सिरियाको रक्कामा इस्लामिक स्टेटको आत्मघाती आक्रमण विफल, एक सुरक्षाकर्मीको मृत्यु

एजेन्सी । सिरियाली सुरक्षा बलले उत्तरी सहर रक्कास्थित आन्तरिक सुरक्षा मुख्यालयमा इस्लामिक स्टेट (आईएस) समूहले गर्न खोजेको ठूलो आक्रमणलाई विफल तुल्याएको छ ।

उक्त घटनामा परी एक सुरक्षाकर्मीको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । सिरियाली गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार इस्लामिक स्टेट समूहसँग आबद्ध दुई जना आत्मघाती आक्रमणकारीले आन्तरिक सुरक्षा नेतृत्वको मुख्यालयलाई लक्षित गरी आतंकवादी आक्रमणको प्रयास गरेका थिए ।
सुरक्षा बलले उच्च शतर्कताका साथ आक्रमणकारीको प्रतिकार गरेको र सो क्रममा एक जनालाई तटस्थ (मारिएको) बनाइएको अधिकारीहरूले बताएका छन् । अर्का आक्रमणकारीले सुरक्षाकर्मीको घेराबन्दीमा परेपछि आफूसँगै रहेको विष्फोटक पदार्थ जडित ज्याकेट विष्फोट गराएका थिए ।

उक्त विष्फोटमा परी आन्तरिक सुरक्षा बलका एक सदस्यको मृत्यु भएको छ भने घाइते भएका तीन जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । गृह मन्त्रालयले यसअघि दुई जनाको मृत्यु भएको प्रारम्भिक जानकारी दिए पनि पछि हताहतीको संख्या सच्याएको थियो। घटनामा कुनै पनि सर्वसाधारण घाइते नभएको जनाइएको छ ।

डिसेम्बर २०२४ मा पूर्व राष्ट्रपति बसर अल–असदको सरकार ढलेपछिको राजनीतिक संक्रमणको समयमा सिरियाली अधिकारीहरूले देशका विभिन्न भागमा इस्लामिक स्टेटका स्लिपर सेल विरुद्ध सुरक्षा कारबाहीलाई निरन्तरता दिइरहेका छन् । सोही क्रममा यो आक्रमण भएको हो ।

विगतमा सिरियामा इस्लामिक स्टेट समूहको मुख्य केन्द्रका रूपमा रहेको रक्कामा चरमपन्थी संगठनहरू विरुद्ध वर्षौँदेखि सैन्य कारबाही जारी रहे पनि त्यहाँ अझै विद्रोही आक्रमणको जोखिम कायम छ ।

सिरियाली अधिकारीहरूले मुलुकको संक्रमणकालीन अस्थिरता र सुरक्षा रिक्तताको फाइदा उठाउन चरमपन्थी समूहहरूले प्रयास गरिरहेको भन्दै बारम्बार चेतावनी दिँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 6 =