काँग्रेसद्वारा निर्वाचन ब्युरो गठन, विधानमार्फत रूपान्तरण र पुस्तान्तरणमा जोड

काठमाडौं । नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको नयाँ विधानले काँग्रेसलाई रूपान्तरण र पुस्तान्तरणको दिशामा अगाडि बढाएको बताएकी छन् ।
४४ औँ वीपी स्मृति दिवसका अवसरमा बिहीवार आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी अब नयाँ कार्यशैलीका साथ अघि बढ्न लागेको र यस क्रममा विधानको सफल कार्यान्वयन गर्नु पार्टीका लागि ‘अग्निपरीक्षा’ भएको उल्लेख गरेकी हुन् । उपसभापति भुसालले पार्टीभित्र सभापति गगनकुमार थापाको परिकल्पनाअनुसार ‘इलेक्सन ब्युरो’ टिम गठन भएको जानकारी दिइन् ।
उक्त ब्युरोको उपसंयोजकमा पूर्वसहमहामन्त्री एवं केन्द्रीय सदस्य जीवन परियार रहेका छन् । ब्युरोमा सम्बन्धित विषयका विज्ञ केन्द्रीय सदस्यहरूका साथै प्रविधिसँग जोडिएका युवा पुस्ताका नेताहरूलाई सदस्यका रूपमा समावेश गरिएको उनले बताइन् ।
उपसभापति भुसालले भनिन्, ‘विशेष अधिवेशनले नेपाली काँग्रेसको विधानलाई नयाँ ढंगबाट अगाडि बढाएको छ । यही विधानअनुसार यो विधानमा नेपाली काँग्रेस रूपान्तरण र पुस्तान्तरण र परिवर्तनकारी जीवनशैलीबाट अब अगाडि बढ्दैछ भनेर अग्निपरीक्षामा खरो उत्रिनु पनि छ । यही विधानको व्यवस्थाले अहिलेको विधानमा भएको व्यवस्थाअनुसार यही विधानअनुसार हाम्रो पार्टीका सभापति गगनकुमार थापाको परिकल्पनाले नेपाली काँग्रेसभित्र इलेक्सन ब्यूरो टिमको गठन भयो ।’
उनले अगाडि भनिन्, त्यो टिमभित्र उपसंयोजकको रूपमा पूर्वसहमहामन्त्री, केन्द्रीय सदस्य जीवन परियारजी उपसंयोजकको रूपमा रहनुभएको छ । त्यही टिममा यो विषयका विशेष विज्ञ हाम्रा केन्द्रीय सदस्यहरू त्यसको सदस्य हुनुहुन्छ । प्रविधिसँग जोडिएका युवा पुस्ताका नेताहरू त्यही इलेक्सन ब्यूरोको सदस्यको रूपमा रहनुभएको छ भन्नेकुरा म यहाँ जानकारी गराउन चाहन्छु ।’
उपसभापति भुसालले पार्टीलाई परिवर्तनकारी जीवनशैली र आधुनिक पद्धतिमा ढाल्न नयाँ विधान र नवगठित ब्युरोले महत्वपूर्ण भूमिका निभाउने बताइन् ।








