जापानको केन्द्रिय बैंकद्वारा ब्याजदरमा वृद्धि, ३१ वर्ष यताकै उच्च बिन्दुमा

एजेन्सी । जापानको केन्द्रीय बैंक ‘बैंक अफ जापान’ (बीओजे) ले नीतिगत ब्याजदरमा वृद्धि गरी ३१ वर्षयताकै उच्च बिन्दुमा पुर्याएको छ । मंगलबार सम्पन्न दुई दिने बोर्ड बैठकले अल्पकालीन ब्याजदरलाई ०.७५ प्रतिशतबाट बढाएर १.० प्रतिशत कायम गर्ने निर्णय गरेको हो ।

सन् १९९५ यताकै यो उच्च ब्याजदर हो । बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्न र कमजोर बन्दै गएको जापानी येनलाई बल पुर्याउन केन्द्रिय बैंकले यो कदम चालेको बताइएको छ ।

गभर्नर काजुओ उएडा कलेजोको संक्रमणका कारण अस्पताल भर्ना भएकाले बैठकमा अनुपस्थित रहे तापनि बोर्डका अन्य सदस्यहरूले ब्याजदर वृद्धिको सर्वसम्मत निर्णय लिएका हुन् । सन् २०२४ मार्चमा नकारात्मक ब्याजदर नीति अन्त्य गरेयता यो पाँचौँ पटकको ब्याजदर वृद्धि हो ।

यसअघि सन् २०२५ डिसेम्बरमा अन्तिम पटक ब्याजदर बढाइएको थियो । केन्द्रिय बैंकले जारी गरेको विज्ञप्ति अनुसार कच्चा तेलको मूल्यमा भएको बढोत्तरीका कारण व्यावसायिक कारोबारको लागत बढ्न गई उपभोक्ता मूल्यमा समेत चाप पर्ने जोखिम देखिएको छ ।

आधारभुत मुद्रास्फीति बैंकको २ प्रतिशतको लक्ष्यभन्दा माथि जान सक्ने खतरालाई मध्यनजर गर्दै नीतिगत दर बढाइएको बैंकले स्पष्ट पारेको छ । आगामी दिनमा पनि आर्थिक गतिविधि, मूल्य वृद्धि र वित्तीय अवस्थालाई हेरेर थप ब्याजदर बढाउन सकिने संकेत बैंकले दिएको छ ।

यसैबीच, बीओजेले सरकारी ऋणपत्र खरिदको दरलाई पनि क्रमिक रूपमा घटाउँदै लैजाने निर्णय गरेको छ । दीर्घकालीन ब्याजदरमा आएको उतारचढावका बीच बजार स्थिरतालाई प्राथमिकता दिँदै सन् २०२७ मार्चसम्म हालकै गतिमा र त्यसपछि मात्र कटौतीको दरलाई केही कम गरिने विज्ञप्तिमा उल्लेख छ ।

मौद्रिक नीतिलाई सामान्यीकरण गर्ने प्रयास स्वरूप बैंकले अगस्ट २०२४ देखि नै मासिक ऋणपत्र खरिदमा कटौती गर्न सुरु गरिसकेको छ । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उपगभर्नर सिनिची उचिडाले अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सम्झौता भएपनि आपूर्ति शृंखलाको पुनरुत्थानलगायतका विषयमा अझै आर्थिक अनिश्चितता कायमै रहेको बताए ।

उनले कच्चा तेलको मूल्य वृद्धिको असर अन्य उत्पादनमा परेर महँगी बढ्नसक्ने जोखिम रहेको भन्दै २ प्रतिशतको मुद्रास्फीति लक्ष्य हासिल गर्न बैंकले नीतिगत दरलाई निरन्तरता दिने स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =