कङ्गोमा इबोलाको प्रकोप बढ्दोः सङ्क्रमितको सङ्ख्या ८३७ पुग्यो

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको प्रकोप तीव्र रूपमा फैलिँदै गएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार हालसम्म सङ्क्रमित हुनेहरूको सङ्ख्या ८३७ पुगेको छ भने यस रोगका कारण १९६ जनाले ज्यान गुमाइसकेका छन् ।
कङ्गोको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार सङ्क्रमितमध्ये मृत्युदर २३.४ प्रतिशत रहेको छ । हालसम्म ४९ जना बिरामी उपचारपछि निको भएका छन् भने ३७६ जनालाई उच्च निगरानीमा (आइसोलेसन) राखेर उपचार गरिँदैछ ।
बुन्डिबुग्यो प्रजातिको इबोला भाइरसबाट शुरु भएको यो प्रकोप विशेषगरी इतुरी प्रान्तको बुनिया, मोंगब्वालु र रम्पारा जस्ता मुख्य हटस्पट क्षेत्रहरूमा केन्द्रित रहेको पाइएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलवार सार्वजनिक गरेको प्रतिवेदनमा इबोलाको सङ्क्रमण भौगोलिक रूपमा विस्तार भइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
विशेषगरी सहरी र खानी क्षेत्रहरूमा सङ्क्रमण फैलिनु, असुरक्षाका कारण स्वास्थ्यकर्मीहरू सबै ठाउँमा पुग्न नसक्नु र समुदायमा रहेको अविश्वासका कारण नियन्त्रण कार्य थप चुनौतीपूर्ण बनेको डब्लुएचओले जनाएको छ। सङ्क्रमण दर बढ्दै जाँदा यसले कङ्गोभित्र मात्र नभई छिमेकी मुलुकहरूमा समेत जोखिम बढाएको स्वास्थ्य विज्ञहरूको चेतावनी छ ।
यसैबीच, इबोला सङ्क्रमणबाट निको भएकी चिकित्सक मिरेल कायिन्दोले आफ्नो अनुभव सुनाउँदै भने, ‘शुरुवाती चरणमा मृत्युको उच्च दर र जटिलताका कारण अवस्था निकै तनावपूर्ण थियो। तर, जनचेतना र चिकित्सकहरूको सल्लाह पूर्ण रूपमा पालना गरेकाले म यस रोगलाई जितेर घर फर्कन सफल भएँ ।’
कङ्गो सरकारले गत मे १५ मा आधिकारिक रूपमा इबोला प्रकोपको घोषणा गरेको थियो। कङ्गोको पूर्वी भाग लामो समयदेखि सशस्त्र द्वन्द्वबाट प्रभावित रहेकाले हिंसा, विस्थापन र कमजोर स्वास्थ्य पूर्वाधारका कारण इबोला नियन्त्रणका प्रयासहरूमा लगातार बाधा पुगिरहेको छ ।









