‘बिएडब्ल्यू ई सेभेन प्रो’ लाई एलआरआर मोटर्सले नेपालमा सार्वजनिक गर्ने

काठमाडौं । नेपालका लागि Beijing Auto Works (BAW) का विद्युतीय सवारीसाधनको आधिकारिक आयातकर्ता एलआरआर मोटर्स (LRR Motors) ले विश्वव्यापी रूपमा चर्चित BAW E7 Pro मिनी इलेक्ट्रिक ह्याचब्याक नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार श्रावणको तेस्रो साताभित्र BAW E7 Pro औपचारिक रूपमा सार्वजनिक गरिनेछ ।

किफायती मूल्यमा आधुनिक विद्युतीय सवारी प्रविधि खोज्ने नेपाली ग्राहकलाई लक्षित गर्दै यो मोडल बजारमा ल्याउन लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार BAW E7 Pro ले अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय सफलता हासिल गरिसकेको छ । विशेषगरी श्रीलंकामा यो सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक प्यासेन्जर कार बनेको दाबी गरिएको छ । व्यावहारिक डिजाइन, भरपर्दो कार्यक्षमता, न्यून सञ्चालन खर्च र प्रतिस्पर्धी मूल्यका कारण यो मोडल लोकप्रिय बनेको कम्पनीको भनाइ छ ।

BAW E7 Pro मा Permanent Magnet Synchronous Electric Motor प्रयोग गरिएको छ, जसले सहज एक्सेलेरेसन, ऊर्जा–दक्ष ड्राइभिङ र राम्रो प्रतिक्रिया क्षमता प्रदान गर्ने कम्पनीले जनाएको छ । यसमा जडान गरिएको उच्च क्षमताको लिथियम ब्याट्रीले दैनिक प्रयोगका लागि भरपर्दो ड्राइभिङ रेन्ज, प्रभावकारी चार्जिङ र दीर्घकालीन टिकाउपन सुनिश्चित गर्ने दाबी गरिएको छ ।

यो गाडीको प्रमुख विशेषतामध्ये रियर–ह्विल ड्राइभ (Rear-Wheel Drive–RWD) प्रणाली पनि एक हो । कम्पनीका अनुसार यस प्रविधिले राम्रो तौल सन्तुलन, उकालो सडकमा उत्कृष्ट क्षमता, सहज ह्यान्डलिङ, साना घुम्तीमा नियन्त्रण तथा उच्च ड्राइभिङ स्थिरता प्रदान गर्छ । नेपालका उकालो–ओरालो तथा भीडभाडयुक्त सडकका लागि यो प्रविधि उपयुक्त हुने कम्पनीको विश्वास छ ।

सन् १९५१ मा स्थापना भएको BAW चीनका पुराना अटोमोबाइल उत्पादकमध्ये एक हो । कम्पनीले चिनियाँ जनमुक्ति सेना (PLA) का लागि समेत सवारीसाधन उत्पादन गर्दै आएको छ र सात दशकभन्दा लामो अटोमोबाइल इन्जिनियरिङ अनुभव रहेको जनाएको छ ।

एलआरआर मोटर्सका प्रबन्ध निर्देशक जीवन जंग शाही ले BAW E7 Pro को नेपाल आगमनलाई नेपाली ग्राहकलाई विश्वस्तरीय विद्युतीय सवारी उपलब्ध गराउने महत्वपूर्ण कदमको रूपमा व्याख्या गरेका छन् ।

उनका अनुसार श्रीलंकामा नम्बर १ बिक्री हुने इलेक्ट्रिक कारका रूपमा प्राप्त सफलताले BAW E7 Pro को क्षमता प्रमाणित गरिसकेको छ । आधुनिक प्रविधि, मजबुत निर्माण गुणस्तर र उत्कृष्ट कार्यक्षमताका कारण नेपाली ग्राहकले पनि यो गाडी मन पराउने विश्वास उनले व्यक्त गरे ।

कम्पनीका अनुसार BAW E7 Pro युवा पेशाकर्मी, पहिलोपटक विद्युतीय सवारी खरिद गर्ने ग्राहक, परिवार, उद्यमी, राइड–सेयरिङ व्यवसायी तथा दैनिक शहरी यात्राका लागि किफायती र प्रविधियुक्त गाडी खोज्ने ग्राहकलाई लक्षित गरेर विकास गरिएको हो ।

यसमा आधुनिक इन्टेरियर, स्मार्ट इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, विभिन्न सुरक्षा सुविधा, फास्ट चार्जिङ क्षमता, कम मर्मत खर्च र आरामदायी ड्राइभिङ अनुभव उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण र माग बढिरहेको अवस्थामा BAW E7 Pro नेपाली ईभी बजारमा प्रभावशाली विकल्प बन्ने विश्वास एलआरआर मोटर्सले व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =