पार्टी फुटाउन ममाथि लागेको आरोपको खण्डन अध्यक्ष आफैँले गर्नुपर्छ : जनार्दन शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले आफू सधैँ पार्टी नेतृत्वको पक्षमा उभिएको बताएका छन् ।
पार्टी स्थायी समिति बैठकमा आफूले अबको २ सय वर्षसम्म पनि नेपालको वैचारिक नेतृत्व लिने गरी विचार निर्माण गर्न र सत्ताको नेतृत्व लिँदा र आफूले अध्यक्ष प्रचण्डलाई सुझाव दिँदा कसरी नेतृत्व विरोधी भएँ ? भनी प्रश्न पनि गरे ।
शनिवार पार्टीको रुकुम–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी भएका थिए । सोही कार्यक्रममा बोल्दै उनले अध्यक्ष दाहाललाई तपाईँको भुमिका विचार निर्माणमा रहोस्, सत्ताको नेतृत्व गर्नुस्, संगठनको जिम्मा अरूलाई दिनुस् भन्दा आफूमाथि नेतृत्व विरोधी कुरा गरेको आरोप लगाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे ।
उपमहासचिव शर्माले अध्यक्ष दाहालतिर फर्कँदै तपाईँलाई हटाएर आफू अध्यक्ष हुने कुनै चाहना नराखेको बताए । पार्टीलाई समाप्त हुन नदिनका लागि आफूले अध्यक्ष दाहाललाई वैचारिक धारको नेतृत्व गर्न आफूले प्रस्ताव गरेको पनि उपमहासचिव शर्माको स्पष्टीकरण थियो । उनले आफूमाथि पार्टी विभाजन गर्न खोजेको आरोप पार्टी हेडक्वार्टरबाट आएको जिकिर गर्दै अध्यक्ष दाहाल आफैँले त्यसको सार्वजनिक रुपमा खण्डन गर्नुपर्ने माग गरे ।
उनले भने ‘तपाईँलाई हटाएर मलाई अध्यक्ष हुनेछैन । तर यो पार्टी आन्दोलन बनाउने हो भने यो छलफल चाहिन्छ भनेर मैले पार्टीमा छलफल राखेको हो । प्रस्ताव राखेको हो । छलफल हुँदैछ । भूमिकामा र नेतृत्वलाई स्थापित गर्ने यदि नयाँ ढंगले जाँदैनौ भने हामी सकिन्छौँ । हामी नसकिऔँ, हामी आन्दोलनलाई बचाऔँ भन्नेकुरा राख्दा मैले अनेक आरोप खप्नुपर्ने रु खपौँला पार्टीका लागि खप्ने कुरा गरौँला । स्थायी कमिटीको बैठकबाट ३ वटा कुरा निर्णय भएका छन् । मैले उठाएका केही प्रश्नहरू थिए । मैले सार्वजनिक रुपमा त्यो भन्नुपर्ने हुन्छ । त्यो प्रश्नको बारेमा अध्ययन अनुसन्धान गरेर अध्यक्ष कमरेडले स्पष्ट गर्ने भन्ने निर्णय भएको छ । मैले त्यसलाई ओके गरेको छु । समर्थन गरेको छु । पार्टी फुटको प्रचार भयो भनेर मैले जहाँ भनिरहेको छु त्यही वरिपरिबाट नेतृत्व वरिपरिबाट मेरो सिधा कुरा छ । त्यसमा उहाँको भुमिका कति छ, छैन, उहाँले भन्नुहोला । त्यो कुराको खण्डन अध्यक्षले नै गर्नुपर्छ ।’
उपमहासचिव शर्माले आफूमाथि पार्टी भित्रैबाट मनोगत रुपमा विभिन्न आरोप लाग्ने गरे पनि आफूले पार्टी, आन्दोलन, नेतृत्व र जनताको पक्षमा काम गरिरहेको दाबी गरे ।
उनले भने ‘मैले धेरै आक्रमणहरूको प्रतिवाद गरेको छु । तर साबित गरेर मलाई प्रमाणित गर्न कसैले सकेको छैन । म चुनौती दिन्छु अहिले पनि कसैले साबित गर्छ भने । मैले पार्टीको, आन्दोलनको, नेतृत्वको, जनताको पक्षमा बाहेक काम गरेको पनि छैन । मनोगत रुपमा लाइदिने आरोपको त म के गर्न सक्छु र । गरेको हो ।’








