चीनको छिङहाइमा शक्तिशाली भूकम्पः एकको मृत्यु, आठ घाइते

एजेन्सी । उत्तर–पश्चिम चीनको छिङहाइ प्रान्तस्थित हाइसी मङ्गोलियाली र तिब्बती स्वायत्त प्रान्तमा गएको ६.३ म्याग्निच्युडको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ ।
उद्धार टोलीले दिएको जानकारीअनुसार मङ्गलवार राति ११ बजेसम्मको तथ्याङ्क अनुसार भूकम्पमा अन्य आठ जना घाइते भएका छन् । भूकम्पमा परी घाइते भएकाहरूलाई स्थानीय अस्पतालमा प्राथमिक उपचारपश्चात् डिस्चार्ज गरिएको उद्धार तथा राहत मुख्यालयले जनाएको छ ।
भूकम्पपछि उत्पन्न जोखिमलाई मध्यनजर गर्दै हजारौँ स्थानीय बासिन्दा, विद्यार्थी तथा शिक्षकहरूलाई सुरक्षित स्थानमा सारिएको छ । उनीहरूलाई पाँचवटा अस्थायी पुनर्वास केन्द्रहरूमा राखिएको छ, जहाँ आवश्यक खाद्यान्न तथा अन्य सामग्रीहरूको व्यवस्था गरिएको छ ।
यसैगरी, सुरक्षाका कारण स्थानीय पर्यटकीय क्षेत्रहरू बन्द गरिएको छ भने त्यहाँ रहेका पर्यटकहरूलाई नजिकैका अन्य सहरहरूमा स्थानान्तरण गरिएको छ । प्रभावित क्षेत्रमा राहत वितरण र उद्धार कार्यलाई तीव्रता दिन केन्द्र तथा स्थानीय सरकारले आवश्यक सामग्रीहरू परिचालन गरेका छन् ।
घटनास्थलमा हाल १ हजार भन्दा बढी उद्धारकर्मी र करिब २०० वटा सवारी साधन परिचालन गरिएको छ । चीन भूकम्प नेटवर्क केन्द्रकाअनुसार मङ्गलवार अपराह्न ५ः०६ बजे १० किलोमिटर गहिराइमा भूकम्प गएको थियो। भूकम्पको केन्द्रविन्दु ३७.८० डिग्री उत्तर अक्षांश र ९५.५६ डिग्री पूर्व देशान्तरमा रहेको केन्द्रले जनाएको छ।









