एकतालाई मूल मन्त्र बनाएर अघि बढौँ, काँग्रेसलाई कसैले कमजोर पार्न सक्दैन : रमेश लेखक

काठमाडौँ । गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकले एकतालाई मूल मन्त्र बनाएर अघि बढ्दा काँग्रेसलाई कसैले कमजोर पार्न नसक्ने बताएका छन् ।

बुधवार काठमाडौँ नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाली काँग्रेस एउटै मूल मन्त्रका साथ अघि बढ्ने हो भने काँग्रेसलाई कसैले कमजोर बनाउन नसक्ने बताए । लोकतन्त्र राम्रो व्यवस्था रहेको बताउँदै यो व्यवस्था ल्याउन धेरै सपुतहरूको ठुलो योगदान रहेको बताए । उनले एकता कुनै अमूर्त विषय नभएको बताए । काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले विचारमा फरक हुनसक्ने बताए ।

उनले मतान्तरहरूमा पार्टीभित्रै बसेर छलफल गर्नुपर्ने जरुरी रहेको बताए । पार्टी भन्दा बाहिर प्रतिस्पर्धा भएको बेलामा पार्टी एक ढिक्का भएर उभिनुपर्ने बताए ।

गृहमन्त्री लेखकले भने ‘हामीले लोकतन्त्र,राम्रो व्यवस्थाको कुरा हामी गर्दछौँ । जुन यो राम्रो व्यवस्था मुलुकले प्राप्त गरेको छ, यो त्यत्तिकै आएको होइन । जस्तो एउटा सुन्दर भवन, सुन्दर घर हामी देख्छौँ, त्यसको माटोभित्र जग हुन्छ । पिल्लरका रूपमा होस्, की वालका रूपमा होस् । हामीले बाहिरको घर मात्रै देख्छौँ तर त्यो भवन माटोभित्र भएको जगमा उभिएको हुन्छ । यदि त्यो जगलाई बिर्सियो भने त्यो घर ढल्छ । त्यसकारण आज जुन व्यवस्था यो लोकतन्त्रमा हामी छौँ । यो लोकतन्त्रको प्राप्ति प्रजातन्त्रका सेनानी, लोकतन्त्रका सेनानीहरूबाट प्राप्त भएको हो । लोकतन्त्रको जगलाई, आधारलाई स्मरण गर्नुपर्छ । यो हजारौँ सपुतको जगका कारण नै निर्माण भएको हो । लोकतन्त्रका लागि लढेका प्रजातन्त्रका सेनानीहरूलाई स्मरण गर्ने, उहाँहरूका विचारलाई फैल्याउने काम पुनित कार्य हो । नेपाली काँग्रेस एउटै मूल मन्त्रका साथ अघि बढ्ने हो भने काँग्रेसमा पनि समस्या हुँदैन र काँग्रेसलाई कसैले पनि कमजोर गर्न सक्दैन । त्यसको एउटै मूल मन्त्र भनेको काँग्रेसभित्र एकता एकता एकता नै हो ।’

गृहमन्त्री लेखकले काँग्रेसका नेताहरू आफैँ आपसमा कमजोर बनाउने काममा लाग्दा पार्टी पनि कमजोर हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =