्क तिर्नुपर्ने छैन।
सम्भावित जोखिमबाट बच्न तथा सुरक्षित यात्रा सुनिश्चित गर्न सम्बन्धित मोडलका सवारीधनीलाई नजिकको होन्डा आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गरी एयरब्याग परीक्षण गराउन कम्पनीले अनुरोध गरेको छ। साथै, सर्भिस बुकिङ तथा थप जानकारीका लागि कम्पनीले उपलब्ध गराएका सम्पर्क नम्बर वा इमेलमार्फत सम्पर्क गर्न पनि आग्रह गरेको छ।








