सय दिनमा गर्ने कामहरूको योजना सार्वजनिक गर्दै सरकार

काठमाडौं । नेपाल सरकारले सय दिनमा गर्ने कामहरुको योजना सार्वजनिक गर्ने भएको छ ।

मुख्यसचिव लीलादेवी गड्तौलाले सरकारले सय दिनमा सम्पादन गर्ने कामहरुको योजना छिट्टै सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिइन् ।

नेपाल उद्योग परिसंघले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गत वर्ष भन्दा यस वर्ष सरकारले बजेटमा उल्लेखित कार्यक्रम कार्यान्वयनमा बढी सफलता हात पर्ने दाबी समेत गरिन् ।

उनले भनिन्–‘नेपाल सरकारले अहिलेको सरकारले सय दिन भित्रमा गर्ने काम के के हुन् ? भन्ने कुरा अब छिट्टै नै बाहिर ल्याउँदैछ । त्यो सय दिन भित्र गर्ने काम धेरै नै यहाँ पर्ने मैले महशुस गरेको छु ।’

गत वर्षभन्दा यस वर्ष बजेटमा उल्लेखित कार्यक्रमहरु कार्यान्वयन हुने र बजेट पनि खर्च हुने मुख्यसचिव गड्तौलाको दाबी थियो । उनले आफूले बजेटबारे धेरै बोल्न नमिल्ने तर्क समेत गरन् ।

सम्बन्धित मन्त्रालयले बजेट कार्यान्वयन गर्ने भएकाले आफूले त्यसमा बढी बोल्न उपयुक्त नहुने मुख्य सचिव गडतौलाको स्पष्टिकरण थियो ।

‘यो बजेटको बारेमा मैले धेरै बोल्नु पनि हुँदैन । जसले जे मन लाग्यो, जतिखेर जहाँ बोल्ने पनि होइन जस्तो लाग्छ । बजेट अर्थ मन्त्रालयबाटै बोल्नुपर्ने हो । सम्बन्धित मन्त्रालयले नै जान्दछ । मुख्यसचिवले कुनै पनि फाईल सदर गर्नुपर्दै,’उनले भनिन्,‘धेरैलाई भ्रम छ–सबै फाईल मुख्य सचिवले सदर गर्छ भन्ने । तर त्यो होइन । मुख्य सचिवले क्याविनेटमा गर्ने हो । बाँकि अरु सम्बन्धित मन्त्रालयले नै गर्ने हो । पदमा पुगे भन्दैमा जो पायो बोलेर हिँड्नु हुँदैन भन्ने लाग्छ मलाई ।’

मुख्यसचिव गडतौलाले आफ्नो जिम्मेवारी पूरा गर्न सचिवहरुलाई निर्देशन समेत दिइन् । उनले जिम्मेवार निकायमा बस्नेहरुले बोल्ने भन्दा पनि काम गरेर परिणाम देखाउन केन्द्रित हुनुपर्ने बताइन् ।

‘आवश्यकताअनुसार जिम्मेवारी दिन्छ । त्यसैले सरकारले सिटिईभिटी छोडेर अर्को किन गर्‍यो भनेर भन्नुहुँदैन । तपाईले आफ्नो जिम्मेवारी पूर्णरुपमा पूरा गर्नुस् । तपाई आफ्नो काम पूरा गर्नुभयो भने कसैले पनि प्रश्न नै गर्दैन,’उनले भनिन्,‘अब गत वर्षभन्दा यस वर्ष पक्कै पनि बजेटमा यो कार्यक्रमहरु पनि कार्यान्वयन हुन्छन् । बजेट पनि खर्च गर्छ । सिएनआईले वाच गरेर अर्को चोटीको गोलो डाटामा कामै नगरेको भन्दै आउँदैन होला भन्ने मलाई लाग्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − nine =