…अब कहिल्यै सुनिने छैन ‘राते काइँला’को त्यो गर्जन

काठमाडौं । नेपाली चलचित्र जगतका एक वरिष्ठ कलाकार सुनिल थापाको शनिबार बिहान निधन भएको छ । ६८ वर्षीय थापाको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
बिहान एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल पुर्याइएको थियो । अस्पताल स्रोतका अनुसार, उनलाई ‘अनकन्सियस’ (बेहोस) अवस्थामा अस्पताल ल्याइएको थियो भने बिहान ७:४४ बजे ईसीजी गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको निधनको प्राथमिक कारण ‘कार्डियाक अरेस्ट’ (हृदयघात) रहेको अस्पतालले जनाएको छ ।
वि.सं. २०१७ (सन् १९६०) मा दाङमा जन्मिएका सुनिल थापा नेपाली चलचित्र इतिहासका त्यस्ता पात्र हुन्, जसले खलनायकी भूमिकालाई नयाँ उचाइ र पहिचान दिए । सन् १९८१ मा बलिउडको सुपरहिट चलचित्र ‘एक दुजे के लिए’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थापाले करिब चार दशक लामो करियरमा १०० भन्दा बढी नेपाली, हिन्दी र भोजपुरी चलचित्रमा अभिनय गरे ।
विशेषगरी वि.सं. २०४८ सालमा प्रदर्शनमा आएको चलचित्र ‘चिनो’ मा उनले निभाएको ‘राते काइँला’ को भूमिका यति शक्तिशाली थियो कि, आजसम्म पनि उनलाई आम दर्शकले सोही नामबाट स्मरण गर्ने गर्दछन् । उनको ठूलो शरीर, गहिरो र रौद्र आवाज अनि प्रभावशाली अभिनय शैलीले उनलाई नेपाली सिनेमाको एक अपरिहार्य ‘ब्रान्ड’ बनाएको थियो ।
अन्तर्राष्ट्रिय छवि र बहुआयामिक व्यक्तित्व
थापा केवल एक कलाकार मात्र थिएनन्, उनी एक पूर्व खेलाडी, मोडेल र पत्रकार समेत थिए । सन् १९७० को दशकमा मुम्बईमा मोडलिङ र फुटबलमा सक्रिय थापाले ‘जेएस म्यागाजिन’का लागि फोटो पत्रकारका रूपमा काम गरेका थिए । उनले सन् १९७४ मा भुटानका राजाको राज्याभिषेक कार्यक्रमलाई फोटो पत्रकारकै रूपमा कभर गरेका थिए ।
बलिउडमा पुनः बलियो पुनरागमन गर्दै उनले सन् २०१४ मा रिलिज भएको चलचित्र ‘मेरी कोम’ मा प्रियंका चोपडाको गुरु (कोच) को भूमिका निर्वाह गरे । उक्त भूमिकाका लागि उनले प्रतिष्ठित ‘फिल्मफेयर अवार्ड’ मा सर्वश्रेष्ठ सहायक अभिनेताको मनोनयन समेत प्राप्त गरेका थिए ।
उनको अभिनय यात्रामा देश, दक्षिणा, बलिदान, बाटोमुनिको फूल, मुखौटा, क्याप्टेन जस्ता कैयौँ अविष्मरणीय चलचित्रहरू रहेका छन् । कला क्षेत्रमा उनले पुर्याएको योगदान स्वरूप उनलाई दुई पटक ‘मोसन पिक्चर्स अवार्ड’ र अन्तर्राष्ट्रिय मञ्चमा ‘फेस्टिभल अफ ग्लोब लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको थियो ।
थापाको निधनले नेपाली चलचित्र क्षेत्रले एक अविभावक र प्रेरणादायी व्यक्तित्व गुमाएको छ । उनको परिवारमा श्रीमती राजनी लिम्बू थापा र दुई सन्तान रहेका छन् । नेपाली कला आकाशमा ‘राते काइँला’ को त्यो गर्जन र ओझिलो उपस्थिति सधैँका लागि शान्त भएको छ, तर उनले छोडेर गएका जीवन्त पात्रहरू नेपाली चलचित्रको इतिहासमा सधैँ अमर रहनेछन् ।
हार्दिक श्रद्धाञ्जली सुनिल थापा !








