बुद्धले थप्यो नयाँ सिरिजका एटीआर जहाज ATR-72-600

काठमाडौं । बुद्ध एयरले आज देशमै पहिलो पटक एटिआर–७२–६०० जहाज भित्र्याएको छ । आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि यो जहाजलाई आगामी महिनादेखि उडान सेवामा ल्याइने कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

बुद्ध एयरले कल साईन 9N-AOS जहाज फ्रान्सको तुलुसबाट भित्र्याएको हो । यस एटीआर–७२–६०० जहाजको उडान प्रणाली (एभियोनिक्स) पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणालीले सुसज्जित रहेका छन् ।

क्षेत्रीय विमानहरूमा यो सिरिजका जहाज कम इन्धन खपत गर्नाले यो वातावरण मैत्री मानिन्छ । त्यसैगरि जहाजभित्रको बनावट सुधारिएको हुँदा ध्वनि प्रदुषण पहिलाको सिरिजभन्दा कम हुने पनि विज्ञप्तिमा जनाइएको छ ।

RNP-ARभूउपग्रह प्रणाली
बुद्ध एयरले आयात गरेको एटीआर–७२–६०० सिरिजको विमानमा  RNP-AR (Required Navigation Performance – Authorization Required) एप्रोच प्रणाली जडान गरिएको छ । प्रमाणित भइसकेको यस प्रणालीको सहयोगमा काठमाडौं र भैरहवा विमानस्थलमा करिब ९०० मिटर भिजिबिलिटी भएको अवस्थामा पनि विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सकिन्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि RNP-AR आधारित उडान प्रक्रिया कार्यान्वयनका लागि अध्ययन गरिरहेको छ । यो प्रक्रिया लागू भएपछि करिब २००० मिटर भिजिबिलिटी रहेको अवस्थामा समेत बुद्ध एयरको यस जहाजले सुरक्षित उडान र अवतरण गर्न सम्भव हुने देखिएको छ ।

कम भिजिबिलिटीका कारण हुने उडान ढिलाइ र अवरोधहरू घट्नेछन् । यसबाट उडान सुरक्षा कायम रहनुका साथै हवाई सेवाको गुणस्तर र विश्वसनीयता पनि बढ्नेछ । एटीआर–७२–६०० विमानको आगमनले नेपालको आन्तरिक हवाई सेवामा नयाँ सम्भावना र आधुनिक प्रविधिको सुरुवात गरेको छ ।

हाल Instrument Landing System (ILS) प्रक्रियाअनुसार पोखराका लागि ३१०० मिटर, तथा काठमाडौं र भैरहवाका लागि १६०० मिटर भिजिबिलिटी आवश्यक पर्छ ।

थप जहाजहरू आउँदै
बुद्ध एयरले अर्को एक एटीआर–७२–६०० सिरिजका जहाज अगस्त अन्तिम÷सेप्टेम्बरतिर भित्र्याउने तयारी गरेको छ । नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त जहाजको कल साईन 9N-AOT रहेको छ । त्यसैगरि आगामी केही महिनाभित्र यस्तै सिरिजका थप २ जहाज भित्र्याउने योजना अनुसार कार्य गरिरहेको छ ।

बुद्ध एयरसँग हाल एउटा एटीआर–४२–३२०, पन्ध्र वटा एटिआर–७२–५०० एवं एउटा एटिआर–७२–६०० जहाजहरू रहेका छन् । बुद्ध एयरले विगतमा ३ वटा एटीआर जहाजहरू सम्पूर्ण साईकल चलाई उडानबाट विदाई गरेको थियो । त्यसमा एउटा एटीआर–४२–३२० जहाजको थोरै उडान साईकल हुँदा Part-Out का लागि युरोपको हंगेरिस्थित जहाज कम्पनीलाई बिक्री गरेको थियो ।

हवाई सेवालाई थप सहज र सरल बनाउने प्रतिबद्धता अनुरूप बुद्ध एयरले आफ्नो बेडामा नयाँ सिरिजको जहाज थप गरेको हो । थपिएको जहाजबाट उडान एवं मर्मत तालिकालाई थप सुदृढ बनाउने कम्पनीले जनाएको छ ।

बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १४० भन्दा बढी उडान भरिरहेको छ । अन्तरराष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी साताको ३ दिन एवं कोलकोता साताको ४ दिन उडान भरिरहेको छ । यसैगरि पोखराबाट भैरहवा तथा नेपालगञ्जको उडान पनि भरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 18 =