भाइरल भिडिओबारे बब्लु गुप्ता: ‘जोशमा ट्राफिक नियम उल्लङ्घन भयो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्ताले आफुले ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गरेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको आफ्नो मोटरसाइकल स्टन्टसम्बन्धी भिडियोप्रति प्रतिक्रिया दिँदै गुप्ताले बाल्यकाल बिताएको ठाउँमा पुगेपछि पुराना सम्झनाहरू ताजा भएको र त्यसैको उत्साहमा भिडियो बनाउने क्रममा गल्ती भएको बताएका हुन् ।

‘बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भए । त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लङ्घन गरेको रहेछु भन्ने कुरा मैले आफैं महसुस गरेको छु,’ उनले भनेका छन् ।

उनले उक्त घटनाबाट आफूले पाठ सिकेको उल्लेख गर्दै अब आफ्नो ऊर्जा जनताको सेवामा केन्द्रित गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

‘अब यही जोश र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले लेखेका छन् ।

सांसद गुप्ताले आफूबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दै सबैसँग माफी पनि मागेका छन् । ‘मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =