सकारात्मक र सिर्जनशील समाचार सम्प्रेषणमा प्रहरी महानिरीक्षकको जोड

काठमाडाैं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय आम नागरिकमा अध्ययनको शैली परिवर्तन हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै प्रविधिमैत्री र प्रभावकारी सूचना प्रवाहमा जोड दिएका छन् ।

शुक्रवार मेट्रो ट्राफिक एफएमको १४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । महानिरीक्षक कार्कीले मानिसहरूमा लामो लेख वा समाचार पढ्ने रुचि घट्दै गएको र छोटो सामग्रीप्रति आकर्षण बढेको उल्लेख गरे ।

सामाजिक सञ्चारमाध्यम र टिकटक जस्ता प्लेटफर्मले गर्दा नागरिकको सूचना ग्रहण गर्ने बानी बदलिएको भन्दै उनले नेपाल प्रहरीले पनि सोही अनुरूप आफूलाई परिमार्जन गरिरहेको जानकारी दिए ।

उनकाअनुसार, प्रहरीले सामाजिक सञ्चालमार्फत छोटा र प्रभावकारी भिडियो क्लिपहरू सार्वजनिक गरी नागरिकलाई छिटो र सरल ढंगले सूचना पुर्याउने प्रयास गरिरहेको छ । उनले सञ्चारकर्मी र सञ्चार माध्यमहरूलाई राजनीति, कुटनीति र द्वन्द्वका समाचारमा मात्र केन्द्रित नभई समाजका सिर्जनशील र सकारात्मक पक्षहरूलाई पनि प्राथमिकता दिन आग्रह गरे ।

उनले कृषि, पर्यटन, सुरक्षाका उत्कृष्ट कार्य र आधुनिक सिर्जनाका विविध विधामा लागेका आम नागरिकका सफलताका कथाहरूलाई सञ्चार माध्यमले स्थान दिनुपर्नेमा जोड दिए । यस्ता सकारात्मक समाचारले समाजलाई सभ्य, सचेत र उद्यमशील बनाउन प्रेरित गर्ने र समग्र समाजलाई नै रचनात्मकतातर्फ मोडिने अभिलाषा उनले व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =