चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियरमा रसाए कलाकारदेखि दर्शकहरुका आँखा (तस्बिरहरू)

काठमाडौं । पारिवारिक सम्बन्धको कथा भन्ने चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को प्रिमियर शोमा अधिकांशका आँखा रसाएका छन् । बुधबार राजधानीको नयाँ बानेश्वरस्थित वान सिनेमाजमा आयोजित विशेष प्रदर्शनमा सिने क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू र दर्शकहरूले चलचित्र हेरेपछि आफ्नो भावनालाई रोक्न सकेनन् ।

प्रिमियरमा अग्रज कलाकार सुनिल थापा, वरिष्ठ छायांकार गौरीशंकर धुंजु, कलाकार जितु नेपाल, कमलमणी नेपाल, लोकेन्द्र लेखक, कवि तथा गीतकार विप्लव प्रतीक, नायक किरण श्रेष्ठ र स्क्रिप्ट राइटर प्रदीप भारद्वाज लगायत सिनेमा क्षेत्रका अन्य धेरै व्यक्तित्वहरूको उपस्थिति थियो ।

चलचित्रले बुवा, आमा र दाजुभाइबीचको पारिवारिक सम्बन्ध, प्रेम, सम्झना र जिम्मेवारीको कथालाई अत्यन्तै मार्मिक ढंगले प्रस्तुत गरेको छ । चलचित्र हेरिरहँदा धेरै दर्शकहरू कथासँग भावनात्मक रूपमा जोडिएर भावुक बनेका थिए । चलचित्रकी कलाकार केकी अधिकारी र गायिका अञ्जु पन्त लगायत धेरै जना चलचित्र हेर्दाहेर्दै रोइरहेका देखिन्थे ।

हलबाट बाहिरिँदा अधिकांशको आँखामा आँसु थियो । उनीहरूले चलचित्रले आफ्नै परिवारको याद दिलाएको र मनलाई छोएको प्रतिक्रिया दिए । ‘बुवाआमाले सन्तानका लागि गर्ने त्याग र सन्तानले उनीहरूप्रति निभाउनुपर्ने जिम्मेवारीको कथा हेर्दा आँसु थाम्नै सकिएन,’ एक दर्शकले भने । चलचित्रले सम्बन्धको महत्व, सपना पूरा गर्न गरिने संघर्ष र पारिवारिक मूल्यमान्यतालाई सशक्त रूपमा प्रस्तुत गरेको छ, जसले यसलाई एक भावनात्मक रूपमा बलियो चलचित्र बनाएको छ ।

चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भोलि, भदौ ६ गते, शुक्रबारदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुँदैछ । यस चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा र सुमन थापा लगायतका कलाकारहरूको अभिनय छ । ‘पूर्णबहादुरको सारंगी’ जस्तो सफल चलचित्रपछि विजय बरालको मुख्य भूमिकामा रहेको यो वर्षको पहिलो चलचित्र हो ।

पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेको यस चलचित्रलाई हिमाल न्यौपानेले निर्देशन गरेका हुन् । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । चलचित्रमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको छ भने नवीन गुरुङ र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ । काफिया फिल्म्सले चलचित्रको वितरणको जिम्मा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =