कानूनी रिक्तता अन्त्य गर्न फास्ट ट्रयाक र अध्यादेशको सहारा लिनुपर्छ : सांसद आचार्य

काठमाडौं । नेकपा (एमाले) का सांसद भीमप्रसाद आचार्यले मुलुकलाई लामो समयसम्म कानूनविहीन अवस्थामा राख्न नहुने भन्दै अत्यावश्यक विधेयकहरूलाई ‘फास्ट ट्रयाक’मा अघि बढाउनुपर्नेमा जोड दिएका छन् । उनले कानून निर्माणमा भइरहेको ढिलासुस्तीले देशको विकास र सुशासनलाई बन्धक बनाएको तर्क गरे ।

शुक्रबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद आचार्यले सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत प्रतिबद्धता जनाएका सबै विधेयक यही संसदीय अधिवेशनबाट पारित गर्नुपर्ने धारणा राखे । उनले कुनै कारणवश महत्वपूर्ण विधेयकहरू पारित हुन नसके देशलाई अनिर्णयको बन्दी नबनाई अध्यादेशमार्फत भए पनि बाटो खोल्नुपर्ने बताए ।

‘वर्षौंसम्म कानूनविहीन ढंगले मुलुकलाई बन्धक बनाउन सकिँदैन, यो मिल्दै मिल्दैन,’ सांसद आचार्यले भने, ‘म त कानूनहरू सबै फास्ट ट्रयाकमै बनाऔँ भन्ने पक्षमा छु । संसदमा पनि बारम्बार भनेको छु, जति पनि विधेयक ल्याउने प्रतिबद्धता गरिएको छ, ती सबै यही अधिवेशनमा पारित गरौँ । यदि महत्वपूर्ण विधेयकहरू पास हुन सकेनन् भने अध्यादेशबाट ल्याएर भए पनि काम अघि बढाउनुपर्छ ।’

द्रुत गतिमा कानून निर्माण गर्ने नाममा पर्याप्त छलफल र गुणस्तरमा सम्झौता गर्न नहुनेमा पनि उनले सचेत गराए । कानून हतारमा बनाउँदा त्यसको प्रभावकारितामा प्रश्न उठ्न सक्ने भन्दै उनले भने, ‘कानून पूर्ण रूपमा राम्रो बनाउनुपर्छ । छिटो गर्ने नाममा विषयवस्तुमाथि छलफल नै नगरी अघि बढ्न मिल्दैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 3 =